प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
सारांश
- एप्पलले क्यामेरा जडित एयरपड्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ जसले फोटो खिच्ने काम नगरेर सिरीलाई वरपरको वातावरणबारे जानकारी दिनेछ।
- स्मार्ट चस्मा र अन्य पहिरिने उपकरणहरूले कम्प्युटरसँगको अन्तरक्रियाको शैली परिवर्तन गर्न सक्ने सम्भावना छ, जसले प्रयोगकर्तालाई स्क्रिनमा कम समय बिताउन मद्दत गर्नेछ।
- यद्यपि, यी नयाँ प्रविधिहरूले गोपनीयताका गम्भीर प्रश्नहरू उठाएका छन् र यस्तो प्रविधिको आवश्यकताबारे पनि प्रश्न उठेको छ।
यदि तपाईंले कहिल्यै आफ्ना कानमा पनि आँखा भइदिए हुन्थ्यो भन्ने सोच्नुभएको छ भने, तपाईंका लागि एउटा रोचक खबर छ। एप्पलले सम्भवतः अर्को वर्ष नै क्यामेरा जडित एयरपड्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
रोचक कुरा के छ भने, यी क्यामेराहरू फोटो खिच्नका लागि भने हुने छैनन्। ब्लूमबर्गका अनुसार तिनले तपाईंको वरपरको वातावरणसम्बन्धी जानकारी एप्पलको भर्चुअल सहायक सिरीलाई उपलब्ध गराउनेछन्। त्यसपछि स्क्रिनतर्फ हेर्दै नहेरी आफ्ना उपकरणसँग अन्तरक्रिया गर्ने नयाँ–नयाँ सम्भावनाहरू खुल्नेछन्।
एप्पलले यसबारे पुष्टि वा खण्डन गरेको छैन। तर ब्लूमबर्गको यो समाचार कम्पनीका गोप्य योजनाबारे विश्वसनीय जानकारी सार्वजनिक गर्ने पत्रकारबाट आएको हो। साथै, यो एउटा सुधारको ठूलो प्रचलनकै हिस्सा पनि हो।
पछिल्ला करिब ६० वर्षदेखि हामीले कम्प्युटरसँग अन्तरक्रिया गर्ने मुख्य माध्यम स्क्रिन नै रह्यो। तर अब सम्भवतः स्क्रिनहरू बिस्तारै पृष्ठभूमितिर धकेलिन सक्छन्। स्मार्ट चस्मा, घाँटीमा लगाइने एआई पेन्डेन्टजस्ता पहिरिने उपकरण (वेयरएबल डिभाइस) सँगै विश्वका केही ठूला प्रविधि कम्पनीहरूले यस्ता उपकरण विकास गरिरहेका छन्, जसले मानिसलाई स्क्रिनमा निकै कम समय बिताउँदा पनि हुन्छ।
यदि उनीहरूको यो कल्पना सफल भयो भने, यसले कम्प्युटरसँग मानिसले गर्ने अन्तरक्रियाको शैली नै परिवर्तन गर्न सक्छ।
तर यो परिवर्तन सुखद हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन।
यसले दैनिक प्रयोग गर्ने प्रविधिसँग हाम्रो सम्बन्धलाई अझ सहज, मानवीय र प्राकृतिक बनाउन पनि सक्छ। वा यसको ठीक उल्टो, प्रविधि हाम्रो निजी जीवनमा अहिलेभन्दा अझ गहिरोसँग प्रवेश गर्ने दिन पनि ल्याउन सक्छ।
तर त्यो अवस्थासम्म पुग्नुअघि तपाईं र विश्वभरका लाखौँ मानिसले एउटा आधारभूत प्रश्नको उत्तर दिनुपर्नेछ। त्यो हो, के वास्तवमै मानिसहरूले यस्तो प्रविधि चाहेका छन् त ?
- स्क्रिनलाई बिदाइ ?
गत साता स्न्यापच्याट सञ्चालन गर्ने कम्पनी स्न्यापले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ स्मार्ट चस्मा स्पेक्स सार्वजनिक गर्यो। यसको मूल्य भने निकै महँगो छ—बेलायतमा १,९९५ पाउन्ड र अमेरिकामा २,१९५ अमेरिकी डलर।
तर स्पेक्सबारे सबैभन्दा धेरै चर्चा यसको मूल्य होइन, कम्पनीका प्रमुख कार्यकारी इभान स्पिगेलको एउटा टेलिभिजन अन्तर्वार्ताका कारण भयो। त्यस क्रममा उनले लगाएको चस्माले उनका कानलाई निकै च्यापिरहेको जस्तो देखिन्थ्यो, जसले हेर्दा निकै असहज महसुस हुन्थ्यो।
पछि स्पिगेलले मजाक गर्दै भने, ‘मेरो कान नै यस्तै देखिन्छ।’
स्पेक्स अन्य अधिकांश प्रतिस्पर्धी स्मार्ट चस्माभन्दा ठूलो र भारी छ। यद्यपि कम्पनीका प्रवक्ताका अनुसार यसलाई लगातार धेरै घण्टासम्म सहज रूपमा लगाउन सकिन्छ।
तर स्पेक्समा यस्तो विशेषता हुन सक्छ, जुन अहिलेका धेरै स्मार्ट चस्मामा छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, कम्पनीका अनुसार यसलाई अन्य उपकरणको सहाराबिना स्वतन्त्र रूपमा प्रयोग गर्न सकिन्छ। अहिलेका अधिकांश स्मार्ट चस्मा भने मोबाइल फोनसँग जोड्नै पर्ने हुन्छ।
स्पिगेलले विज्ञप्तिमा भनेका छन्, ‘दशकौँदेखि कम्प्युटरहरूले हामीलाई तल हेर्न, एउटै स्थानमा बस्न वा वर्तमान क्षणबाट अलग हुन बाध्य पारेका छन्। स्पेक्स कम्प्युटिङको नयाँ युगको सुरुआत हो।’
स्पेक्सको लेन्समै डिस्प्ले रहेको छ। मेटाका केही स्मार्ट चस्मामा पनि यस्तै सुविधा छ। तर यी डिस्प्लेहरू तपाईंको सम्पूर्ण दृष्टिक्षेत्र ढाक्न वा निरन्तर देखिइरहने गरी बनाइएका छैनन्।
बरु, आवश्यक पर्दा मात्र तपाईंले चस्मामार्फत देखिरहेको वास्तविक संसारमाथि केही डिजिटल जानकारी अस्थायी रूपमा देखाइनेछ।

- पहिरिने कम्प्युटरको बढ्दो बजार
यस्तो महँगो र केही असामान्य उत्पादन किन्न सक्ने आर्थिक क्षमता र त्यसलाई सहज रूपमा प्रयोग गर्न सक्ने मानिसहरूको संख्या धेरै नहुन सक्छ। तर यो विशेष वर्गका प्रयोगकर्ताका लागि स्पेक्सले साँच्चिकै नयाँ अनुभव दिने सम्भावना बोकेको छ।
यसैबीच, स्मार्ट चस्मा तथा शरीरमा लगाएर प्रयोग गरिने अन्य कम्प्युटरहरूको बजार तीव्र रूपमा विस्तार भइरहेको छ।
अहिलेसम्म सबैभन्दा लोकप्रिय उत्पादन मेटाको स्मार्ट चस्मा हो, जसका करिब ७० लाख जोडी बिक्री भइसकेको बताइएको छ। यही साता कम्पनीले अझ सस्तो मूल्यका नयाँ मोडेलहरू पनि सार्वजनिक गरेको छ।
तर यस्ता उपकरणहरूले गम्भीर गोपनीयता (प्राइभेसी) सम्बन्धी प्रश्न पनि उठाएका छन्।
कम्तीमा पनि भन्नुपर्दा, स्मार्ट चस्मा निकै विवादास्पद बनेका छन्।
इन्टरनेटमा यस्ता व्यक्तिहरूको एउटा छुट्टै समूह नै छ, जसले मेटाको स्मार्ट चस्मामा जडित क्यामेरा प्रयोग गरेर अपरिचित मानिसलाई दुःख दिने, उनीहरूलाई थाहा नै नदिई भिडियो खिच्ने र त्यसबाट पैसा कमाउने गर्छन्।
धेरै अवस्थामा उनीहरूले भिडियो खिचिरहेका छन् कि छैनन् भन्ने कुरा छुट्याउन निकै कठिन हुन्छ।
मेटा र स्न्याप दुवैका स्मार्ट चस्मामा भिडियो रेकर्डिङ भइरहेको संकेत दिन सानो बत्ती बल्ने व्यवस्था गरिएको छ। तर धेरैको तर्क छ कि त्यति मात्रै पर्याप्त छैन।
मैले बीबीसीका लागि सञ्चालन गर्ने ‘द इन्टरफेस’ पोडकास्टमा सीएनबीसीकी पत्रकार ब्रान्डी जाड्रोजनिसँग यही गोपनीयताको विषयमा कुरा गरेको थिएँ।
जाड्रोजनिले भनिन्, ‘म बिहान दौडिरहेको थिएँ। पार्क विभागका एक कर्मचारीलाई मैले खानेपानीको धारा कहिले सञ्चालन हुन्छ भनेर सोधेँ। उनले मेटाको स्मार्ट चस्मा लगाएका थिए।’
‘म आफैँ प्रविधि पत्रकार हुँ। तर त्यो दृश्यले समेत मलाई निकै असहज बनायो। यसविरुद्ध ठूलो प्रतिक्रिया आउनेछ।’
- क्यामेरा नभएको स्मार्ट चस्मा ?
यद्यपि मेटाले क्यामेराविनाको, केवल अडियोमा आधारित स्मार्ट चस्मा पनि विकास गरिरहेको बताइएको छ। र यदि गोपनीयतासम्बन्धी यस्तो जटिल चुनौतीलाई कसैले राम्रोसँग व्यवस्थापन गर्न सक्छ भने, त्यो सम्भवतः एप्पल हुन सक्छ।
किनभने गोपनीयता एप्पलको बजार रणनीतिको मुख्य आधारमध्ये एक हो। त्यसैले कम्पनीको चर्चामा रहेको नयाँ उत्पादनले गोपनीयतासम्बन्धी धेरै चिन्ताहरूलाई सहजै सम्बोधन गर्न सक्ने कल्पना गर्न सकिन्छ।
यदि सार्वजनिक भएका विवरणहरू सही हुन् भने, एयरपड्समा राखिने क्यामेराले सामान्य क्यामेराजस्तो फोटो वा भिडियो खिच्न दिने छैन। बरु, एप्पलले सैद्धान्तिक रूपमा क्यामेराबाट प्राप्त दृश्यसम्बन्धी सम्पूर्ण जानकारी क्लाउडमा नपठाई वा पछि सुरक्षित नराखी सिधै प्रयोगकर्ताकै मोबाइल फोनभित्र प्रशोधन गर्न सक्छ।
- यस्तो संसार कस्तो हुन सक्छ ?
अब केही क्षणका लागि गोपनीयतासम्बन्धी चिन्तालाई अलग राखौँ (यसको अर्थ हामीले ती चिन्ता बेवास्ता गर्नुपर्छ भन्ने होइन)। त्यसपछि यस्तो नयाँ संसार कस्तो देखिन सक्छ ? म यसलाई हेर्ने दुईवटा तरिका देख्छु।
पहिलो दृष्टिकोण सकारात्मक छ।
यदि तपाईंका एयरपड्समा क्यामेरा भयो भने, तपाईंले स्क्रिन छुनु वा हेर्नु नै नपरी आफ्नो वरपरको वातावरणसँग सम्बन्धित विभिन्न जानकारीसँग अन्तरक्रिया गर्न सक्नुहुनेछ।
उदाहरणका लागि, तपाईंले अगाडि देखिएको कुनै वस्तुबारे प्रश्न सोध्न सक्नुहुन्छ।
फ्रिज खोल्दा त्यहाँ भएका सामग्रीका आधारमा कुनै कुरा टाइप नगरीकनै परिकार (रेसिपी) सम्बन्धी सुझाव पाउन सक्नुहुन्छ। वा तपाईंले देखिरहेको दृश्यका आधारमा नेभिगेसन निर्देशन प्राप्त गर्न सक्नुहुन्छ।
यति मात्र होइन, हातका सामान्य इशारामार्फत उपकरण नियन्त्रण गर्ने अहिलेभन्दा धेरै सहज र कम हस्तक्षेपकारी तरिकाहरू पनि सम्भव हुन सक्छन्।
सायद तपाईंलाई यीमध्ये कुनै सुविधा आवश्यक नलाग्न सक्छ।
तर अर्को कोणबाट सोच्नुहोस्। अहिले स्क्रिनमा लगातार नहेरी गर्न सकिने कम्प्युटिङसम्बन्धी कामको संख्या अत्यन्त सीमित छ।
- आफ्नो फोन अहिले नै नफालिहाल्नुहोस्
प्रविधि बजार अनुसन्धान संस्था सीएसएस इन्साइट अन्तर्गतको एफडीएमका प्रमुख विश्लेषक तथा वेयरएबल प्रविधिका विज्ञ बेन वुड भन्छन्, ‘यदि एप्पलसँग यस्ता प्रविधिका विश्वसनीय प्रयोगका उदाहरणहरू नभएको भए उसले यसलाई आफ्नो उत्पादनमा समावेश गर्ने थिएन।’
उनले थपे, ‘यी उपकरणमार्फत मानिसहरूले के–के गर्न सक्नेछन् भन्ने कुरा त हाम्रो कल्पनाशक्तिले निर्धारण गर्ने विषयजस्तै हो।’
मलाई लाग्छ, कृत्रिम बुद्धिमत्ता (एआई) ले दिने सबैभन्दा रोचक सम्भावनामध्ये यो पनि एक हो। यदि एआई आफ्नो उद्देश्यमा पूर्ण रूपमा सफल भयो भने, हामीले कम्प्युटरसँग त्यसरी नै कुरा गर्न सक्नेछौँ, जसरी आफ्नो तर्फबाट कुनै काम गरिदिन सक्ने व्यक्तिसँग कुरा गरिन्छ।
कम्पनीले सिरीको नयाँ, कृत्रिम बुद्धिमत्तामा आधारित संस्करण सार्वजनिक गरिरहेको छ, जसले यही अवधारणातर्फ साना तर महत्त्वपूर्ण पाइला चाल्दैछ। यदि यो अवधारणा सफल भयो भने, तपाईं आफ्नो वरपरको संसारलाई हेरिरहँदै आफ्ना उपकरणमार्फत विभिन्न काम गर्न सक्नुहुनेछ।
अर्थात्, उपकरण प्रयोग गर्न तपाईंले बारम्बार स्क्रिनतर्फ हेर्नुपर्ने आवश्यकता कम हुन सक्छ।
आजको समयमा धेरै मानिसका लागि अत्यधिक स्क्रिन टाइम चिन्ताको विषय बनेको छ। त्यसैले यस्तो परिवर्तन धेरैका लागि स्वागतयोग्य हुन सक्छ।
तर अर्को सम्भावित भविष्य पनि छ। यस विषयको अर्को, केही अन्धकारमय पक्ष पनि छ।
प्रविधि उद्योगले अहिले पनि स्क्रिनमा आधारित उत्पादनबाट नै ठूलो आम्दानी गरिरहेको छ। उदाहरणका लागि, एप्पलको अधिकांश आय स्क्रिन भएका उत्पादनहरू, जस्तै आइफोन, आइप्याड, म्याकबुक र अन्य उपकरणको बिक्रीबाट आउँछ।
यदि भविष्यमा स्क्रिनविहीन उपकरणहरू आम प्रयोगमा आए भने, त्यसले प्रविधिसँग हाम्रो अन्तरक्रिया घटाउने होइन, झन् बढाउने पनि हुन सक्छ।
हामी अहिलेजत्तिकै समय स्क्रिन हेर्नेछौँ, तर त्यसबाहेक हिँड्दा, दौडिँदा वा अन्य काम गर्दा पनि स्क्रिन नहेरी नयाँ उपकरणमार्फत प्रविधिसँग जोडिइरहनेछौँ।
अर्थात्, स्क्रिन हट्ने होइन, बरु हाम्रो जीवनमा अर्को नयाँ तहको प्रविधि थपिने सम्भावना पनि उत्तिकै छ।
बेन वुड भन्छन्, ‘म दृढतापूर्वक विश्वास गर्छु कि स्मार्टफोन कतै जानेवाला छैन। यो समाजको संरचनाकै एउटा अभिन्न हिस्सा बनिसकेको छ।’
तर उनी थप भन्छन्, ‘यद्यपि प्रविधि उद्योग र केही प्रयोगकर्तामा एउटा चाहना अवश्य छ—हामीले आफ्नो टाउको स्क्रिनबाट केही माथि उठाऔँ।’
बीबीसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण