आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ

आइतबार, २४ जेठ २०८३, १५ : ५६
आइतबार, २४ जेठ २०८३

सारांश

  • ब्राजिलमा एक ३७ वर्षीया महिलाले आफूलाई १२ वर्षीया बालिका भनी ढाँटी एउटा परिवारलाई धर्मपुत्री बनाउन खोजेको घटना बाहिर आएको छ।
  • ती महिलाले यसअघि पनि नाबालकको रूप धारण गरी विभिन्न क्षेत्रमा ठगी गरेको र शारीरिक रूपमा फरक देखिएको कारणबारे हर्मोन र हिंसाको झूटो कथा सुनाएको अनुसन्धानमा खुलेको छ।
  • प्रहरीले उनलाई ठगी र परिचय चोरीको आरोपमा पक्राउ गरी जोइनभिल कारागार चलान गरेको छ।

काठमाडाैँ। ब्राजिलको सान्ता क्याटारिना राज्यमा प्रहरीले आफ्नो इतिहासकै सबैभन्दा अनौठो र अचम्मको जालसाजीको घटना सार्वजनिक गरेको छ।

एक ३७ वर्षीया महिलाले आफूलाई १२ वर्षको पीडित बालिकाको रूपमा प्रस्तुत गर्दै स्थानीय परिवारलाई धर्मपुत्री बनाउन राजी गराउने प्रयास गरेको खुलासा भएको हो।

अनुसन्धानका क्रममा ती महिला यसअघि पनि साओ पाउलो, रियो दि जेनेरियो र मिनास गेराइस लगायतका क्षेत्रमा नाबालकको रूप धारण गरेर ठगी धन्दा चलाउने पुराना अपराधी भएको खुलेको छ। अमान्डा मारिया सुजा डे ओलिभेरा नामकी ती महिलाले सान्ता क्याटारिनाको सबैभन्दा ठुलो सहर जोइनभिलमा रहेको एउटा चर्चका पादरीलाई ठगेर यो कडा प्रपञ्चको सुरुवात गरेकी थिइन्।

उनले आफू पारा राज्यको एक हिंस्रक परिवारबाट भागेकी ग्याब्रिएला नामकी १२ वर्षीया बालिका भएको विश्वास पादरीलाई दिलाएकी थिइन्। पादरी र चर्चका सदस्यहरूको विश्वास जितेपछि उनले आर्थिक सहायता मात्र पाइनन्, बरु उनलाई संरक्षण दिन तयार भएको एउटा स्थानीय परिवारसँग पनि उनको सम्पर्क गराइयो।

आफ्नो नयाँ परिवारसँग बस्ने क्रममा यी ३७ वर्षीया महिलाले जानाजानी बच्चा जस्तै व्यवहार गर्ने गर्थिन्। उनी बोतलबाट दूध पिउने र राती सुत्नका लागि सानो बच्चाले जस्तै ओढ्ने कपडा माग्ने गर्थिन्।

उनले आफ्नो बोलीलाई पनि सानो बच्चाको जस्तै तिखो बनाउने गर्थिन् र नयाँ आमाबाबुलाई आफू साँच्चिकै ‘हेरचाह चाहिने बच्चा’ भएको विश्वास दिलाउन राती आत्तिएर ब्युँझिएको नाटक समेत गर्थिन्।

ती महिला देखिँदा उनको वास्तविक उमेर वा सोभन्दा बढी उमेरकी देखिने भए पनि त्यो परिवारले कसरी उनको कुरा पत्यायो भन्नेमा धेरैले अचम्म मानेका छन्। तर अमान्डासँग त्यसको पनि एउटा तयारी जवाफ थियो।

आफू सानो हुँदा जबरजस्ती हर्मोन ख्वाइएकाले शारीरिक रूपमा यस्तो देखिएको र वर्षौँसम्म बुबाबाट भएको हिंसाका कारण शरीरको अवस्था यस्तो भएको दाबी उनले गरेकी थिइन्।

परिवारले अमान्डाको प्रत्येक कुरामा विश्वास गर्‍यो र उनलाई असाध्यै माया दियो। उनीहरूले उनको १२ औं जन्मदिनको पार्टी मनाए, मोटोपन घटाउने औषधिको खर्च बेहोरे र उनलाई कानुनी रूपमा धर्मपुत्री स्वीकार गर्ने योजना समेत बनाए।

उनीहरूले कहिल्यै कुनै शङ्का गरेनन्, तर वरपरका मानिसहरूलाई भने शङ्का लाग्यो। परिवारकै एक आफन्तले यो विषयमा प्रहरीमा उजुरी दिएर बालिकाको इतिहास जाँच गर्न आग्रह गरे।

प्रहरी अनुसन्धानपछि १२ वर्षकी ग्याब्रिएला वास्तवमा ३७ वर्षकी वयस्क महिला भएको र उनले ब्राजिलका विभिन्न भागमा मानिसहरूको सहानुभूति बटुलेर परिवारहरूमाथि आश्रित हुने यस्तै हर्कत गर्दै आएको पत्ता लाग्यो।

सन् २०२३ मा पनि उनले आफूलाई १२ वर्षकी बालिका भन्दै बोक्सीविद्याको अनुष्ठानमा परेको दाबी गरेकी थिइन्। मानिसहरूलाई आफू पीडित भएको विश्वास दिलाउन उनले आफ्नो छालाभित्र करिब १०० वटा धातुका सियोहरू घुसाएकी थिइन्।

बयानका क्रममा अभियुक्तले आफ्नो अपराध स्वीकार गरेपछि उनलाई ठगी र परिचय चोरीको आरोप लगाउँदै जोइनभिल कारागार चलान गरिएको छ। उनका वकिलले अमान्डा मानसिक रोगबाट पीडित हुन सक्ने र आफ्नो कामको लागि उनी पूर्ण रूपमा जिम्मेवार नभएको भन्दै मनोचिकित्सकीय मूल्याङ्कनको माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप