सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोडेभर ७.० का विजेता नेपाली विद्यार्थीहरू सम्मानित

सोमबार, २५ जेठ २०८३, १२ : ०१
सोमबार, २५ जेठ २०८३

सारांश

  • निमा फाउन्डेसनले 'कोडेभर ७.०' प्रतियोगितामा विजयी भएका नेपाली विद्यार्थीहरूलाई सम्मान गरेको छ।
  • इन्डोनेसियामा आयोजित प्रतियोगितामा नेपालका छ वटा टोलीले विभिन्न पुरस्कार जित्नुका साथै अन्य तीन टोली उत्कृष्ट ३० भित्र पर्न सफल भएका थिए।
  • विद्यार्थीहरूले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि जस्ता विषयमा प्रविधिमा आधारित परियोजनाहरू प्रस्तुत गरेका थिए।

काठमाडौँ। विश्वकै सबैभन्दा ठुलो मानिने कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा सहभागी भई जित निकालेका नेपाली विद्यार्थीलाई निमा फाउन्डेसनले सम्मान गरेको छ। 

काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी फाउन्डेसनले ती प्रतिभावान विद्यार्थीहरूलाई सम्मान गरेको हो।

इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा आयोजित उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका छ वटा टोलीले विभिन्न पुरस्कार जित्न सफल भएका थिए। विश्वका ७० भन्दा बढी देशका प्रतिस्पर्धीहरू सहभागी रहेको उक्त प्रतियोगितामा नेपालबाट नौ वटा टोलीले भाग लिएका थिए। पुरस्कृत भएका छ टोलीबाहेक अन्य तीन नेपाली टोली पनि विश्वका उत्कृष्ट ३० भित्र स्थान बनाउन सफल भएका छन्।

सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीका लागि आयोजना गरिएको यस वार्षिक अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगितामा नेपाली विद्यार्थीले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि र औषधि व्यवस्थापन जस्ता गम्भीर र समसामयिक विषयमा आधारित नवप्रवर्तनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए। उनीहरूले समाजका वास्तविक समस्याहरूलाई प्रविधिको माध्यमबाट समाधान गर्ने प्रयास गरेबापत अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा पाएका हुन्।

प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, डेजी बोर्डिङ इङ्गलिस सेकेन्डरी स्कुल र स्किल्सअप ग्लोबलसँग आबद्ध विद्यार्थीले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका हुन्। नेपाली विद्यार्थीलाई संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (एसडीजी) अनुरूप प्रविधिमा आधारित समाधानहरू विकास गर्न निमा एजुकेसन फाउन्डेसनले प्रोत्साहन र सहयोग गर्दै आएको छ। 

यसैबिच, नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको गौरवमय उपलब्धिको सम्मान गर्दै स्किल्सअप ग्लोबलले समेत उनीहरूलाई छुट्टै कार्यक्रम गरी सम्मानित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप