बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काममा खुसी महसुस कसरी गर्ने ?

बुधबार, १० असार २०८३, १९ : २४
बुधबार, १० असार २०८३

सारांश

  • नयाँ अध्ययनले हरेक घण्टामा पाँच मिनेट हिँड्नु कार्यक्षमता घटाउनुभन्दा बरु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि सबैभन्दा उपयुक्त उपाय हुन सक्ने देखाएको छ ।
  • यसले उत्पादकता, सतर्कता र मनोबलमा उल्लेखनीय सुधार ल्याएको पाइएको छ ।
  • नियमित हिँडडुलले ध्यान केन्द्रित गर्ने क्षमता, स्मरणशक्ति र निर्णय गर्ने क्षमतामा सुधार ल्याउँछ ।

काठमाडौँ । कार्यालयमा काम गर्ने अधिकांश मानिसहरूको दिन कम्प्युटर अगाडि बसेर इमेलको जवाफ दिने, भिडियो बैठकमा सहभागी हुने वा विभिन्न प्रशासनिक काममा बित्ने गर्छ ।

तर लामो समयसम्म लगातार बसिरहने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । उनीहरूका अनुसार धेरै समयसम्म बसिरहँदा मोटोपन, मुटुरोग तथा टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ ।

यद्यपि कामकाबिचमा विश्राम लिनु लाभदायक हुने कुरा पहिले नै थाहा भए पनि कति समयको अन्तरालमा उठेर हिँडडुल गर्नुपर्छ भन्ने विषयमा स्पष्ट प्रमाण सीमित थियो । अहिले भने बेलायती खेलकुद चिकित्सा जर्नलमा प्रकाशित नयाँ अध्ययनले हरेक घण्टामा पाँच मिनेट हिँड्नु कार्यक्षमता घटाउनुभन्दा बरु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि सबैभन्दा उपयुक्त उपाय हुन सक्ने देखाएको छ ।

अध्ययनका प्रमुख अनुसन्धानकर्ता किथ डियाजका अनुसार आजका अधिकांश वयस्कहरूले आफ्नो जाग्राम समयको करिब तीनचौथाइ हिस्सा बसिरहेरै बिताउँछन् । उनका अनुसार ‘कम बसौं र बढी हिडडुल गरौं’ भन्ने सामान्य सल्लाह सही भए पनि मानिसहरूले वास्तवमा कति समय हिँडडुल गर्नुपर्छ भन्ने जानकारी आवश्यक छ ।

‘सुखद पक्ष के छ भने प्रत्येक घण्टामा पाँच मिनेटको पैदल हिँडाइले मनोस्थिति सुधार्न र थकान कम गर्न पर्याप्त देखिएको छ । सहभागीहरूले पनि यसलाई व्यवहारिक र सजिलै अपनाउन सकिने उपायका रूपमा लिएका छन्,’ उनले भने । अमेरिकाको कोलम्बिया विश्वविद्यालयले गरेको उक्त अध्ययनमा ११ हजारभन्दा बढी कर्मचारी सहभागी थिए । अधिकांश सहभागी कार्यालयमा काम गर्ने र दैनिक आठदेखि नौ घण्टा काम गर्ने व्यक्ति थिए । अध्ययनको पहिलो सातामा उनीहरूले आफ्नो नियमित कार्यतालिका अनुसार काम गरे र दैनिक रूपमा थकान, मनोस्थिति तथा कार्यसम्पादनबारे जानकारी दिए ।

त्यसपछि दुई सातासम्म उनीहरूलाई कार्यस्थलमा आधा घण्टामा एकपटक, एक घण्टामा एकपटक वा दुई घण्टामा एकपटक पाँच मिनेट हिँड्न लगाइयो । सो अवधिमा पनि उनीहरूको अनुभव र कार्यक्षमताबारे सर्वेक्षण गरियो । अनुसन्धानले आधा घण्टामा एकपटक हिँड्नु मनोस्थिति सुधार्न र थकान कम गर्न प्रभावकारी भए पनि काममा केही अवरोध सिर्जना गर्ने देखाएको छ । दुई घण्टामा एकपटक हिँड्नु केही लाभदायक भए पनि सबैभन्दा राम्रो नतिजा भने प्रत्येक घण्टामा पाँच मिनेट हिँड्दा प्राप्त भएको अध्ययनले जनाएको छ । यसले उत्पादकता, सतर्कता र मनोबलमा उल्लेखनीय सुधार ल्याएको पाइएको छ ।

किथ डियाजका अनुसार धेरै कर्मचारीहरू कामकाबिचमा उठेर हिँड्दा सहकर्मी वा व्यवस्थापकले के सोच्लान भन्ने चिन्तामा रहने गरेका छन् । तर उनको भनाइमा यस्ता छोटा हिडडुलले कामको प्रदर्शन घटाउने होइन, बरु बढाउने काम गर्छन् । उनका अनुसार नियमित हिँडडुलले ध्यान केन्द्रित गर्ने क्षमता, स्मरणशक्ति र निर्णय गर्ने क्षमतामा सुधार ल्याउँछ । साथै यसले मानिसलाई थप ताजगी र मानसिक शान्ति महसुस गराउँछ ।

डियाजले हिँड्नका लागि काम पूर्ण रूपमा रोक्न आवश्यक नरहेको पनि बताए । उनका अनुसार फोनमा कुरा गर्दा कार्यालयभित्र वा बाहिर हिँड्न सकिन्छ, वा बैठकहरू हिँड्दै गर्ने अभ्याससमेत गर्न सकिन्छ । बेलायती हार्ट फाउन्डेसनकी वरिष्ठ कार्डियाक नर्स एमिली म्याकग्राथले अध्ययनका निष्कर्षलाई स्वागत गर्दै सामान्य किसिमको शारीरिक गतिविधिले पनि समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताइन् । तर उनले अध्ययन छोटो अवधिको भएको र सहभागीहरूको आफ्नै विवरणमा आधारित रहेकाले मुटुसम्बन्धी स्वास्थ्यमा दीर्घकालीन प्रभाव पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप