बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

धनी राष्ट्रहरूको तेल भण्डार २३ वर्षयताकै न्यून स्तरमा

बुधबार, २७ जेठ २०८३, १० : ५७
बुधबार, २७ जेठ २०८३

सारांश

  • विश्वका धनी राष्ट्रहरूको तेल भण्डार जर्ज डब्ल्यु. बुश सत्तामा रहेका बेला पछिको सबैभन्दा न्यून स्तरमा झरेको छ ।
  • अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) को प्रतिवेदन अनुसार चालु त्रैमासमा विश्वव्यापी तेल भण्डार प्रतिदिन ६३ लाख ब्यारेलले घट्ने अनुमान छ ।
  • इरान युद्धका कारण स्टेट अफ होर्मुज अवरुद्ध हुँदा सम्पन्न राष्ट्रहरूको तेल भण्डार सन् २००३ यताकै न्यून स्तरमा पुगेको छ ।

वासिङ्टन डीसी । विश्वका धनी राष्ट्रहरूको तेल भण्डार पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु. बुश सत्तामा रहेका बेला पछिको सबैभन्दा न्यून स्तरमा झरेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) ले मङ्गलवार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

ईआईएका अनुसार विश्वव्यापी तेल भण्डार चालु त्रैमासमा प्रतिदिन ६३ लाख ब्यारेलले घट्ने अनुमान छ । तेस्रो त्रैमासमा यसमा अरू ७६ लाख ६० हजार ब्यारेल प्रतिदिनको कमी आउने अपेक्षा गरिएको छ ।

इरान युद्धका कारण विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने स्टेट अफ होर्मुज लामो समयदेखि प्रभावकारी रूपमा अवरुद्ध छ । यस्तोमा विश्वव्यापी ऊर्जा प्रणालीले व्यावसायिक तथा आपत्कालीन तेल भण्डार तीव्र रूपमा प्रयोग गर्नुपरेको छ । 

यसका कारण आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी)मा आबद्ध ३८ सम्पन्न राष्ट्रहरूको तेल भण्डार सन् २००३ यताकै न्यून स्तरमा पुगेको ईआईएले जनाएको छ । ओईसीडीका सदस्य राष्ट्रहरूमा अमेरिका, क्यानडा, जापान, इजरायल, दक्षिण कोरिया, फ्रान्स र बेलायत लगायत देश छन् ।

मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आएपछि धेरै देशहरूले विकल्पका रूपमा अमेरिकी कच्चा तेलको प्रयोग बढाएका छन् । ईआईएका अनुसार अमेरिकी कच्चा तेल तथा पेट्रोलियम पदार्थको खुद निर्यात अप्रिलमा प्रतिदिन ५८ लाख ब्यारेलको कीर्तिमानी स्तरमा पुगेको थियो । 

यसवर्ष औसत खुद निर्यात ४२ लाख ब्यारेल प्रतिदिन रहने अनुमान गरिएको छ । गत वर्ष निर्यात अनुपात दैनिक १४ लाख ब्यारेल मात्रै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप