मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नजरमा ‘नाम’

शनिबार, ३० भदौ २०७५, १३ : ०२
शनिबार, ३० भदौ २०७५

मेरो हातमा परेको पछिल्लो कृति हो – नाम । हमेशा सिर्जनालाई माया गर्छु र काखमा लिन्छु म । सांग्रिला पब्लिकेशनबाट प्रकाशित, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट सार्वजनिक र प्रा डा. कृष्णहरि बरालले समीक्षा गर्नुले कृतिले अलि बढी लोभ्याएको होला मलाई । निद्राको समय कटाएरै नाम पढ्ने योजना बनेपछि कसले सक्ने रोक्न ?

कृतिको नाम नै ‘नाम’ किन राखेका होलान ? आफैँलाई सोधेँ । कुँदिएको नाम बोर्डर नेपथ्यमा आँखाको कभरले पनि केही समय खायो । कभर पल्टाएर लेखकको भनाई पढेपछि कृतिले झनै कौतुहलता थप्यो । लेखक नवराज बरालको दाबी रहेछ, ‘यो कृति काँचो भुइँकटहर होइन, पाकेको अंगुरजस्तै छ, केही नफाली पूरै निल्न मिल्छ ।’ लेखकले दाबी गरेजस्तै छ त कृति ? मलाई फेरि लेखकलाई चुनौति दिनेगरी घोत्लिन मन लाग्यो नामभित्रै । लेखकले आफूलाई हलीसँग तुलना गरेपछि सहानुभूति पनि नपलाएको होइन ।

तीन सय ५१ पृष्ठको यति लामो किताब कसरी पढने ? जटिल कामझैँ पनि लाग्यो । सरसर्ती हेरौँन त सोचेर केही पाना पल्टाउँदैमा पहिलो नजरमै नामसँग माया बस्लाजस्तो भयो । सुरुवाती पेजले नै मलाई आफैँ म पात्र हो कि जस्तो बनाइदिए । कठोर संघर्ष गरेर राजनीतिमा सफल भएको एउटा मार्मिक कथा रहेछ भन्ने सुरुवाती पृष्ठले नै बताइहाले । आफ्नो सफलतामा गरिएको आमाको स्मरणसँगै कथाले गम्भिर बनाइहाल्यो– मनोबल नै मेरो महल थियो । निर्भीक गाडीमा विश्वासको व्यवसायले भाटभटिनीलाई नै टक्कर दिन्थ्यो ।

सम्बन्ध नै सम्पत्ति र ज्ञानलाई नै उदेश्य मानेको थिएँ । तर आमाले आफनै छोरालाई बुझन सकिनन् । अनि, बेलाबेलामा सोध्थिन्, बाबु तेरो आधा जीवन त समाजसेवा भन्दैमा गयो, सैसाथीका घरघडेरी र छोराछोरी भैसके । तैँले आफनो बारेमा चैँ कैले सोच्छस ? कहिले कमाउँछस ? तँ सोझो छस, अहिलेका मान्छे चण्डाल छन बाबै ! धनीसँग नाता जोडछन्, गरीबसँग तोडछन् ।’ पृष्ठ १३ का यी वाक्यहरु पढेपछि मैले किताब नसकीकन कुनै काम नगर्ने अठोट नै लिएँ ।

कास्कीको पुर्वी भूभाग देउराली र त्यसको वरपरका परिवेश सम्झँदै मैले आफ्नै सुरुवाती यौवनकाल कोटयाउन पुगेँ । स्कुल पढदाखेरि कल्पनासँग शिवरात्रीको दिन भएको निकटता यथार्थपरक भए पनि त्यति स्वभाविक भने लागेन । यद्यपी यसले स्कुले जीवन र त्यतिबेलाको मनोविज्ञान भने रामैसँग बुझेको छ । यथार्थपरक चित्रणले स्वयम् कबल भन्ने म मात्र लेखक नै हुनुपर्छ ठानेर मनमनै उनलाई गिज्याएँ । भजनमा परेको दोहोरी र पोष्टकाडसँगै पठाउन लेखेको चिठी पढेपछि हाँस्नुसम्म हाँसेँ । बिहेमा जन्त जाँदाका पल र रत्यौलीले पनि विगत ताजा बनाइदिए । मनिसासँगको भेट र नजिक हुन गरेको प्रयत्नको काल्पनिकता गज्जब लाग्यो । परीक्षाका विषय र परीणामले मलाई पनि विद्यार्थी जीवनमै फर्काइदियो ।

उच्च शिक्षाका लागि पोखरा आएर कोठामा भाडामा बस्दाका सबै बेलिविस्तार सम्झँदा कबल नामको मुख्य पात्र आफैँ हो झैँ ठान्दै पीडित भएँ । पढने खर्च नभएर होटलमा काम गर्न थालेका र केही नबुझीकनै पार्टीमा लागेका सन्दर्भ पनि धेरैसँग मिल्दाजुल्दा छन् । जेल परेपछि पाएका दुःख र पार्टीको पूर्णकालीन बन्नुपर्ने वाध्यतासम्मका कथाले पहिलो खण्ड सकिएको पत्तै हुँदैन ।

दोस्रो खण्डमा कबल काठमाडौँको यात्रा थाल्छ । सार्वजनिक बसमा यात्रा गर्दा दृश्यले काठमाडौँसम्म पुग्दा देशकै अवस्था बताउँछ । काठमाडौँका समस्यासँगै म पात्रको मिशनमा नेताको सचिवालयबाट अवरोध सुरु हुन्छ । यसले नेतालाई वरिपरीका मान्छेले नै बिगारेका हुन भन्ने जानकारी दिएको छ । पार्टी फुटेपछि मन नहुँदानहुँदै नयाँ पार्टीतिर लागेको सन्दर्भ सविस्तार गरिएको छ । ‘मनमा अनेक कुरा भरिएपछि भोकै हराउँदो रहेछ’ भन्दै उनले राजनीतिभित्रका विकृति खोतल्दै गएका छन् । म पात्र पुष्पराम भन्ने नेताको स्वकीय सचिव दामोदरको षडयन्त्रमा परेपछि काठमाडौँ छोडनुपर्ने अवस्थामा पुगेको, मोटरसाइकल दुर्घटनामा परेको र बाबु घरको धुरीबाट खसेर गम्भिर विरामी भएर हेलिकप्टरमा काठमाडौँ ल्याउनुपरेको जस्ता दर्दनाक कथा यसैभित्र समावेश छन् । यही खण्डमा उनले निष्कर्ष निकालेका छन, ‘समस्याको भारी उचाल्न सहयोग गर्नेहरु नै मेरा भगवान हुन् ।’

‘आँसु न रहरले झर्छ, न त आवश्यकताले नै आउँछ । सम्हाल्नै नसक्ने पीडा भएपछि अनयासै बगिदिन्छ । पीडा निचोरिएर आँखाको बाटो हुँदै आउने रस त हो ‘आँसु” ।’ पेज ९९ मा कबलका आँसु निकै बगेका छन् ।

बाबुको उपचार गर्दा पैसा नभएर पाएका पीडादेखि उपचार गराएर घर फर्कँदा आमाको बिलौनासम्म यसभित्र पढेँ । यसै खण्डको अन्त्यतिर प्रेमको प्रसंग उक्किएको छ । कजना नामकी पेमिकाले भनेकी छे, ‘म तिमीसँगको अकुत प्रेमको खाता संयुक्त बनाउन चाहन्छु, जहाँ दुवैको हस्ताक्षर अनिवार्य होस् ।’

तेस्रोमा युद्धमा हिँडेका सन्दर्भछ । डुटी बस्दा बन्दुक पडकेका, प्रशिक्षण पाएका र भाषणले सिकेका र राजनीतिमा जम्दै गरेका कथाले मलाई युद्धमै हिँडेजस्तो बनायो । पार्टीकोकामबाट बिदा लिएर घर पुगेपछि अशोकको घरमा देवेन्द्र र रेशमसँग भएका छलफलले धेरै सिकयो । जहाँ अशोकले वौद्धिक मानिएका रेशमलाई झपारेका छन, ‘म बाँच्नुभन्दा मर्नुका धेरै फाइदा बताउन सक्छु, मर्नुहुन्छ तपाईँ ?’ यसै छलफलमा देशको माया र सम्पत्तिका लोभीहरुलाई झटारो हानिएको छ । यसैभित्र नेताको भड्किलो जीवनशैलीको कडा आलोचना, पार्टीबाट कारबाही परेर पत्रिका वितरक हुँदै पत्रकारितामा लागेका कथा उल्लेख छन् । काठमाडौँ जानुको रहस्य यसमा खुलेको छ । यहाँसम्म आइपुग्दा पनि किताब बन्द गर्न मनै लागेन । पिसाबले अत्याउँदा समेत यो खण्ड सकेर मात्रै जाने संकल्प गरेर धानिएँ ।

चौँथोमा, कजनासँगको पेमको कथातिर पुगियो । सामाजिक सञ्जालबाट फक्रेको प्रेम र आदर्शवान शहरीया केटीको चर्चा यसभित्र रहेछ । शहरीया भएपनि कजनाले भन्छे, ‘तपाईँ आफू ४० रोपनी जग्गा बाँझो छोडनुहुन्छ तर जग्गा नहुनेले छतमा घिरौँला फलाएको देखेर लोभिनुहुन्छ । तपाईँहरु खासमा गरीब होइन, सोचाइमा मात्रै गरीब हो ।’ अर्को पसंगमा उसको भनाइ छ, ‘मलाई लस्सीभन्दा मोही, पिज्जाभन्दा पिँडालु, मःमःभन्दा मकै मन पर्छ ।’ यसभित्र गाउँको महत्व र आदर्शवादी प्रेम तार्किक रुपमा झल्केको छ ।

पाँचौमा, कजनासँग छुटेर फेरि काठमाडौँ पुगेका छ कबल । बाबुको उपचार गर्दाको ऋण तिर्न विदेश जाने निष्कर्षमा पुग्छ । मेनपावर कम्पनिका गलत प्रवृतिको पनि यसमा उजागर रहेछ । मेनपावर कम्पनिबाट निस्कँदा अकस्मात मनीषासँग भेट भएको प्रसंग र उसको कारुणिक कथाले नराम्ररी चिमोटछ यतिबेलै । मनीषाले चार पटकसम्म नाम फेरेर ममता बनेकी हुन्छे । 

कबल रोजगारीको सिलसिलामा कतार पुग्छ । त्यहाँ रहँदा सबै नेपालीका कथा व्यथा र उनीहरुको आक्रोश पनि यसभित्र मर्मस्पर्शी तबरले देखाइएकोछ । पढिरहँदा पाँचौ पछि छैटौँमा नरोकिइ प्रवेश गरेँ ।
कबल विदेशबाट आउँदा बैनी शिला पोइला गएकी हुन्छे । आमाले आत्महत्या गरेको स्यान्दिदीमार्फत थाहा पाउँछ । उसले आमासँगका सन्दर्भ सबै सम्झन्छ र आमाकै नाममा धेरै आँशु बगाउँछ । बालाई लिन भारतको मद्रास जान्छ तर बाटोमा नेताहरु बारेका कुरा सुनेपछि आक्रोशित हुँदै नेता पुष्परामकोमा पुग्छ । त्यहाँ नेत्र मार्फत पुष्परामको स्वकीय सचिव दामोदरले षडन्त्र गरेको थाहा पाउँछ । दामोदरसँग झगडा गर्दा झयालबाट खसेर दामोदर मर्छ र कबल जेल पर्छ । भुकम्प आउँदा जेलबाट निस्केर बालाई लिन कन्याकुमारी पुग्छ । बालाई घरमा ल्याएपछि स्वतन्त्र रुपमा सामाजिक काममा सक्रिय हुन्छ । राम्रा काम गरेर समाजको आँखाको नानी बन्छ । चुनाब आउँदा सबैले स्वतन्त्र उम्मेदवारी दिन लगाउँछन र उसले सबै प्रतिष्पर्धीको जमानत जफत गराउँदै चुनाब जितेपछि सर्वत्र उसको नामको चर्चा चल्न थाल्छ ।
आफ्नै पार्टीमा सक्रिय हुन अनुरोध सहित पुष्परामले कबललाई मन्त्रीको अफर गर्छ । ऊ अर्थमन्त्री हुन्छ र उसैलाई राजनीतिमा आवद्ध गराउने अविरल गृहमन्त्री हुँदै गरेको सपथ गहणका बेला मात्रै थाहा पाउँछ ।

आफू अर्थमन्त्री र अविरल गृहमन्त्री हुँदाको क्षण बेलुका सुत्नेबेला स्मरण गरेको रहस्य सातौँ खण्डमा आउँदा मात्रै रहस्य खुलेपछि केही पृष्ठ बाँकी आठौँ खण्ड पनि सकाइहाल्न मन लाग्यो ।
सपथ गहणको भोलिपल्टै पत्रकार सम्मेलनमा लिखित रुपमै ३३ दिनको कार्यक्रम सार्वजनिक गर्छ कबलले । असम्भव लाग्ने योजना उसले निर्धारित समयभित्रै कार्यान्वयन गर्छ । विदेशमा बस्ने नेपालीलाई पनि उसको अनुरोध छ, ‘तपाईँहरु स्वदेश फर्कनुस, तपाईँहरुको पसिना आफ्नै माटोले खोजेको छ । तपाईँहरुको सपना नै हामो सपना हो । तपाईँहरु जस्तो नेपाल देख्न चाहनुहुन्छ, हामी त्यस्तै नेपाल बनाउन चाहन्छौँ ।’ 

दुई वर्षभित्रै अशिक्षा, अभाव र असुरक्षा अन्त्य गर्ने उसको पतिवद्धतालेधेरै आशा जगायो । छोरो मन्त्री हुँदा पनि बाँसको चिपरीले बारेको घरमा बसेर छोरालाई नाम कमाएको भन्दै आँशु चुहाउँदै आशीर्वाद दिएको समाप्तिको क्षण कल्पना गर्दा मेरा आँखा पनि ओभाना रहेनन् । र मनमनै लेखकलाई सलाम गरेँ र धन्यवाद दिएँ ।

नरोकिइकन नाम पढेर सकेपछि लाग्यो, यो नेपाली साहित्यका थोरै मात्रै उत्कृष्ट मध्येको एक कृति हो । भौगोलिक परिवेश, कथाको सुरु, पात्र निर्माण, रहस्यमय खण्ड र तिनको संयोजन तथा विषयवस्तुको उठान सबै कोणबाट नाप्दा कृति लेखले दाबी गरेजस्तै ताजा अंगुरजस्तै रहेछ । केही नफाली पूरै खान मिल्छ ।

परिवार, प्रेम, राजनीति र राष्ट्रका लागि कस्तो निष्ठा जरुरी छ भन्ने पाठ यसले सिकाउँछ । यो युवा वर्गलाई सच्चाइको बाटो देखाउँछ र गलत बाटाहरुबाट सतर्क गराउँछ । प्रा.डा. कृष्णहरि बरालले भनेझैँ, यो कृति पढेपछि नेताहरुलाई पनि कुनै सल्लाहकार जरुरी पर्दैन सायद । नाम लेखेर मलाई गज्जबको साथी बनाइदिने लेखक बराललाई फेरि बधाई नदिइरहन सक्दिनँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज गुरुङ
देवराज गुरुङ
लेखकबाट थप