बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै

बुधबार, १० असार २०८३, १७ : ४८
बुधबार, १० असार २०८३

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा आगामी आर्थिक वर्षका लागि कुल ६५ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले नारामा कृषिलाई प्राथमिकता दिए पनि बजेटले पूर्वाधारलाई समातेको छ ।

प्रस्तावित बजेटमध्ये चालुतर्फ ४८ करोड ५ लाख र पुँजीगतमा १७ करोड ४४ लाख विनियोजन गरिएको हो । विनियोजित पुँजीगतमध्ये करिब साढे ११ करोड पूर्वाधारमै छुट्टाइएको छ । गाउँपालिकाका वडाहरूलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र चक्रपथ निर्माणका लागि समपूरक अनुदानसहित ११ करोड २६ लाख सडकमा विनियोजन गरिएको हो ।

आगामी वर्ष लुम्ले–तानचोक–भिचुक–लान्द्रुक ग्रामीण सडक स्तरोन्नतिका लागि १ करोड विनियोजन गरिएको छ भने प्रत्येक वडाका पूर्वाधार निर्माणका लागि प्रतिवडा २५ लाखका दरले २ करोड ७५ लाख बजेट छुट्टाइएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण र जग्गा प्राप्तिका लागि ६० लाख विनियोजन गरिएको अध्यक्ष विष्णु केसीले जानकारी दिए ।

पालिकाको पूरा बजेटमध्ये संघ सरकारबाट ५८ करोड ४४ लाख प्राप्त हुने अनुमान छ भने प्रदेशबाट ३ करोड ३९ लाख पाउने अनुमान छ । पालिकाले आफ्नै आन्तरिक स्रोतबाट ३ करोड ५० लाख कमाउने र चालू वर्ष खर्च नभएको रकम पनि आगामी वर्षको बजेटमा समेटेको छ ।

संघ सरकारले विद्यार्थी दिवा खाजामा कम रकम दिएपछि पालिकाले थपिदिने निर्णय सभाबाट गरेको छ । सरकारले २० रुपैयाँ प्रतिव्यक्ति प्रतिदिन बजेट विनियोजन गरेको छ । पालिकाले त्यसमा ५ रुपैयाँ थपिदिने निर्णय गरिएको हो ।

यस्तै, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन तथा शैक्षिक क्षेत्रको विकासका लागि १ करोड ५५ लाख विनियोजन गरिएको छ । एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई ५ लाख प्रोत्साहन अनुदान दिइने अध्यक्ष केसीले जानकारी दिए ।

गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य बिमा प्रिमियममा साबिकको ७१.४३ प्रतिशत अनुदानलाई वृद्धि गरी शतप्रतिशत पुर्याइएको छ । कृषि तथा पशु विकासका लागि ७० लाख, दुग्ध, चल्ला तथा पशुपालन अनुदानका लागि २० लाख तथा कोसेली घर स्थापना र सञ्चालन गर्न ५ लाख विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप