बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
महाधिवेशनले रास्वपामा संशय

मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?

बुधबार, १७ असार २०८३, ०९ : ५५
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धा भएको छ ।
  • महाधिवेशनमा केन्द्रीय समिति सदस्य निर्वाचनमा समायोजन प्रक्रियाबाट आएका उम्मेदवारहरूले अत्यधिक मत प्राप्त गरेपछि पदाधिकारीमा आकाङ्क्षी बढेका छन् ।
  • महाधिवेशनपछि मन्त्री हेरफेरको चर्चा चले पनि प्रधानमन्त्रीका प्रेस विज्ञले मन्त्री हेरफेर निश्चित नभएको बताएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीभित्र एकताभन्दा पनि संशय पैदा गराएको छ । असार (७–१२)मा सम्पन्न महाधिवेशनमा सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धा भएको थियो ।

रास्वपाको यो महाधिवेशन एकता महाधिवेशन पनि भएकाले सबैले चासोपूर्वक हेरेका थिए, तर केन्द्रीय समिति सदस्य निर्वाचनमा समायोजन प्रक्रियाबाट आएका उम्मेदवारहरूले अत्यधिक मत प्राप्त गरेपछि पदाधिकारीमा आकाङ्क्षी ह्वात्तै बढेको थियो । सभापति पदका लागि बालेनको प्रस्तावमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका थिए । वरिष्ठ नेतामा बालेन नै रहने निश्चित छ । उनकै लागि विधानमा वरिष्ठ नेता राख्ने व्यवस्था गरिएको हो ।

दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ पदमा भएको निर्वाचनमा २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । पुरुषतर्फ एक उपसभापति पदमा डा.स्वर्णिम वाग्लेविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी निर्विरोध निर्वाचित भए । एक महिला उपसभापतिमा समीक्षा बास्कोटा, कानुनमन्त्री सोविता गौतम र डा. तोसिमा कार्कीले उम्मेदवारी दिएका थिए । बास्कोटाले पछि उम्मेदवारी फिर्ता लिइन् । बाँकी दुई जनाबिच भएको प्रतिस्पर्धामा गौतम निर्वाचित भइन् ।

सभापतिपछि महत्त्वपूर्ण पद मानिएको महामन्त्री पदका लागि परराष्ट्रमन्त्री शिशिर खनाल, निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, निवर्तमान सचिवालय सदस्य गणेश पराजुली, सागर ढकाल, निवर्तमान प्रवक्ता मनिष झा, रञ्जु दर्शना, प्रमोद न्यौपाने, राजुराज पाण्डे र गणेश कार्कीले उम्मेदवारी दिएका थिए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म खनाल, बुर्लाकोटी, पराजुली, दर्शना र न्यौपानेले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरे । बाँकी चार जनाबिच भएको प्रतिस्पर्धामा आचार्य विजयी भए ।

सहमहान्त्री खुलामा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्तले उम्मेदवारी दिएका थिए । महिलातर्फ जुली यादव, जमुना शर्मा (विदुषि), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी निर्वाचित भए ।

खासगरी सहमतिमै नेतृत्व चयन गर्न सभापति रविले ११ गते रातभर मतदान स्थलमा बसेर प्रयास गरे पनि उनको प्रयास असफल भयो । सहमति नजुटेपछि निर्वाचन आयोगले चुनावी प्रक्रिया अगाडि बढायो । महामन्त्रीका लागि संस्थापक सदस्यहरू बिचमै प्रतिस्पर्धा हुने देखिएपछि झा आफूले जित्नेमा ढुक्क देखिन्थे ।

यता बालेन समूहबाट आएका सागर ढकाल र रास्वपाभित्र स्थायी प्रतिपक्ष मानिएका गणेश कार्की चुनावी परिणाम आफ्नो पक्षमा आउन सक्ने निष्कर्षमा पुगेका थिए । विधान अनुसार दुई महामन्त्रीमध्ये एक बालेन समूहका भूपदेव शाह मनोनीत हुने लगभग निश्चित नै रहेको नेताहरू बताउँछन् ।

चुनावी प्रतिस्पर्धाबाट संस्थापक इतर पक्षले नै महामन्त्री पदमा जित्ने अवस्था देखिएपछि असार १२ गते बिहान कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनालले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेको नेताहरूले जिकिर गरेका छन् । यद्यपि कुनै पद प्राप्त गर्न वा गुटबन्दी गर्न उम्मेदवारी फिर्ता नलिएको पराजुलीले जिकिर गरे । आन्तरिक एकता कायम गर्न र अनावश्यक ध्रुवीकरणलाई रोक्न संस्थापक पक्ष एक ठाउँमा उभिएको उनको भनाइ छ ।

‘साझा सहमति निर्माण गर्न र पार्टीको दीर्घकालीन हितलाई प्राथमिकतामा राखेर नै राजनीतिक परिपक्वता देखाएको हुँ । यो रणनीतिक त्याग इतिहासमा सधैँ सम्झिइनेछ’, पराजुलीले रातोपाटीसँग भने, ‘उपनेता पनि मैले मागेको होइन । मैले पदका लागि बार्गेनिङ गरेको छैन । कसैले बाहिर मिडिया ट्रायल गरेको हुनसक्छ । उद्योगमन्त्री बनाउने विषयमा कतैबाट प्रस्ताव आएको छैन । पार्टी बचाउनका लागि केही दाग लाग्छ भने लागोस् भनेर त्यो निर्णयमा पुगेको हुँ । त्यसमा मलाई कुनै आपत्ति छैन ।’

पदाधिकारीको निर्वाचनको अघिल्लो दिन सभापतिसँग रातभर भएको छलफलमा कोही कसैले पनि पदको बार्गेनिङ गरेको अनुभूति आफूलाई नभएको उनले स्पष्ट पारे । ‘त्यसदिन सहमतिमै उम्मेदवारी दिउँ भनेर छलफल गरेको हो । शिशिरजीले त्यतिबेलै उम्मेदवारी फिर्ता लिनुभयो । मनिषजीलाई पनि उम्मेदवारी फिर्ता लिएर साझा उम्मेदवार बनाउँ भनेको हो, तर उहाँले मान्नुभएन । त्यतिबेला कोही कसैले पनि उम्मेदवारी फिर्ता लिँदा मैले के पाउँछु भनेको मैले सुनिनँ । व्यक्तिगत रूपमा कसैले बार्गेनिङ गरेको भए मलाई थाहा भएन’, उनले भने ।

तर स्रोतका अनुसार बालेन सरकारका कार्यसम्पादनमा कमजोर देखिएका केही मन्त्री फिर्ता बोलाएर उम्मेदवारी फिर्ता लिने नेताहरू व्यवस्थापन गर्न लागिएको छ । महाधिवेशन अगाडि नै स्वास्थ्यमन्त्री निशा मेहता, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीको कार्यसम्पादन मूल्याङ्कन कमजोर रहेकाले हटाउने चर्चा चलेको थियो । यद्यपि प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले मन्त्री फेरबदल गर्ने निश्चिन नभएको बताइन् ।

पदाधिकारीमा उम्मेदवारी दिने बिहान बुर्लाकोटीले पार्टी निर्माण गर्नेमा भन्दा पनि पद प्राप्तिका लागि अपेक्षा राखिएकाले समस्या आएको प्रतिनिधिहरूसँग गुनासो गरेका थिए । विगतमा कुनै पार्टीको सदस्यता पनि नलिएको र संस्थापक सदस्य भएको नाताले पार्टीलाई बचाउन आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा उनले गरेका थिए ।

‘संस्थापकमध्ये म एक सदस्य हुँ । धेरै दुःख गरेर पार्टीलाई यहाँसम्म ल्याइपुर्‍यायौँ । पार्टी बचाउन म जस्तोसुकै त्याग गर्न तयार छु, तर केही साथीहरू पार्टी निर्माणभन्दा पनि त्याग गरेबापत के पद पाउँछु जस्ता कुरा गर्नुभयो’, बुर्लाकोटीले भनेका थिए ।

यद्यपि क–कसले पदको बार्गेनिङ गरे भन्ने उनले खुलाउन चाहेनन् । रातभरसँगै रहेका नेता यज्ञमणि न्यौपानेले पद भागबन्डाको विषयमा कुनै छलफल नभएको जिकिर गरे ।

‘रास्वपा विभिन्न समूहको समायोजनबाट ठुलो पार्टी बनेको हो । सभापतिले सकभर सहमतिमै नेतृत्व छनोट गरौँ भनेर प्रयास गर्नुभएको हो । कुनै गुट बनाउने वा पदको आवश्वासन दिएर त्यहाँ कुनै छलफल भएको थिएन । गुटबन्दी गर्‍यो भनेर आरोप लागेको छ, त्यो सत्य होइन’, उनले भने ।

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ केन्द्रीय कार्यालय वनस्थलीमा हुने नेता गणेश पराजुलीले बताए । थपथ ग्रहणपछि केन्द्रीय समितिको पहिलो बैठक बस्ने उनले बताए । ‘शपथ ग्रहणपछि केन्द्रीय समितिको बैठक बस्छ । त्यसैले मनोनीत सदस्यहरूबारे निर्णय गर्ला’, उनले भने ।

पार्टी विधान अनुसार ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ । जसअनुसार पदाधिकारीमा एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन् ।

वरिष्ठ नेतामा बालेन, उपसभापतिमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, महामन्त्रीमा भूपदेव शाह लगभग सुनिश्चित जस्तै देखिन्छन् । प्रवक्तामा झा नबस्ने भनेकाले बुर्लाकोटीको सम्भावना देखिन्छ । यस पदका लागि प्रमोद न्यौपानेले पनि आकाङ्क्षा देखाएका छन् । दुई सहमहामन्त्रीमा थारु समुदायबाट लक्ष्मण थारु र दलित समुदायबाट खगेन्द्र सुनारको सम्भावना देखिन्छ । तीन जना सहप्रवक्ता स्पष्ट नाम आइसकेको छैन । कोषाध्यक्षमा लिमा अधिकारीले दोहोरिने इच्छा देखाएकी छैनन् । अधिकारी निवर्तमान कोषाध्यक्ष हुन् । दुई जना सहकोषाध्यक्षमा एक जना बालेन समूहबाट मनोनीत हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप