सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

सोमबार, २५ जेठ २०८३, ११ : १५
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।
  • लिङ्देनले प्रतिपक्ष गणितीय हिसाबले कमजोर भए पनि शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।
  • उनले रवि लामिछानेले भारत भ्रमणमा जानुअघि सर्वदलीय बैठक आयोजना गरेको भए अझ राम्रो हुने बताएका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले सरकारका प्रारम्भिक लक्षणहरू ठिक नदेखिएको बताए । 

लामिछानेको भारत भ्रमण र सरकारको काम कारबाहीबारे केन्द्रित रहेको बैठकमा  लिङ्देनले छलफलको सुरुवात हुनुलाई सकारात्मक भनेका छन् । ‘दलहरूबिच कुराकानी हुनु राम्रो हो, तर भारत भ्रमणमा जानुअघि नै यस्तो छलफल भएको भए अझ परिपक्वता देखिन्थ्यो र अनावश्यक टिप्पणी आउने वातावरण बन्दैनथ्यो,’ लिङ्देनले भने । 

बैठकमा लिङ्देनले संसद्‌मा प्रतिपक्षको सङ्ख्या कम हुँदैमा सरकारले आफूलाई विकल्पहीन नठान्न सुझाव दिएको बताए ।  ‘प्रतिपक्ष गणितीय हिसाबले कमजोर छ भन्दैमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नहोस्। वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार देखाउनु मुलुकका लागि घातक हुनसक्छ,’ लिङ्देनले भने । 

लिङ्देनले सभापति लामिछानेले भारतमा दिएको ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने अभिव्यक्तिको पनि व्याख्या गर्दै वैदेशिक सम्बन्धमा संवेदनशीलता अपनाउन सुझाव दिएको बताए । 

लिङ्देनले सर्वदलीय बैठकमा संसद्को वर्तमान गतिरोध अन्त्य गर्ने विषयमा भने कुनै कुराकानी नभएको बताए । बैठक मुख्यतः लामिछानेको विदेश भ्रमणको ब्रिफिङ र सरकारको समीक्षामा मात्र सीमित रहेको लिङ्देनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप