विजय मल्ल : जीवनको अन्तिम अध्याय
सारांश
- विजय मल्ल मधुमेह र आँटाको समस्याबाट पीडित थिए र ०५६ साल साउन ८ गते साँझ साढे ६ बजे उनको निधन भयो ।
- विजय मल्लको निधनमा साहित्य क्षेत्र शोकमग्न भएको थियो र उनीहरुको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न वाङ्मयसेवीहरूको भीड लागेको थियो ।
- विजय मल्लको अन्तिम संस्कारका क्रममा राष्ट्रिय सम्मान दिइएको थियो र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।
जीवनको उत्तरार्धमा विजय मल्ल मधुमेह रोगबाट पीडित थिए । साथै उनका आँखाले पनि उनलाई धोका दिन थालिसकेका थिए । खास गरेर उनी ०५६ साल वैशाखको अन्तिम सातादेखि थला पर्न थालेका थिए । अनि त्यस बेला ज्यादै शिथिल भएपछि उनले केही दिन वीर अस्पतालमा पनि आश्रय लिनुपरेको थियो ।
तर अस्पतालबाट घर फर्केपछि फेरि उनको स्वास्थ्य डामाडोल हुन थालेको थियो । उनका दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’का अनुसार उनी बेहोस भएका थिए । उनी मुर्छित भएपछि उनलाई हतारोमा वीर अस्पताल पुर्याइएको थियो । तर उनको कुनै सुधारै हुन सकेन । उनी मुर्छित नै भएको बखत उनले आफ्नो भौतिक चोला त्यागेका थिए । भनौँ ०५६ साल साउन ८ गते साँझ साढे ६ बजे उनको स्वर्गारोहण भएको थियो ।
विजय मल्लको निधनमा सारा साहित्य फाँट नै शोकमग्न भएको थियो । उनको अन्तिम दर्शनको अभिलाषा राखेर धेरै ठाउँबाट उनका घरमा अनुरोध पुगेको थियो । त्यसैले उनलाई भोलिपल्ट नै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको आँगनमा पुर्याइएको थियो । त्यति बेला उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न वाङ्मयसेवीहरूको भीड लागेको थियो ।
विजय मल्लको स्वर्गारोहणको समाचार सुनेर राजा वीरेन्द्र र रानी ऐश्वर्यले पनि गहिरो शोक मनाएर मल्लनिवासमा पत्राचार गरेका थिए । साथै प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि निकै गहिरिएर मल्लउपर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनले सार्वजनिक स्थलमै बयान दिएका थिए, ‘नेपाली वाङ्मयको एउटा चहकिलो तारा अस्तायो ।’
खासमा कृष्णप्रसाद भट्टराई र मल्लहरूको पारिवारिक सम्बन्ध पुरानै थियो । यसबारे भट्टराईले लेखेका पनि थिए, ‘मित्र विजय मल्लका पितापुर्खा र हाम्रा पितापुर्खाको सम्बन्ध बागदरबारका मालिक श्री ५ उपेन्द्रवीरविक्रम शाहका दरबारदेखिकै हो । हामी त्यहाँका राजपुरोहित थियौँ र त्यस बेला उहाँहरू त्यहीँ मेनेजर हुनुहुन्थ्यो । यस परिप्रेक्ष्यमा श्री ५ उपेन्द्रका सन्तानहरू रामनगरका राजा भएपछि हामी पनि त्यही पुग्यौँ र उनीहरू बनारस सरेपछि हामी पनि बनारस बस्न थाल्यौँ ।’
विजय मल्लको निधनमा राष्ट्रिय सम्मान दिन श्री ५ को सरकारले निर्णय गरेको थियो । त्यसैले मल्लको अन्तिम संस्कारका क्रममा पशुपति आर्यघाटमा मन्त्रीलगायत सरकारी कर्मचारी पनि पुगेका थिए । सरकारी निर्देशनअनुसार प्रहरीको एउटा जत्था अथवा भनौँ टुकडीले त्यस घडी मल्लको भौतिक चोलालाई सलामी अर्पण गरेको थियो । त्यतिबेला आर्यघाटमा मल्लका श्रद्धालुहरूको पनि ओइरो लागेको थियो ।
विजय मल्लले आफ्नो भतिज रमेश मल्ललाई बराबर भन्ने गरेका थिए, ‘हेर बाबु ! मेरा छोरा भएनन् । म मरेपछि तैँले नै मलाई आगो राख्नुपर्छ है !’ मल्लको पूर्वइच्छानुसार उनका सहोदर दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’का कान्छा छोरा रमेश मल्लले विजय मल्लका मुखमा दागबत्ती चढाएका थिए ।
विजय मल्लको इहलीला समाप्त भएको सात महिनापछि उनकी पत्नी श्यामा मल्लले पनि संसार छोडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
-
सुधन फर्किए, प्रश्न जीवितै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण