आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चक्र‘दा’को राजनीतिक आरोह–अवरोह चक्र

बिहीबार, ०८ कात्तिक २०७५, १० : १८
बिहीबार, ०८ कात्तिक २०७५

हामी स्कुल जीवनमै थियौं । प्लेन अपहरणपछि चक्र बाँस्तोला किंवदन्तीको रूपमा हाम्रोसामु उदाए । क्रान्तिको नायक भएर स्थापित भए । हाम्रो पुस्ताले चक्र बाँस्तोलालाई ‘चक्रदा’ भन्थे । यो काँग्रेस संस्कृति थियो । काँग्रेस पार्टी जति राजनीतिक थियो, सामाजिक र पारिवारिक रूपले पनि यो पार्टी जोडिएको थियो र अझै छ ।  

चक्रदालाई मैले बनारसमा टाढाबाट चिने ।  विराटनगर, झापा र काठमाडौँमा मैले उहाँलाई नजिकबाट चिन्ने अवसर पाएँ । धेरैपछि मात्र मेरो चक्र बाँस्तोलासँग राजनीतिक हिमचिम बढ्यो र हामी घण्टौँ गफिन थाल्यौँ । यस्तो अवसर जुट्नुमा काँग्रेसभित्र नयाँ सुधार गर्ने र मुलुकलाई परम्परागत शैलीभन्दा नयाँ ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल चक्रदासँग चल्न थाल्यो ।  

विराटनगरको माहौलमा हामी भर्खर युवामा प्रवेश गर्दा काँग्रेसको एकपछि अर्को क्रान्तिकारी एक्सन भएको थियो । यसको प्रभाव हामीमाथि पर्न थाल्यो । मेरो घर नजिक डेरा गरी बस्ने जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मणको प्रेरणादायी भूमिका रह्यो चक्रदासँग जोडिन । 

राम लक्ष्मण जस्तै क्रान्तिकारी चक्र बाँस्तोला पनि हो भनी हामी बुझ्थ्यौँ । चक्रदा विश्वेश्वरप्रसाद कोइरालासँगको समीपमा बस्छन् ।  विद्वान छन् ।  तार्किक र रेभुलेस्नरी पनि छन् । चक्रदालाई नभेट्दा विराटनगरका मजस्ता कलिला उमेरका मानिसबीच उनको परिचय यही थियो, चार दशक अगाडि ।

फारबिसगन्जको सुल्तान पोखरी छेउमा रहेको गिरिजाप्रसाद कोइरालाको निर्वासन क्याम्पमा चक्रदा बीपीको ‘राइट हेन्ड’ हो भन्ने पनि सुनिन्थ्यो । 

विराटनगरबाट उडेको हवाइजहाज अपहरणपछि चक्र बाँस्तोला सार्वजनिक रूपमा काँग्रेसको एक्सनमा देखा पर्नुभयो । भारत प्रवासमा चक्रदाले बङ्गलादेशको मुक्ति सङ्ग्राममा खेलेको भूमिकाले पनि उहाँलाई चर्चामा ल्यायो । बीपी कोइरालासँग इन्टेलेक्च्युअल कुरा गर्ने त्यसबेला एकजना चक्र बाँस्तोला र अर्का प्रदीप गिरी मात्रै छन् भन्ने चर्चा हामी सुन्थ्यौँ ।

प्रवासको आकर्षक र क्रान्तिकारी देखिने चक्रदाको व्यक्तित्व खुला राजनीतिमा फिका भयो । चक्रदा कोठे राजनीतिको चिन्तनमा बढी लाग्नुभयो । यो संस्कार उहाँले प्रवासमा पाउनुभएको थियो । चक्रदामा नयाँ विचार दिने क्षमता थियो, नेतृत्वगर्ने क्षमता पनि थियो तर सङ्गठन गर्ने जाँगर थिएन । यही कमजोरीले उहाँलाई काँग्रेसको नेतृत्वदायी भूमिकामा कहिले पुर्याउन सकेन । 

चक्र बाँस्तोलाका दुई तीनवटा प्रसिद्धि थिए । एउटा बौद्धिकता, जोबाट सबै कायल थिए । अर्को नयाँ विचार र आइडिया ल्याउन खप्पिस भनी उहाँ परिचित थिए । तेस्रो चक्रदाको पारिवारिक सम्पन्नता । चक्रदा सम्पन्न परिवारसँग जोडिएको हुनुहुन्थ्यो । त्यही भएर उहाँको सम्पन्नताको चर्चा हुन्थ्यो । माथिका सबै कुरा २०३६ सालभन्दा अगाडिका हुन् ।

०३६ सालपछि चक्रदा नेपाल आउनुभयो । नेपाल प्रवेश पछि चक्रदाको जुन क्रान्तिकारी इमेज प्रवासमा थियो– त्यो अगाडि बढेन । ०३६ देखि ०४६ सालसम्म चक्रदाको काँग्रेसभित्र कुनै नेतृत्वदायी भूमिका थिएन । ०४६ सालको परिवर्तनमा चक्रदा भारतवसी नेपालको लोकतान्त्रिक आन्दोलनलाई समर्थन र सहयोग जुटाउन लागिपरेको हामी देशभित्र आन्दोलनमा होमिएका बीच समाचार आउँथ्यो ।

काँग्रेस राजनीतिमा प्रवासको राजनीति गर्ने र देशभित्रै बसेर राजनीति गर्ने बीचको द्वन्द्व थियो । प्रवास बस्नेहरू र प्रवासका नेता खासगरी कोइराला परिवारप्रति समर्पित समूह नेपाली समाजसँग कमजोर रूपमा जोडिएको थियो । शीर्ष नेताहरूलाई अपवाद मान्दा अधिकांश काँग्रेसका दोस्रो पुस्ताका प्रवास बस्ने नेताहरू सामाजिक र राजनीतिकरूपले देशसँग टाढिएका थिए, चक्रदा पनि त्यसमा एक थिए । खुला राजनीति भएपछि प्रवासको राजनीति बाधक भएर आयो ।  

 काँग्रेसको क्रान्तिकारी छविसँगै चक्रदाको छवि पनि प्रवासमा जस्तो क्रान्ति नायक र बौद्धिक रहेन ।  सशस्त्र क्रान्ति, विमान अपहरण, बम आक्रमण, बङ्गलादेशको स्वतन्त्रता जस्ता कुरा पनि अबका नेपाली युवाहरूलाई आकर्षणको विषय थिएन । त्यो इतिहासको विषय भइसकेको थियो । जुन राजनीतिक घटनाहरूले चक्रजीको व्यक्तित्व बनेको थियो, ती सबै विस्मृतिमा जाँदै थिए । काँग्रेस नेता र कार्यकर्ताहरू पनि प्रवासको क्रान्ति धारलाई विर्सन चाहन्थे । 

प्रवासको आकर्षक र क्रान्तिकारी देखिने चक्रदाको व्यक्तित्व खुला राजनीतिमा फिका भयो । चक्रदा कोठे राजनीतिको चिन्तनमा बढी लाग्नुभयो । यो संस्कार उहाँले प्रवासमा पाउनुभएको थियो । चक्रदामा नयाँ विचार दिने क्षमता थियो, नेतृत्वगर्ने क्षमता पनि थियो तर सङ्गठन गर्ने जाँगर थिएन । यही कमजोरीले उहाँलाई काँग्रेसको नेतृत्वदायी भूमिकामा कहिले पुर्याउन सकेन । 

चक्रदाको ज्ञान असीमिति थियो । भाषा नेपाली अङ्ग्रेजी राम्रो थियो । यस विषयमा मेरो अनौपचारिक कुरा पनि हुन्थ्यो । म कुराकानीको क्रममा उहाँलाई भन्ने गर्थें– तपाईंलाई काठमाडौंका तथाकथित इन्टेलेक्च्युअलहरूले ट्राप सिर्जना गरे र तपाईं रमाउनुभयो भनी । उहाँ स्वीकार्नु हुन्थ्यो । चक्रदा काँग्रेसको क्रान्तिकारी नेताबाट कम्फोर्ट जोनमा बसी राजनीतिक गफमा रुचि राख्नेमा रूपान्तरित हुनुभयो ।  
 

चक्रदालाई आफ्नो पार्टी राजनीति अगाडि बढाउन गाह्रो यसकारण पनि भयो, गिरिजाप्रसाद कोइराला धेरै आइडोलोजिकल गफ नगर्ने नेता थिए । चक्रजीसँग बीपीलाई जस्तो  गिरिजादाजुलाई प्रभावित गर्ने गुण कमै थियो । खुला र सत्ता राजनीतिमा उपयोगितावादी नीतिबाट काँग्रेस अगाडि बढिरहँदा चक्रदा पनि त्यही अवस्थामा हुनुहुन्थ्यो काँग्रेसमा । 

बीपीको निधनपछि चक्रदाको कोइराला परिवारसँग निकटता पनि भएन र टाढा पनि भएन । सम्बन्ध यस्तो सन्तुलनमा रह्यो  कि कोइराला परिवारले उहाँलाई धेरै निकट पनि ल्याएन र धेरै टाढा पनि राखेन । चक्रदाको पार्टीमा लगानी, बौद्धिकता, क्षमता र इतिहासलाई कोइराला नेतृत्वले रेस्पेक्ट गरिरह्यो तर पार्टी लिडरसिपको क्षमता छ र ग्रुम गर्नुपर्छ भनेर कोइराला परिवारमा सोचाइ कहिल्यै पनि आएन । चक्रदाको राजनीतिक जीवनको दुर्भाग्य नै यही हो भन्दा हुन्छ । 

पार्टीभित्र चक्रदा कमजोर भइरहँदा उहाँको अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध भने कमजोर थिएन । भारतका समाजवादी आन्दोलनका व्यक्तित्वहरूसँग सम्बन्ध चक्रदाको खुला र दरो थियो । जुन काँग्रेसका अन्य दोस्रो पुस्ताको नेताहरूको थिएन ।  

चक्रदाको जीवन दर्शन अराजकतावादी हुँदाहुदै पनि काँग्रेस पार्टीको विग्रहलाई जोड्ने काममा भने उहाँको भूमिका हुन्थ्यो । अराजकतावादीहरूले खासै जोड्ने काम गर्दैनन्, उनीहरूको धार नै भिन्नै हुन्छ । उनीहरू उच्च स्वतन्त्रतामा इन्ज्वाय गर्ने किसिमका हुन्छन् तर उहाँमा जोड्ने गुण पनि थियो । चक्रजी पनि उच्च स्वतन्त्रता चाहने व्यक्ति हुनुहुन्थ्यो, उहाँको जीवनदर्शन पनि त्यही थियो, जुन अन्त्यसम्म रह्यो ।

चक्रदा ०४८ को पहिलो आमनिर्वाचनमा पराजयपछि भारतमा राजदूत भएर बस्नु नै उहाँले सक्रिय राजनीतिबाट सुविधाको राजनीति खोजेको भान पर्न गयो । भारतको राजदूत बन्नुको साटो गिरिजाबाबुसँग मिलेर काँग्रेसको महामन्त्री बन्नतिर लाग्नुभएको भए नेपाली काँग्रेसले एउटा छुट्टै प्रतिभाशाली नेतृत्व पाउन सक्थ्यो कालान्तरमा । राजदूत पद आधी राजनीति आधी कर्मचारीतन्त्र बीच अलमलिएको हुन्छ । चक्रदा पनि अलमलिनु भयो ।  मैले धेरै पछि एक दिन साँझ उहाँसँग कुराकानी गर्दा यो विचार राखेँ । चक्रदामा “मिस्टेकको” स्वीकृति थियो । राजदूत पद राजनीतिबाट पलायनको प्रारम्भ हो भनी मान्दा पनि हुन्छ “मैले यो गल्ती गरे” चक्रदाले भनेका शब्द यिनै हुन् । 
 
चक्रदा लोकतान्त्रिक योद्धा हुँदाहुँदै पनि उनको जीवन दर्शन भनेको अराजकतावादी नै थियो ।  

२०५१ पछि काँग्रेसमा चरम गुटबन्दी आयो । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको फरक फरक गुट थियो । ती दुवै गुटको बीचमा बस्न सक्ने क्षमता र दुवै गुटलाई सङ्कट पर्दा मिलाउने मोरल र पोलिटिकल पावर चक्रजीमा थियो ।  यसको ठूलो उदाहरण हो– गोदावरी समिट । झण्डै पार्टी फुटको सँघारमा पुगेको बेला चक्रजीले भट्टराई र कोइरालालाई एकै ठाउँ राखेर सम्झौता गराउनुभयो । त्यो एउटा महत्वपूर्ण काम काँग्रेसका लागि चक्रजीले गर्नुभयो । काँग्रेसको क्राइसिसमा उहाँको सोच अरूको भन्दा छुट्टै र उच्च हुने गथ्र्यो । जसले काँग्रेसलाई मेन स्ट्रिममा जोड्ने काम गथ्र्यो । 

चक्रदाको जीवन दर्शन अराजकतावादी हुँदाहुदै पनि काँग्रेस पार्टीको विग्रहलाई जोड्ने काममा भने उहाँको भूमिका हुन्थ्यो । अराजकतावादीहरूले खासै जोड्ने काम गर्दैनन्, उनीहरूको धार नै भिन्नै हुन्छ । उनीहरू उच्च स्वतन्त्रतामा इन्ज्वाय गर्ने किसिमका हुन्छन् तर उहाँमा जोड्ने गुण पनि थियो । चक्रजी पनि उच्च स्वतन्त्रता चाहने व्यक्ति हुनुहुन्थ्यो, उहाँको जीवनदर्शन पनि त्यही थियो, जुन अन्त्यसम्म रह्यो ।

चक्रदा पछिल्लो समय बीपीलाई रिभिजिट गर्नुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो । त्यसमा उहाँको बहस भीमबहादुर तामाङको डेराबाट सुरु भयो । त्यसमा म, चक्रजी र नरहरीजी पनि थियौँ । बीपीलाई “रिभिजिट रिडिस्कभरी” गर्ने कुरामा यसरी लाग्यौँ कि बीपी राष्ट्रिय मेलमिलापको मात्रै पर्यायवाची होइन र बीपीको राजासँग घाँटी जोडिएको मात्रै हो कि जनतासँग पनि जोडिएको हो भन्ने कुराबाट हाम्रो बहस सुरु भयो । यो विषय हामीले धेरै किसिमले उठायौँ । सन् २०१४ मा बीपीको सतवार्षिकी मनाउने गरी त्यसको ४–५ वर्षअघिबाट बीपीलाई रि–डिस्कभरी गर्नुपर्छ भनेर चक्रदाले अभियान थाल्नुभएको थियो ।  त्यो एक क्षण र एक कालको घटना थियो । काँग्रेस पार्टी त्यस्तो समपर्णवादी पार्टी पनि थिएन, घाँटी जोडिएको जनता र बीपीकै हो ।

चक्रदाको व्यक्तिगत जीवन हाइप्रोफाइलको थियो । तर सोचाइ डाउन टु द पिपल नै थियो । काँग्रेसको र देशको अस्थिर राजनीतिको कालक्रममा चक्रदा एक पटक प्रमको समेत उम्मेदवार भएर देखापर्नु भयो । तर पार्टीभित्रको गुट र उपगुटको लडाइँमा चक्रदाले हार्नुभयो र गिरिजाप्रसादसँग असहमत भएर आफ्नो उम्मेदवारी ड्रप गर्नुभयो ।  

चक्रदाले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा हार्नुभयो पोखरामा । त्यो हार लज्जास्पद थियो । पार्टीसँग चक्रदाको लिङ्क नभएको त्यो एउटा उदाहरण थियो । पार्टीको कुनै पनि गुटमा नपरेको उदाहरण पनि थियो चक्रदाको पोखरा अधिवेशनमा । त्यसबेला उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । त्यसबेलाका मिडिया र नेपाली समाजले अब्बल परराष्ट्र मन्त्री बाँस्तोला भनेर चिन्थे ।

उहाँको स्वभाव के देखिन्थ्यो भने पार्टी स्टक्चरमा खासै रुचि थिएन । यही इगोमा पछि उहाँले गिरिजाबाबु विरुद्ध भीमबहादुर तामाङलाई सभापतिमा उम्मेदवार बनाउनुभयो । 

२०५६ को पोखरा महाधिवेशनपछि मनोवैज्ञानिक, सामाजिक र राजनीतिक रूपले गिरिजाबाबु र चक्रजीको दूरी बढ्न पुग्यो । त्यो दूरी नजिक ल्याउन धेरैले काम गरे । तर पनि आउने ठाउँ थिएन । चक्रजी धेरै नै फ्रस्टेड हुनुभयो । समय यसरी नै वित्दै गयो । मुलुकमा माओवादी सशस्त्र द्वन्द्व चर्किंदै थियो । त्यही बेला होलेरी काण्ड भयो । त्यो काण्डपछि फेरि चक्रदालाई अवसर आयो । दरबारले सत्ता लिएपछि दलहरू निरिहजस्तै बनेका थिए । त्यसैक्रममा चक्रजी माओवादीसँग वार्ताकारको रूपमा अगाडि आउनुभयो । त्यसको पनि एउटा लामो कथा छ ।

कहिले इगो हुन्छ, कहिले रियाक्सन हुन्छ, कहिले हाइली रेभ्युलसनरी हुन्छ । कहिले हाइली रुलर हुन खोज्छ । यी सबै पर्सनालिटी चक्रदामा थियो । चक्रदा एउटा पूर्ण राजनीतिक प्राणी मात्र थिएनन्, पूर्ण व्यक्ति नै थिए । चक्रदा नेपालको लोकतान्त्रिक आन्दोलनमा कहिले नबिर्सने व्यक्ति हुन्, उनी जब जब काँग्रेस र देशमा सङ्कट आउँछ उनको स्मरण हुनेछ ।

माओवादीका केही म्यासेजहरू मलाई आइरहन्थे । मलाई आउने म्यासेज म र कृष्ण खनाल माओवादीका नेताहरूसँग बसेर छलफल गथ्र्यौं । त्यो म्यासेज मैले च्यानलाइज गरेँ । म र कृष्ण खनालसँगै एकाध महिनापछि नरहरी आचार्य पनि हामीसँग जोडिनुभयो । हामी तिनै जना के विश्वस्थ थियौ भने गिरीप्रसाद कोइराला आफ्नो पारिवारिक मान्छेविना हामी तीनजनाले गरेको कामलाई इन्डोर्स गर्नुहुन्न । त्यसकारण कोइराला परिवारमा पनि हाइट भएको सदस्य खोजी गर्न हामी लाग्यौं, जसले भोलि गिरिजाबाबुलाई विश्वास दिलाउन सकोस् । हामीबीचको त्यो सल्लाहबाट चक्रजीलाई हामीले तान्यौँ । 

त्यसपछि माओवादीसँगको वार्तामा चक्र बाँस्तोला ज्वाइन गर्न पुग्नुभयो र वार्ता चलिरहेकै थियो । यसक्रममा चक्र बाँस्तोलासँग गिरीजाबाबु इन्डिया र हङकङ जानुभयो । समस्या कहाँ नेर पर्यो भने गिरिजा बाबुको चक्र बाँस्तोला “एस म्यान” हुन रुचाउनु भएन । चक्रदा माओवादीसँग वार्ता अगाडि बढाउने राइट म्यान थिए, यस म्यान थिएनन् । चक्रदाको स्वभाव नै त्यस्तै थियो । तर फस्ट राउन्डमा चक्रजीले माओवादीसँगको वार्तामा भूमिका खेल्नुभयो, सेकेन्ड राउन्डमा चक्रजीको व्यक्तित्व भूराजनीति र पार्टीमा पनि बढ्न पुग्यो । त्योबीचमा उहाँ चाइना पनि जानुभएको थियो । जसले काँग्रेस पार्टीमा चक्रजी उदाउँदो सूर्यजस्तो बन्न पुग्नुभयो । शैलजाजीको ग्राफ घटिसकेको थियो, सुशील कोइराला ‘नो हेयर’ कुनै क्षमतामा हुनुहुन्थेन । शेरबहादुर देउवाको पनि वार्तामा बस्ने र टुङ्ग्याउने क्षमतै थिएन । तर चक्रजीमा तीनवटै कुरा थिए । भूराजनीति बुझेको, बौद्धिकता भएको, काँग्रेसभित्र लगानी भएको, इन्डियासँग कनेक्सन  पनि भएको र पोलिटिकल फिलोसफी पनि जान्ने  । यसरी चक्रँदा काँग्रेसभित्र नयाँ अवतारमा उदाउनुभयो । प्रवासको राजनीति पछि देशभित्र पहिलो पल्ट चक्रदाले राष्ट्रिय भूमिकाको नेतृत्व गर्दै हुनुहुन्थ्यो ।  

माओवादीसँगको वार्ताको क्रम दोस्रो चरणमा पुग्दा नपुग्दै चक्र बाँस्तोलाको महत्वकाङ्क्षा र भारत र चक्रदाको सामीप्यताले पार्टी नेतृत्वमा शंका भयो ।  चक्रदासँग नेतृत्व त्यो बेलासम्म भर पर्थो । जबसम्म नेतृत्वलाई खतरा अनुभव भएन, त्यसपछि त्यो क्रममा चक्रजी साइड लाग्नुभयो ।

अन्त्यमा चक्रदा आज हामीबीच रहनुभएन । तर उहाँका प्रेरणाबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा लाग्ने पुस्ता आज पनि काँग्रेसमा सकृय छ । त्यो पुस्ताले  रेभुलस्नरी चक्र बाँस्तोला, अत्यन्तै कम्फर्ट जोनमा बसेर बुद्धिविलास गर्न रुचाउने चक्र बाँस्तोला नै पार्टी एकता र राष्ट्रिय संकटमा सबैलाई उपयोगी हुने चक्रदा भनी स्मरण गर्नेछ । 

त्यसैले समग्रमा राजनीतिक रूपमा राजनीतिक प्राणी यस्तै हुन्छन्, चक्रदा जस्तो । कहिले इगो हुन्छ, कहिले रियाक्सन हुन्छ, कहिले हाइली रेभ्युलसनरी हुन्छ । कहिले हाइली रुलर हुन खोज्छ । यी सबै पर्सनालिटी चक्रदामा थियो । चक्रदा एउटा पूर्ण राजनीतिक प्राणी मात्र थिएनन्, पूर्ण व्यक्ति नै थिए । चक्रदा नेपालको लोकतान्त्रिक आन्दोलनमा कहिले नबिर्सने व्यक्ति हुन्, उनी जब जब काँग्रेस र देशमा सङ्कट आउँछ उनको स्मरण हुनेछ । श्रद्धा सुमन चक्रदाप्रति प्रकट गर्दै उहाँको आत्माको शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु । मैले चिनेको र बुझेको चक्रदा यस्तै थिए, अब रहेनन् ।  
फणिन्द्र नेपालसँगको कुराकानीमा आधारित
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरञ्जन आचार्य
पुरञ्जन आचार्य
लेखकबाट थप