उर्जामन्त्री पुनद्वारा युएईका नेपाली समुदायसँग भेटघाट,नेपालमा लगानी गर्न आव्हान
-विनोद श्रेष्ठ
युएई– उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ ले युएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरेका छन् । वर्ल्ड इनर्जी कंग्रेसको २४ औँ विश्व सम्मेलनमा सहभागी हुन युएई आएका मन्त्री पुनले गत मंगलवार नेपाली राजदूतावास आबुधावीमा नेपाली समूदायका प्रतिनिधिहरूसँग भेटघाट र छलफल गरेका हुन् ।
छलफलमा उनले प्रवासी नेपालीहरूलाई स्वदेशमा नै लगानी गर्न अनुरोध गरे। मन्त्री पुनले उर्जा क्षेत्रमा नेपालमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न समेत सबैलाई आग्रह गरे।
उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जामन्त्रालयले रेमिट हाईड्रो सुरुवात गर्ने तयारी गरेको जानकारी दिए। जनतालाई जलविद्युतसँग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम ‘नेपालको पानी, जनताको लगानी’ समेत सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले १८ महिनामा लाइसेन्स लिएर काम नगर्ने १ सय ९ वटा जलविद्युत कम्पनीको लाईसेन्स खारेज गरेको समेत बताए। मन्त्री पुनले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताए । ‘हाम्रो विचार,आस्था र सोच फरक हुन भएपनि देशको विकास र समृद्धि सबै विचारका नागरिकलाई चाहिएको छ’ उनले भने ।
सरकारले भ्रमण वर्ष २०२० सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री पुनले २० लाख पर्यटक भित्र्याउन सरकारले पुर्वाधारको तयारी गरिरहेकोले सबैलाई सहयोग गर्न आग्रह समेत गरे । युएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा सबैलाई धन्यवाद दिँदै मन्त्री पुनले यहाँ सिकेको ज्ञान र अनुभव लिएर स्वदेश फर्कन आग्रह समेत गरे।
विदेशमा रहेको नेपाली राजदूतवास प्रबासी नेपाली नागरिकहरूको अभिभावक भएकोले सुरक्षा र सहयोगमा ध्यान पुर्याउनुपर्नेमा समेत उनले जोड दिए । कार्यक्रममा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले कार्यक्रममा उपस्थित सहभागिताले नेपाल प्रतिको माया र लगानीबारे प्रवासी नेपालीहरूले देखाएको चासोको खुलेर प्रशंसा गरे। उनले ८० प्रतिशत रेमिट्यान्स युएई लगायत खाडी मुलुकबाट जाने भएकाले उनीहरूको सम्मान हुनुपर्ने बताए।
कार्यक्रममा उपस्थित नेपाली समुदायका प्रतिनिधिहरुले नेपालमा लगानी गर्ने बिषयमा आ–आफ्ना भनाइहरु राखेका थिए। वर्ल्ड इनर्जी कंग्रेसको २४ औँ विश्व सम्मेलन गत सोमबारदेखि आबुधाबीको प्रदर्शनी सेन्टरमा शुरू भएको थियो। उक्त सम्मेलनमा ७० देशका ऊर्जा मन्त्रीहरुको सहभागिता रहेको छ। मन्त्री पुनसहित ५ सदस्यीय टोली बिहिवार नेपाल फर्कने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल