सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने

सोमबार, २५ जेठ २०८३, ०७ : ५०
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको सभापतिमा ५ जनाले प्रतिस्पर्धा गर्दा कसैले बहुमत नपाएपछि अशोक सापकोटा सर्वसम्मत सभापति चयन भएका छन्।
  • सुरुवाती निर्वाचनमा सापकोटाले सर्वाधिक ६९ मत पाएका थिए, तर बहुमत नपुगेपछि दोस्रो धेरै मत ल्याउने भोलानाथ शर्माले उनलाई समर्थन गरेका थिए।
  • यसैगरी, उपसभापतिमा सन्तोषी गौली, सचिवमा मिना खड्का, सहसचिवमा गोविन्दबहादुर घले र सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले तथा श्याम गुरुङ विजयी भएका छन्।

पोखरा । रास्वपा लमजुङको सभापतिमा ५ जनाले प्रतिस्पर्धा गरेकोमा कसैले पनि बहुमत नपाएपछि दोस्रो चरणमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सुरुमा भएको निर्वाचनबाट अशोक सापकोटाले सर्वाधिक मत प्राप्त गरेका थिए ।

उनले ६९ मत पाएका थिए भने दोस्रो हुने भोलानाथ शर्माले ४९ मत पाए । तेस्रो बनेका हरिबहादुर धितालको ३३, चौथो रहेका विजय रञ्जन पौडेलले १६ र नवराज पहाडीले ७ मत पाए ।

रास्वपाको विधान अनुसार कसैले पनि बहुमत नपाए धेरै मत पाउने २ जनाबिच प्रतिस्पर्धा हुनुपर्ने थियो । तर, दोस्रो धेरै मत पाएका शर्माले पहिलो बढी मत ल्याएका सापकोटालाई नै समर्थन गरेका हुन् ।

योसँगै उपसभापतिमा सन्तोषी गौली ८६ मत सहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश थापाले ६९ र अर्का उम्मेदवार बाबुराम अधिकारीले १९ मत पाए ।

सचिवका उम्मेदवार मिना खड्काले १ सय १९ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी ज्ञानेन्द्र शर्माले २८ र अर्का उम्मेदवार मिलन शर्मा दनाईले २५ मत पाए ।

सहसचिवमा ६६ मत ल्याएर गोविन्दबहादुर घले विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकनारायण श्रेष्ठले ६२ र अर्का प्रतिस्पर्धी महेन्द्रबहादुर थापाले ४० मत पाएका छन् । सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप