शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

करणको अलराउण्ड प्रदर्शन, नेपालद्वारा नेदरल्याण्ड पराजित

सोमबार, २० असोज २०७६, १५ : ०८
सोमबार, २० असोज २०७६

काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

करणले मात्र १४ बलमा ३१ रन बनाएपछि नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पछ्यायो ।

करणले यसक्रममा १ चौका र तीन छक्का हिर्काए ।

त्यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिए भने विनोद भण्डारीले २६ रन बनाए ।

यसअघि करण र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको थियो ।

नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।

खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।

नेपालका लागि ललित राजवंशीले १ विकेट लिए ।

दुई खेलबाट ४ अंकसहित नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

यसअघि पहिलो खेलमा नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप