रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
सारांश
- गरिन्चा, जसलाई ड्रिब्लिङका बेताज बादशाह भनिन्छ, पेलेको युगमा पनि बेग्लै चमक भएका खेलाडी थिए।
- शारीरिक रूपमा कमजोर र खुट्टामा समस्या भए पनि गरिन्चाले ड्रिब्लिङमार्फत आफ्नो कमजोरीलाई खुबीमा परिणत गरे र 'जनताको खुसी' को नामले चिनिए।
- पेलेविनाको टोलीले विश्वकप जित्न सक्दैन भन्ने अनुमान विपरीत, गरिन्चाले १९६२ को विश्वकपमा ब्राजिललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले।
फुटबलको दुनियाँ बुझ्नेहरू सुन्दर फुटबलको पहिचान ड्रिब्लिङलाई मान्छन्। ड्रिब्लिङ अर्थात् खेलाडी र बलबिचको यस्तो तालमेल, जसले विपक्षी खेलाडीलाई चकित पार्छ र आँखा झिम्काउन नपाउँदै बल गोलपोस्टतर्फ अघि बढ्छ। यसलाई फुटबलको सबैभन्दा कठिन कलामध्ये एक मानिन्छ।
आधुनिक फुटबलमा लियोनेल मेस्सीको जादु वर्षौँदेखि कायमै रहनुको कारण यही हो। मेस्सीका साथै ब्राजिलका सुपरस्टार रोनाल्डिन्हो र फ्रान्सका दिग्गज जिनेदिन जिदान पनि आफ्नो ड्रिब्लिङका लागि सम्झिइन्छन्। उनीहरूको खेलको पागलपन दुनियाँमा आज पनि उस्तै छ।
केही पाका फुटबल समर्थकहरूसँग कुरा गर्दा उनीहरू डिएगो म्याराडोना जस्ता ड्रिब्लर शताब्दीमा एक पटक मात्र जन्मिने बताउँछन्। त्यस्तै, उनीहरूभन्दा अघिल्लो पुस्ताले इङ्गल्यान्डका जर्ज बेस्ट र नेदरल्यान्ड्सका जोहान क्रोएफको ड्रिब्लिङको चर्चा गरेको पाइन्छ।
तर अब कुरा गरौँ ती फुटबलरको, जसलाई ड्रिब्लिङका बेताज बादशाह भनिन्छ। एक यस्ता खेलाडी, जसको चमक फुटबलका जादुगर मानिने पेलेको युगमा पनि बेग्लै देखिन्थ्यो।

ब्राजिलियन फुटबललाई नयाँ उचाइमा पुर्याउने यी खेलाडीको नाम गरिन्चा थियो। उनको प्रभाव यति धेरै थियो, पेले सहभागी भएको टोलीको बारेमा समेत पत्रिकाहरूमा यस्तो मुख्य समाचार छापिन्थ्यो– ‘आगामी बिहीबार फेरि देखिनेछ गरिन्चाको जादु।’
फुटबलको दुनियाँमा लामो समयसम्म उनलाई पेलेभन्दा पनि महान् खेलाडी मानियो। यी फुटबलरको नाम थियो, गरिन्चा।
यो नाम राखिनुको कथा पनि कम रोचक छैन। गरिन्चा आफ्ना दौँतरीहरूको तुलनामा निकै साना र कमजोर थिए। त्यसैले उनकी दिदीबहिनीहरूले स्थानीय सानो चरा ‘गरिन्चा’ को नामबाट उनको नाम राखिदिएका थिए।
गरिन्चा र पेलेको तुलना त्यतिबेला पनि हुन्थ्यो र आज पनि हुन्छ। तर त्यसबारे कुरा गर्नुअघि गरिन्चाको त्यो कथा जानौँ, जसका विषयमा डाक्टरहरूको राय उनी सामान्य खेलाडी पनि बन्न सक्दैनन् भन्ने थियो।
- सबैभन्दा उत्कृष्ट ड्रिब्लर
अक्टोबर २८, १९३३ मा ब्राजिलको रियो दि जेनेरियोस्थित एउटा सुकुमबासी बस्तीमा जन्मिएका गरिन्चाको खुट्टामा समस्या थियो। उनको दायाँ खुट्टा बायाँ खुट्टाभन्दा छ सेन्टिमिटर छोटो थियो भने बायाँ खुट्टा भित्रपट्टि फर्किएको थियो।
एक प्रकारले भन्ने हो भने उनी सीधा उभिन सक्दैनथे। तर गरिन्चाले ड्रिब्लिङमार्फत आफ्नो यही कमजोरीलाई खुबीमा परिणत गरिदिए। जब उनी अनौठो शैलीमा विपक्षी टोलीका डिफेन्डरहरूलाई छक्याउँथे, स्टेडियमका दर्शकहरू हाँस्दाहाँस्दै हैरान हुन्थे।

यसैकारण गरिन्चालाई फुटबलको दुनियाँमा ‘जनताको खुसी’ को नामले चिनिन्थ्यो। उनलाई फुटबलको चार्ली च्याप्लिनकै जस्तो दर्जा प्राप्त थियो।
जँड्याहा बुबाबाट गरिन्चाले केवल रक्सीको लत मात्र पाएका थिए। १४ वर्षको उमेरदेखि नै पेट पाल्न उनी एउटा कपडा कारखानामा मजदुरी गर्न थाले। उनलाई एउटा अल्छी कर्मचारीको रूपमा हेरिन्थ्यो, तर उनी कारखानको फुटबल टोलीका स्टार थिए। यसैकारण उनको जागिर गुमेको थिएन।
ब्राजिलियन पत्रकार रोय कास्ट्रोले उनीमाथि ‘गरिन्चा: द ट्राइम्फ एन्ड ट्राजेडी अफ ब्राजिल्स फरगटन फुटबलिङ हिरो’ नामक पुस्तक नलेखेको भए गरिन्चाको संघर्षको यो कथा सायद दुनियाँसामु पुग्ने थिएन।
यो पुस्तक गरिन्चाको मृत्यु भएको १२ वर्षपछि प्रकाशित भएको थियो। यसको अंग्रेजी अनुवाद करिब १० वर्षपछि आयो। अनुवाद प्रकाशित हुनेबित्तिकै खेल जगत्मा यसले निकै प्रशंसा पायो।
पुस्तकमा गरिन्चा गरिबीबाट निस्केर सुपरस्टार बनेको र पछि रक्सी तथा महिलाहरूको लतका कारण उनको जीवनमा आएको उतारचढावको कथा विस्तारमा बताइएको छ।
गरिन्चाले कुनै ठूलो फुटबल क्लबमा निखारिने मौका पाएका थिएनन्। जब ब्राजिलका महान् फुटबलर निल्टन सान्तोसको नजर १९ वर्षीय गरिन्चामा पर्यो, उनले गरिन्चालाई बोटोफोगो क्लबमा ल्याए।
जुन उमेरमा पेलेले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका थिए, त्योभन्दा बढी उमेरमा बल्ल पहिलो पटक कुनै ठुला फुटबल विशेषज्ञको नजर गरिन्चामा परेको थियो।
सन् १९५३ मा गरिन्चाले बोटोफोगोबाट खेल्ने मौका पाए। उनले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्दै सबैलाई प्रभावित पारे। यस प्रदर्शनसँगै उनले निल्टन सान्तोसको भरोसालाई सही साबित गरे।
यद्यपि, उनले सन् १९५४ को विश्वकपका लागि ब्राजिलको राष्ट्रिय टोलीमा स्थान पाएनन्। यसका बाबजुद गरिन्चाले क्लब स्तरमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहे।
सन् १९५७ मा उनले बोटोफोगोका लागि २० गोल गरे। त्यसपछि राष्ट्रिय टोलीका छनोटकर्ताहरूको ध्यान उनीतिर तानियो र उनलाई राइट विङ्गरको रूपमा टोलीमा समावेश गरियो।
पेलेले पनि आफ्नो आत्मकथा ‘ह्वाइ सकर म्याटर्स’ मा गरिन्चाका बारेमा धेरै रोचक कुराहरू लेखेका छन्। वास्तवमा, दुनियाँले पहिलो पटक पेले र गरिन्चाको जादु सन् १९५८ को विश्वकपमा एकसाथ देखेको थियो।
गरिन्चाको शारीरिक क्षमतालाई लिएर टोली व्यवस्थापनलाई पहिल्यैदेखि शंका थियो। यसका साथै उनी मानसिक परीक्षणमा पनि सफल हुन सकेका थिएनन्।
पेलेले आफ्नो पुस्तकमा लेखेका छन्, ‘गरिन्चाले आफ्नो पेसाको हिज्जे पनि गलत लेखेका थिए। यदि सही हिज्जे लेख्नु छनोटको मापदण्ड हुन्थ्यो भने सायद हाम्रो टोलीका कुनै पनि खेलाडीले विश्वकपमा भाग लिन पाउने थिएनन्।’

- जब ब्राजिल पहिलो पटक च्याम्पियन बन्यो
रोचक कुरा त के छ भने गरिन्चाबाहेक टोलीका अर्का एक खेलाडी पनि मानसिक परीक्षणमा सफल हुन सकेका थिएनन्। ती खेलाडी पेले थिए। कलिलो उमेरका कारण पेलेले विश्वकप जस्तो ठुलो प्रतियोगिताको दबाब झेल्न नसक्ने डाक्टरहरूको बुझाइ थियो।
यद्यपि, टोलीका प्रशिक्षकले डाक्टर र मनोचिकित्सकहरूको रायविपरीत निर्णय लिए। उनले पेले र गरिन्चा दुवैलाई टोलीमा समावेश गरे। पछि यिनै दुई खेलाडी ब्राजिललाई पहिलो पटक विश्व च्याम्पियन बनाउन महत्त्वपूर्ण साबित भए।
पेलेले सन् १९५८ को विश्वकप फाइनललाई सम्झिँदै आफ्नो पुस्तकमा लेखेका छन्, ‘स्विडेनविरुद्धको अन्तिम क्षणमा मैले हेडरमार्फत पाँचौँ गोल गरेको थिएँ। गोल गरेपछि मेरो आँखाअगाडि अँध्यारो छायो। म गोलपोस्टअगाडि नहल्लीकन लडिरहेको थिएँ।’
पेले लेख्छन्, ‘सबैभन्दा पहिले गरिन्चा कुद्दै मतिर आए। उनी निकै दयालु मानिस थिए। मलाई मद्दत गर्न उनी तुरुन्तै पुगे। उनले मेरा खुट्टा उठाए। उनी जसरी पनि मेरो टाउकोसम्म रगतको प्रवाहलाई पुनः सामान्य बनाउन चाहन्थे। केही बेरपछि जब मलाई होस आयो, तब मैले अन्य खेलाडीहरूले खुसी मनाइरहेको देखेँ।’
सन् १९५८ को विश्वकपमा वेल्सका डिफेन्डर मेल हप्किन्स पनि गरिन्चाको खेलबाट प्रभावित थिए। खेलपछि उनले भनेका थिए, ‘पेलेको तुलनामा गरिन्चा निकै खतरनाक थिए। उनलाई खेल्दै गरेको हेर्नु कुनै जादु हेर्नु जस्तै थियो।’
पेले र गरिन्चाबिच मैदानमा गज्जबको तालमेल थियो। यी दुई एकसाथ खेल्दा ब्राजिलले कुनै पनि खेल हारेन भन्ने भनाइ छ।
दुवैले मिलेर ४० खेल खेले। यसमा ब्राजिलले ३६ खेल जित्यो भने चार खेल बराबरीमा टुंगिए। टोलीले एउटै पनि हारको सामना गर्नु परेन।
एउटा प्रतिभाशाली व्यक्तिले मात्र अर्को प्रतिभाशाली व्यक्तिको महानतालाई सही अर्थमा चिन्न सक्छ भन्ने भनाइ छ। यस कसीमा पेलेका शब्दहरूले निकै महत्त्व राख्छन्।
१ अगस्ट २०१८ मा पेलेले आफ्नो फेसबुक एकाउन्टमा लेखेका थिए, ‘मैले आफ्नो जीवनमा गरिन्चाभन्दा उत्कृष्ट खेलाडीको साथमा वा उनीविरुद्ध कहिल्यै खेलिनँ। मैदानमा हामी सहकर्मी थियौँ, तर मैदानबाहिर हामी दाजुभाइ थियौँ।’

जे होस्, सन् १९५८ को विश्वकपपछि ब्राजिलमा पेले र गरिन्चाको प्रभाव कुनै सुपरस्टारको भन्दा कम थिएन। उनीहरूको लोकप्रियताको अन्दाज बीबीसी च्यानल फोरको सन् २००२ मा आएको डकुमेन्ट्री ‘गड्स अफ ब्राजिल: पेले एन्ड गरिन्चा’ बाट लगाउन सकिन्छ। दुई भागमा बनेको यस डकुमेन्ट्रीमा आम मानिसबिच यी दुई खेलाडीलाई लिएर कति धेरै पागलपन थियो भन्ने प्रस्ट देखिन्छ।
राम्रो माहोल र सही मार्गदर्शनले कुनै खेलाडीलाई के दिन सक्छ र त्यसको अभावले उसबाट के खोस्न सक्छ भन्ने कुरा पनि पेले र गरिन्चाको कथाले बताउँछ।
रोय कास्ट्रोले आफ्नो पुस्तकमा सन् १९५८ पछि पेलेले एक अनुभवी म्यानेजर राखेको उल्लेख गरेका छन्। ती म्यानेजरले पेलेलाई सान्तोस क्लबसँग प्रति महिना ५ सय डलरको सम्झौता गराएका थिए। यस सम्झौतामा हरेक वर्ष तलब बढ्ने व्यवस्था पनि थियो।
अर्कोतर्फ, बोटोफोगो क्लबका व्यवस्थापकहरूले गरिन्चाको अगाडि यस्तो सम्झौता राखे, जसमा रकम लेख्ने ठाउँ खाली छोडिएको थियो। गरिन्चासँग आफ्नो हितको ध्यान राख्ने कुनै म्यानेजर थिएनन्। त्यसैले उनले खाली ठाउँ भएको कागजमै हस्ताक्षर गरिदिए। यसको नतिजास्वरूप आगामी तीन वर्षसम्म क्लबले उनलाई प्रति महिना ३ सय डलर मात्र दिइरह्यो।
जब कुनै खेलाडी चर्चाको शिखरतर्फ बढ्छ, तब उसको वरपर रहेका मानिसहरूको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यो उदाहरणले प्रस्ट पार्छ।
एकातिर पेले आफ्नो करियर र व्यावसायिक भविष्यलाई लिएर लगातार गम्भीर हुँदै गए भने अर्कोतिर गरिन्चा बिस्तारै आफ्नो वरपरको दुनियाँमा हराउँदै गए।
बीबीसी च्यानल फोरको त्यही डकुमेन्ट्रीमा गरिन्चा भन्छन्, ‘सन् १९५८ पछि म निकै लोकप्रिय भएको थिएँ। जहाँ जान्थेँ, मानिसहरूले मलाई चिनिहाल्थे। मलाई भेट्न पर्खिरहन्थे।’
- आफ्नै बलबुतामा जिताए १९६२ को विश्वकप
गरिबी र अभावमा हुर्किएका गरिन्चाका पाइलाहरू यहीँबाट धरमराउन थाले। उनले आफूलाई रक्सीको लतमा डुबाए। उनको तौल बढ्न थाल्यो। साथै, महिलाहरूसँगको उनको सम्बन्धलाई लिएर लगातार चर्चाहरू हुन थाले।
यद्यपि, फुटबलको दुनियाँले अझै गरिन्चाको त्यो युग हेर्न बाँकी नै थियो, जुन इतिहासमा दर्ता हुनेवाला थियो। हेर्दाहेर्दै चार वर्ष बित्यो र सन् १९६२ को विश्वकप आयो। चिलीमा हुने यस प्रतियोगिताका लागि गरिन्चा कुनै प्रकारले ब्राजिलको टोलीमा स्थान बनाउन सफल भए।

प्रतियोगिताको दोस्रो खेलमा पेले घाइते भएर बाहिरिए। त्यसपछि टोलीको जिम्मेवारी धेरै हदसम्म गरिन्चाको काँधमा आयो।
त्यतिबेला चिली फुटबल कोच एसोसिएसनका अध्यक्ष अल्बर्टो कासोर्लाले भनेका थिए, ‘ब्राजिलका दुई टोली छन्। एउटा टोली पेलेसहितको र अर्को पेलेविनाको। पेलेविनाको टोलीले विश्वकप जित्न सक्दैन।’
चाँडै नै आफ्नो भनाइ गलत साबित हुनेछ भन्ने कुराको अन्दाज सायद कासोर्लालाई थिएन। यो काम गरिन्चाले गरे।
गरिन्चाले इङ्गल्यान्ड र चिलीविरुद्धका दुई महत्त्वपूर्ण खेलमा चार गोल गरे। चिलीविरुद्धको सेमिफाइनलमा ब्राजिलले ४-२ को जित दर्ता गरेको थियो।
यस खेलमा गरिन्चाले दुई गोल गरे र अर्को एक गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनका दुवै गोल आज पनि सम्झिइन्छन्। पहिलो गोल उनले करिब २० यार्डको दूरीबाट बायाँ खुट्टाको जोडदार प्रहारमार्फत गरेका थिए। दोस्रो गोल एउटा शानदार हेडर थियो।
चिलीका खेलाडीहरूले पूरै खेलमा उनलाई रोक्ने प्रयास गरे। लगातार फाउल र मार्किङको बिच गरिन्चाको व्यवहार पनि आक्रामक बन्न पुग्यो। खेलको ८३ औँ मिनेटमा रेफ्रीले उनलाई रातो कार्ड देखाए। त्यसपछि उनी फाइनल खेलबाट बाहिरिए।
- बेजोड प्रतिभाका खेलाडी
रेफ्रीको यस निर्णयपछि ठुलो विवाद खडा भएको थियो। ब्राजिलले पनि फिफाको अनुशासन समितिसामु यस निर्णयमाथि आपत्ति जनायो। रोय कास्ट्रोको पुस्तकका अनुसार ब्राजिलका प्रधानमन्त्रीले पनि यस विषयलाई रणनीतिक रूपमा उठाएका थिए।
पछि रेफ्रीले गरिन्चाको कथित फाउल आफ्नो आँखाले नदेखेको बताए। उनले लाइन्सम्यानको जानकारीको आधारमा रातो कार्ड देखाएका थिए।
धेरै ल्याटिन अमेरिकी देशका नेताहरूले फिफा अधिकारीहरूसँग कुरा गरेको प्रसंग पनि पुस्तकमा उल्लेख छ। त्यसपछि लाइन्सम्यानलाई हटाइयो र गरिन्चाले फाइनल खेल्ने अनुमति पाए।
चेकोस्लोभाकियाविरुद्धको फाइनलमा गरिन्चा कडा ज्वरोका बाबजुद मैदानमा उत्रिएका थिए भन्ने कुरा निकै कम मानिसलाई थाहा छ। उनलाई १०२ डिग्री ज्वरो आएको बताइन्छ।

यसका बाबजुद उनको उपस्थितिको प्रभाव प्रस्ट देखियो। ब्राजिल लगातार दोस्रो पटक विश्वकप जित्न सफल भयो।
सन् १९६२ को विश्वकपमा ब्राजिलको सफलताका सबैभन्दा ठुला नायक गरिन्चा नै थिए भन्ने धेरै फुटबल इतिहासकारहरूको मान्यता छ। उनले लगभग एक्लै आफ्नो बलबुतामा टोलीलाई उपाधिसम्म पुर्याएका थिए।
फुटबल समर्थकहरूले यस्तै प्रदर्शन पछि सन् १९८६ को विश्वकपमा देख्न पाए, जब डिएगो म्याराडोनाले अर्जेन्टिनालाई च्याम्पियन बनाए।
उरुग्वेका प्रसिद्ध लेखक तथा खेल पत्रकार एडुआर्डो गालेआनोले गरिन्चाको खेलका बारेमा लेखेका छन्, ‘जब गरिन्चा आफ्नो उत्कृष्ट लयमा हुन्थे, तब फुटबल मैदान सर्कसमा परिणत हुन्थ्यो। बल उनको इसारामा चल्थ्यो र दर्शकहरू मन्त्रमुग्ध भएर हेरिरहन्थे।’
तर गरिन्चाको कथाको अर्को पाटो पनि थियो। मैदानमा जादु छर्ने यी खेलाडी निजी जीवनमा रक्सीको लतसँग जुधिरहेका थिए।
रोय कास्ट्रोका अनुसार, कयौँ पटक उनको नशा खतरनाक स्तरसम्म पुग्थ्यो। एकपटक नशाको तालमा उनले आफ्नै बुबालाई कारले ठक्कर दिएका थिए। उनका बुबा घाइते भए। मानिसहरूले गरिन्चालाई रोक्दा उनी यति धेरै नशामा थिए, के भयो भन्ने कुरासमेत उनले राम्ररी बुझ्न सकिरहेका थिएनन्।
अर्को एउटा घटनामा नशाकै तालमा उनले आफ्नी सासूलाई कारले ठक्कर दिएको र त्यसमा उनको मृत्यु भएको दाबी पनि पुस्तकमा गरिएको छ।
- जीवनका उतारचढाव
रक्सीको लतबाहेक महिलाहरूसँगको उनको सम्बन्धले पनि गरिन्चाको करियर र निजी जीवनलाई गहिरो प्रभाव पार्यो। गरिन्चाका पाँच महिलाबाट १४ सन्तान थिए। यी ती सम्बन्धहरू थिए, जसलाई उनले सार्वजनिक रूपमा स्वीकार गरेका थिए।
गरिन्चाले दुई विवाह गरेका थिए। पहिलो विवाह उनले कारखानामा काम गर्ने आफ्नै सहकर्मीसँग गरेका थिए। दोस्रो विवाह ब्राजिलकी प्रख्यात साम्बा गायिका एल्जा सोआरेजसँग भएको थियो। अन्ततः दुवै सम्बन्ध टुटे र सम्बन्धविच्छेदसम्म पुगे।
रक्सीको लत र वैवाहिक जीवनको तनावको असर उनको खेलमा पनि पर्यो। सन् १९६६ को विश्वकपसम्म आइपुग्दा गरिन्चा आफ्नो पुरानो स्तरबाट निकै टाढा देखिन थालेका थिए।
ब्राजिलले लगातार तेस्रो पटक विश्वकप जित्ने सपना पूरा गर्न नसक्नुका कारणहरूमध्ये उनको फिका प्रदर्शनलाई पनि एक मानिन्छ।

यद्यपि, यी सबैको बिचमा प्रायः एउटा प्रश्न सोधिने गरिन्छ– पेलेले जस्तो विश्वव्यापी पहिचान गरिन्चाले किन पाएनन्?
रोय कास्ट्रोले आफ्नो पुस्तकमा यस प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छन्। उनका अनुसार, गरिन्चाका प्राथमिकताहरू पेलेको भन्दा नितान्त फरक थिए।
कास्ट्रो लेख्छन्, गरिन्चाले व्यापारिक कारणले कहिल्यै हवाई यात्रा गरेनन्। उनले सायदै कहिल्यै टाई र सुट लगाउनमा रुचि देखाए। उनी न त राजनीतिज्ञहरूको नजिक रहे, न ठुला व्यापारिक घरानाहरूकै।
गरिन्चा जीवनभर ब्राजिलियन जनजीवनको प्रतीक बनिरहे। फुटबल, साम्बा संगीत, रक्सी र महिलाहरू– उनको दुनियाँ धेरै हदसम्म यिनै कुराहरूको वरिपरि घुमिरह्यो। उनले यसभन्दा बढी पाउने वा बन्ने प्रयास कहिल्यै गरेनन्।
तर उनको कथा कुनै सामान्य सुपरस्टारको जस्तो थिएन। जीवनको अन्तिम वर्षहरूमा उनले आर्थिक अभावको पनि सामना गर्नुपर्यो।
जनवरी १९८३ मा, मात्र ४९ वर्षको उमेरमा कलेजोको रोग लिभर सिरोसिसका कारण उनको निधन भयो।
गरिन्चाको मृत्यु रियो दि जेनेरियोको एउटा अस्पतालमा भएको थियो। यद्यपि, आफ्नो अन्तिम संस्कार पुर्ख्यौली गाउँमै गरियोस् भन्ने उनको अन्तिम इच्छा थियो।
जब उनको पार्थिव शरीर रियोको माराकाना स्टेडियमबाट उनको गाउँ पाउ ग्रान्डेका लागि प्रस्थान भयो, ठुलो संख्यामा मानिसहरू सडकमा ओर्लिए।

रोय कास्ट्रो लेख्छन्, ‘करिब ६५ किलोमिटरको त्यो यात्राका क्रममा हजारौँ मानिसले आफ्ना प्रिय खेलाडीलाई अन्तिम बिदाइ दिए।’
जब शव उनको गाउँ पुग्यो, तब चर्चमा करिब ५ सय मानिस बस्ने व्यवस्था थियो। तर त्यहाँ करिब ३ हजार मानिस उपस्थित थिए।
भीड देखेर पादरीले अन्तिम प्रार्थना छिट्टै पूरा गरे। त्यसपछि गरिन्चाको पार्थिव शरीरलाई गाड्नका लागि कब्रिस्तान लगिँदा त्यहाँ पहिल्यै करिब ८ हजार मानिसको भीड जम्मा भइसकेको थियो।
अवस्था यस्तो थियो, गरिन्चाका धेरै आफन्तहरूले समेत उनको अन्तिम अनुहार देख्न पाएनन्।
गरिन्चाले जसरी मैदानमा फुटबल खेलेका थिए, उनको बिदाइ पनि त्यस्तै रह्यो। रङ, भावना, अव्यवस्था र नाटकीयताले भरिपूर्ण। यस्तो बिदाइ, जुन उनको जीवन जस्तै मानिसहरूको यादमा बसिरह्यो।
बीबीसीका लागि कलेक्टिभ न्युजरुमको तर्फबाट प्रकाशित।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
-
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ : वर्षमान पुन
-
ट्रम्पले ह्वाइट हाउसमा आयोजना गर्न लागेको यूएफसी फाइट रोक्न मुद्दा दायर
-
प्राइम कमर्सियल बैंकले जित्यो महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण