मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक

शनिबार, ०४ असोज २०७६, १७ : २४
शनिबार, ०४ असोज २०७६

काठमाडौं –६ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती सफाइ महाअभियानको ३३२ औँ हप्तामा त्रिपुरेश्वर र गुसिङ्गाल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल नदी संरक्षण संस्थाको सक्रियतामा अमेरिका, क्यानडा र बङ्गलादेशका नागरिक सहभागी भएका हुन् । 

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपालका नदी नाला सफा बनाउन अभियान चलिरहेको छ भन्ने सन्देश प्रवाह गर्न विदेशी नागरिकलाई सहभागी गराइएको संस्थाका अध्यक्ष मेघ आलेले बताए । सहभागी विदेशी नागरिकले केही वर्षअघि चर्चा गरिएजस्तो नदीमा फोहर नभेटिएकाले सफाइ अभियानलाई तीव्रता दिइ नदीमा स्वच्छ पानी प्रवाह गरउनुपर्ने बताएका थिए । उाीहरुले काठमाडौँ स्वच्छ र सफा बन्दै गएको सन्देश लिएर जाने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष आलेले सुनाए ।
 
सफाइमा २० संस्थाका ३५० भन्दाबढी अभियानकर्मी सहभागी भएका अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । आजको सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्वआयोजना प्रमुख आशीष घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश महर्जनको पनि सक्रियता थियो । 
 
तीनवटै सुरक्षा निकायका अधिकारीको सफाइमा विशेष सक्रियता थियो । मुहानदेखि नै वाग्मती सफाइ अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २९४औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ग¥यो । 

पितृपक्षका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान एवं पिण्डदान गर्ने भक्तजनका कारणले जम्मा भएको फोहर व्यवस्थापन गरिएको थियो ।
 
कुहिने फोहर डस्टविनमा राखी नकुहिने फोहर व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । रुद्रमती सफाइको २८६औँ हप्तामा सेतोपुलबाट देवीनगर पुलसम्म सफाइ गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। १० को समेत संस्थागत सहभागिता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले सुनाउनुभयो ।

देवीनगर क्षेत्रमा धेरै फोहर भएपछि वडा अध्यक्ष रामकुमार केसीले महिला सदस्यको संयोजकत्वमा सफाइ समिति नै गठन गरी अभियानमा परिचालन गर्नुभएको छ । आजको सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा ५०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

विष्णुमती सफाइ अभियानको २५९ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं। १० क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सिद्धेश्वर र नमूनानगर टोल सुधार समिति, सरसफाइ प्रेमी स्थानीयवासी, वडाध्यक्ष अमृत थापा लगायतको सक्रियता रहेको सफाइ संयोजक शोभाकान्त पाण्डेले बताए। 
 
तिलगङ्गास्थित वाग्मती नदी सफाइको २३२औँ हप्तामा त्यस क्षेत्रमा सफाइका साथै जनचेतनामूलक अभियान पनि सञ्चालन गरियो । मनोहरा सफाइको १३१औँ हप्तामा महानगरपालिका वडा नं ३२ कोटेश्वरस्थित शान्ति टोल क्षेत्रमा सफाइ गरी तीन टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको थियो । 

चक्रपथ सफाइ अभियानको १२९औँ हप्तामा गोङ्गबुबाट मानव सेवा आश्रमसम्मको सडक क्षेत्रमा सफाइ, जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । सफाइमा टोखा नगरपालिका वडा नं ९ र १० का अध्यक्ष क्रमशः केपी नेपाल र मधुसुदन पाण्डे लगायतका अभियानकर्मीको सक्रियता थियो । 
 
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ अभियानले हाल देशव्यापीस्वरुप ग्रहण गरेको छ । हाल देशका १०५ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । यी सबै अभियान वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई शुरु भएका हुन् । यसैक्रममा आज चक्रपथको पश्चिम खण्ड बाफल, मीनभवनस्थित आलोकनगर, ललितपुरको गोदावरी खोला, वाग्मतीको सुन्दरीघाट, गुह्येश्वरीलगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप