शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
कविता

धूमिलका तीन कविता

शनिबार, ३० जेठ २०८३, ११ : ४४
शनिबार, ३० जेठ २०८३

सन् ०६० को दशक भारत अङ्ग्रेजी दासत्वबाट स्वतन्त्र त भइसकेको थियो तर स्वतन्त्रताको क्षितिजमा भारतीयहरूले देखेको सपना र आशावादिताबाट निराश हुँदै धोका अनुभव गर्दै थिए । 

समाजमा आधारभूत परिवर्तनका प्रतिज्ञाहरू खोक्रा आश्वासन प्रतीत हुन् थालिसकेका थिए । गरिबी, असमानता, अन्याय र दलनमा उल्लेख्य फेरबदल आउन सकेको थिएन । यिनै भावलाई टपक्क टिपेर जनबोलीमा पस्कन सक्ने भारतीय कवि हुन्– धूमिल । 

धूमिलको वास्तविक नाम सुदामा पान्डेय हो । सन् १९३६ मा बाराणसीमा जन्मिएका धूमिल आफ्नो सङ्घर्षपूर्ण जीवनसँगै कवितातर्फ लहसिए र त्यसैलाई समाजसँग अन्तरक्रिया गर्ने माध्यम बनाए । 

कवितालाई बजारको भीडबाट अलग्याएर व्यवस्थाजनित दुःखमा पिल्सिरहेका मान्छेको आवाजमा बदल्न दत्तचित्त कवि धूमिल भन्थे, ‘शब्द र हतियारको व्याकरण छुट्टा–छुट्टै हुन्छ । शब्द आफ्ना वर्गमित्रहरुका लागि उपयुक्त हुन्छ भने हतियार वर्गशत्रुहरुका लागि ।' 

जन–जनको आवाजलाई कविताको लयमा उन्ने धूमिलको निधन सन् १९७५मा अल्पायुमै भयो । रातोपाटीको साताको कवितामा उनै भारतीय कवि धूमिलको तीन कविता पस्केका छौँ ।

रोटी र संसद्

एउटा मान्छे 

रोटी बेल्छ

अर्को मान्छे, रोटी खान्छ

अर्को तेस्रो मान्छे पनि छ

जसले न त रोटी बेल्छ, न रोटी खान्छ

उ केवल रोटीसँग खेल्छ

यहीँनेर मेरो प्रश्न छ–

‘त्यो तेस्रो मान्छे को हो ?’

मेरो देशको संसद् मौन छ ।

 

विद्रोह

‘ठिकै छ, केही भएन भने विद्रोह नै सही’

–– हँसिलो साहुले भन्यो ––

‘मसँग त्यसको पनि बजार छ’

तर आज पसल बन्द छ, भोली आउनु

आज आइतबार हो । म लिइदिउँला ।

म त्यसलाई मञ्च दिउँला

तिम्रो विद्रोह

मञ्च पाउनासाथ समारोह बन्नेछ

त्यसपछि कुनै सनकी विदेशी ग्राहक आउनेछ

म त्यसलाई मनपरी दाममा बेच्नेछु ।

फलामको स्वाद

शब्दहरू कसरी कविता बन्छन्

मसिनोगरि हेर

अक्षरहरू भित्र लडेको

मान्छेलाई पढ्

तिमिले सुन्यौ त ?

यो फलामको आवाज हो वा

माटोमा खसेको रगतको थोपा ?

फलामको स्वाद लौहकारलाई नसोध

त्यो घोडालाई सोध

जसको मुखमा लगाम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप