पाँच तारे होटलमा जस्तै सेवा र सुविधा भएको जेल, जहाँ शानले बस्छन् कैदी
एजेन्सी – जेलको नाम लिने वित्तिकै सबैको दिमागमा अँध्यारो, फोहोर सडेगलेको खानेकुरा भएको फलामको डन्डीले बारेको सानो कोठाको दृश्य आउँछ । तर, तपाईहरुलाई आश्चर्य लाग्न सक्छ, विश्वमा यस्ता जेल पनि छन् जहाँ पाँच तारे होटलमा पाइने सेवा र सुविधाहरु उपलब्ध छ । आरामदायी कोठा, फिटनेस सेन्टर, स्पा तथा निजी कोठा र भिडियो गेम खेल्ने जस्ता सुविधाहरु समेत दिइएको छ ।
कैदीलाई निजी कोठा
अष्ट्रियामा रहेको यो जेलको नाम ‘जस्टिस सेन्टर लियोबेन’ हो । जेलमा पाँच तारे होटलमा हुने हरेक सेवा र सुविधा उपलब्ध छन् । २०५ जना कैदी राखिएको यो जेलमा सानो भन्दा सानो सुविधा पनि उपलब्ध छ त्यसैले त्यहाँ रहेका कैदीलाई थाहा नै हुँदैन कि उनीहरु जेलमा छन् वा पाँच तारे होटलमा ।
साथै, यो जेलमा इन्डोर खेलिने सबैप्रकारका खेलहरु पनि खेल्ने सुविधा छ । हरेक कैदीलाई निजी कोठा दिइएको छ । भने प्रत्येक कैदीलाई टीवी, फ्रिज, ल्यापटप र फोनसमेत प्रयोग गर्न छुट दिइएको छ ।
आर्किटेक्ट जोसेफ होहेन्सिन्नद्वारा डिजाइन गरिएको यो जेल अष्ट्रियाको पहाडी क्षेत्र लियोबनमा अवस्थित छ । यो जेल सन् २००५ बाट सुरु भएको थियो ।
जेलमा कैदीहरु १३ जनासम्मको समुह बनाएर बस्न छुट दिइएको छ । जेलको हरेक सेक्सनको बाहिर घुम्नको लागि खुल्ला ठाउँ छ । कैदीहरु ताजा हावा लिँदै साँझपख आरामले हिँडडुल गर्न सक्छन् ।
जेलसँगै अदालतसम्बन्धि काम हुने भएकाले यो जेल आमजनताका लागि पनि खुल्ला छ । जेल परिसरमा शिलालेख राखिएको छ । जसमा ‘सबै मानिस स्वतन्त्र जन्मिएका हुन्छन् र स्वतन्त्रता सबैको अधिकार र गरिमा हो ।’ लेखिएको छ ।