बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो

९७३ लिटर पेट्रोल चोरी, ढुवानीकर्ताबाट दोब्बर रकम असुल
बुधबार, १० असार २०८३, १७ : १०
बुधबार, १० असार २०८३

काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगर नजिकैको पार्किङ स्थलबाट हराएको पेट्रोल बोकेको ट्याङ्कर  सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । २० हजार लिटर पेट्रोल बोकेको उक्त ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएपछि निगमले ढुवानीकर्तालाई कारबाही गर्दै दोब्बर रकम असुल गरेको छ ।

निगमको कोशी प्रादेशिक कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार, नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्कर ले असार ६ गते इन्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेको थियो ।

उक्त ट्याङ्कर  असार ७ गते बिहान ८ बजे निगमको डिपोदेखि करिब ३०० मिटर दुरीमा रहेको कदमगाछीस्थित पार्किङमा आइपुगेको थियो । तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर  हराएको जानकारी निगमलाई गराएका थिए ।

निगमले तत्काल प्रहरीलाई खबर गरी सिसिटिभी फुटेज अध्ययन गर्दा उक्त ट्याङ्कर  बिहान ३ः०३ बजे पार्किङबाट बाहिरिएर नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । खोजी कार्यलाई तीव्रता दिँदा निगमबाट करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर  बेवारिसे अवस्थामा फेला परेको थियो। भेटिँदा ट्याङ्कर को ताला काटिएको अवस्थामा थियो ।

तत्कालै प्रहरी, निगमका कर्मचारी र ढुवानीकर्ताको रोहवरमा मुचुल्का तयार गरी ट्याङ्कर लाई निगमको पार्किङमा ल्याएर सिल गरिएको थियो ।

बुधबार  दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम र ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा सिल खोली नापजाँच गर्दा ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पाइएको हो । बाँकी रहेको १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ ।

पेट्रोल चोरी भएको पाइएपछि निगमले ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ मा भएको व्यवस्था बमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरेको कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप