पोखराका दुई उत्कृष्ट किसान सम्मानित
कास्की । पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई जना किसानलाई आज ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ ।
पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की र पोखरा–२७ स्थित हेब्रोन लाइभ स्टक फार्मकी सञ्चालक कमला पाल्पाली खड्कालाई नगरप्रमुख धनराज आचार्यले जनही नगद रु २० हजार र सम्मानपत्र प्रदान गरे ।
सम्मानित किसान कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा, विभिन्न तरकारी तथा पशुपालन गर्दै आएका छन् । उनले २४ रोपनी क्षेत्रफलमा बेमौसमी तरबुजा उत्पादन गरी व्यावसायिक कृषिमा नयाँ सम्भावना देखाएका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि व्यवसाय सुरु गरेका कार्की अहिले कास्कीका उदाहरणीय व्यावसायिक किसानका रूपमा परिचित छन् ।
यसैगरी, सम्मानित किसान खड्काले सञ्चालन गरेको हेब्रोन लाइभ स्टक फार्म आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमूना दुग्ध उत्पादन केन्द्रका रूपमा विकास भएको छ । परम्परागत पशुपालनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित फार्मले जैविक सुरक्षा र दिगो कृषि प्रणाली अपनाउँदै स्थानीयस्तरमा दुग्ध उत्पादन, आपूर्ति तथा रोजगारी सृजनामा योगदान पुर्याउँदै आएको छ ।
करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा उन्नत घाँसखेती, आधुनिक गोठ, दूध दुहुने विशेष कक्ष, दाना भण्डारणगृह, मल तथा जैविक फोहर व्यवस्थापन संरचना र प्रशासनिक भवन निर्माण गरिएको छ ।
सम्मान कार्यक्रममा नगरप्रमुख आचार्यले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत किसानको आय वृद्धि तथा आत्मनिर्भर कृषि प्रणाली निर्माण महानगरको प्राथमिकतामा रहेको बताए । “किसानको सम्मानले कृषि पेसाप्रति थप उत्साह र आकर्षण बढ्ने छ”, आचार्यले भने ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले उत्कृष्ट किसानलाई सम्मान गर्नुको उद्देश्य अन्य किसानलाई पनि व्यावसायिक कृषि अपनाउन प्रेरित गर्नु रहेको बताए ।
महानगरले साझेदारीमा अनुदान, कृषि उपकरण तथा विभिन्न प्राविधिक सहयोगमार्फत किसानलाई निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण