भक्तपुर क्यान्सर अस्पतालमै आईएचसी परीक्षण
सारांश
- भक्तपुर क्यान्सर अस्पतालले आईएचसी परीक्षण आफ्नै प्रयोगशालाबाट गर्दै आएको छ ।
- यस सेवाले बायोप्सीपछि विदेश वा अन्यत्र धाउनुपर्ने बिरामीको बाध्यता हटाएको छ ।
- अस्पतालले ३ दिनभित्र आईएचसी परीक्षणको रिपोर्ट उपलब्ध गराउने जानकारी दिएको छ ।
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको निश्चित प्रकार छुट्याउन आवश्यक पर्ने महत्त्वपूर्ण आईएचसी परीक्षण अस्पतालकै प्रयोगशालाबाट प्रभावकारी रूपमा हुँदै आएको जानकारी दिएको छ । क्यान्सर विशेषज्ञहरूका अनुसार अस्पतालबाटै यो सेवा उपलब्ध हुँदा बिरामीहरूले बायोप्सी गरेपछि विस्तृत परीक्षणका लागि विदेश वा अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका डा.उज्ज्वल चालिसेले भने- ‘हाम्रो समाजमा अझै पनि बायोप्सी गरेपछि आईएचसी परीक्षणका लागि अनिवार्य रूपमा विदेश नै पठाउनुपर्छ भन्ने भ्रम कायम छ, जसका कारण रिपोर्ट आउन झन्डै दुई हप्ताभन्दा बढी समय लाग्ने र समयमै उपचार सुरु हुन नपाई बिरामीको रोग झन् बल्झिने खतरा रहन्छ । यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै भक्तपुर क्यान्सर अस्पतालको प्याथोलोजी टिमले बायोप्सी गरेपछि मासुको एक टुक्रा यस अस्पतालमा पठाएमा मात्र ३ दिनभित्रै सम्पूर्ण रिपोर्ट उपलब्ध हुन्छ ।’
अस्पतालको प्याथोलोजी विभागले क्यान्सर रोग पहिचानका लागि आवश्यक पर्ने अत्याधुनिक परीक्षण सेवाहरू नेपालमै सुलभ दरमा उपलब्ध गराउँदै आएको छ । सामान्यतया क्यान्सर निदानका लागि शङ्कास्पद भागको मासुको टुक्रा परीक्षण (बायोप्सी) गरिसकेपछि क्यान्सरको निश्चित प्रकार छुट्याउन आईएचसी र फ्लोसाइटोमेट्री जस्ता विशेष परीक्षणहरूको आवश्यकता पर्दछ, जसको पूर्ण सुविधा नेपालमा निकै सीमित छ ।
भक्तपुर क्यान्सर अस्पतालले हाल १२५ भन्दा बढी प्यानलको आईएचसी लगायत बायोप्सी र फ्लोसाइटोमेट्रीका सम्पूर्ण परीक्षणहरू सरकारको स्वास्थ्य बिमाकै दररेटमा उपलब्ध गराइरहेको जनाएको छ । अस्पतालले आगामी दिनमा आनुवंशिक परीक्षणका लागि अत्याधुनिक एनजीएस सेवा समेत भित्र्याउने तयारी गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण