शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइजीपी सर्वेन्द्र खनालबाट वडादसैं मौलो पूजा सम्पन्न

सोमबार, २० असोज २०७६, १२ : २९
सोमबार, २० असोज २०७६

काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । 

पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे ।


सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।
उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । 

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । 

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र  चैते दसैंमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप