धूमिलका तीन कविता
सन् ०६० को दशक भारत अङ्ग्रेजी दासत्वबाट स्वतन्त्र त भइसकेको थियो तर स्वतन्त्रताको क्षितिजमा भारतीयहरूले देखेको सपना र आशावादिताबाट निराश हुँदै धोका अनुभव गर्दै थिए ।
समाजमा आधारभूत परिवर्तनका प्रतिज्ञाहरू खोक्रा आश्वासन प्रतीत हुन् थालिसकेका थिए । गरिबी, असमानता, अन्याय र दलनमा उल्लेख्य फेरबदल आउन सकेको थिएन । यिनै भावलाई टपक्क टिपेर जनबोलीमा पस्कन सक्ने भारतीय कवि हुन्– धूमिल ।
धूमिलको वास्तविक नाम सुदामा पान्डेय हो । सन् १९३६ मा बाराणसीमा जन्मिएका धूमिल आफ्नो सङ्घर्षपूर्ण जीवनसँगै कवितातर्फ लहसिए र त्यसैलाई समाजसँग अन्तरक्रिया गर्ने माध्यम बनाए ।
कवितालाई बजारको भीडबाट अलग्याएर व्यवस्थाजनित दुःखमा पिल्सिरहेका मान्छेको आवाजमा बदल्न दत्तचित्त कवि धूमिल भन्थे, ‘शब्द र हतियारको व्याकरण छुट्टा–छुट्टै हुन्छ । शब्द आफ्ना वर्गमित्रहरुका लागि उपयुक्त हुन्छ भने हतियार वर्गशत्रुहरुका लागि ।'
जन–जनको आवाजलाई कविताको लयमा उन्ने धूमिलको निधन सन् १९७५मा अल्पायुमै भयो । रातोपाटीको साताको कवितामा उनै भारतीय कवि धूमिलको तीन कविता पस्केका छौँ ।
रोटी र संसद्
एउटा मान्छे
रोटी बेल्छ
अर्को मान्छे, रोटी खान्छ
अर्को तेस्रो मान्छे पनि छ
जसले न त रोटी बेल्छ, न रोटी खान्छ
उ केवल रोटीसँग खेल्छ
यहीँनेर मेरो प्रश्न छ–
‘त्यो तेस्रो मान्छे को हो ?’
मेरो देशको संसद् मौन छ ।
विद्रोह
‘ठिकै छ, केही भएन भने विद्रोह नै सही’
–– हँसिलो साहुले भन्यो ––
‘मसँग त्यसको पनि बजार छ’
तर आज पसल बन्द छ, भोली आउनु
आज आइतबार हो । म लिइदिउँला ।
म त्यसलाई मञ्च दिउँला
तिम्रो विद्रोह
मञ्च पाउनासाथ समारोह बन्नेछ
त्यसपछि कुनै सनकी विदेशी ग्राहक आउनेछ
म त्यसलाई मनपरी दाममा बेच्नेछु ।
फलामको स्वाद
शब्दहरू कसरी कविता बन्छन्
मसिनोगरि हेर
अक्षरहरू भित्र लडेको
मान्छेलाई पढ्
तिमिले सुन्यौ त ?
यो फलामको आवाज हो वा
माटोमा खसेको रगतको थोपा ?
फलामको स्वाद लौहकारलाई नसोध
त्यो घोडालाई सोध
जसको मुखमा लगाम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण