शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आलम प्रकरण : सरकारको अर्का साक्षी पनि ‘होस्टाइल’ भएपछि प्रहरीको सुरक्षामा

आफूलाई आलमपक्षले ज्यान मार्ने धम्की दिएर बयान फेर्न लगाएको स्वीकार
सोमबार, २५ कात्तिक २०७६, १८ : २०
सोमबार, २५ कात्तिक २०७६

रौतहट बम बिस्फोट घटनामा संलग्न रहेका भनेर अदालतमा मुद्दा दायर भइ थुनछेक बहस चलिरहेको बेला अर्का सरकारी साक्षी पनि होस्टाइल भएका छन् ।

सरकारको तर्फबाट प्रमाण र साक्षीका रुपमा पेस गरिएका भारत सीतामढीका गौरीशंकर राम चमारले बयान फेर्ने गरी निवेदन दिएका छन् । सोमबार आलमविरुद्ध थुनछेक बहस चलिरहँदा आलमपक्षकै वकिलको साथमा जिल्ला अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले चमारलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि आलमका वकिलले नै चमारको नामबाट हस्ताक्षरित भएको निवेदन जिल्ला अदालतमा बुझाएका थिए ।

निवेदनमा चमारले आफू बम बिस्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको बताएका छन् । चमारले सीतामढीकै एक निजी अस्पतालबाट त्यतिबेलाको कागजात भन्दै नक्कली कागजात पनि पेश गरेका छन् ।

रौतहट प्रहरीका अनुसार चमारले पहिले उपचार गराएको अस्पताल र हाल कागजात ल्याएको अस्पताल भने फरक परेको छ ।


प्रहरी नियन्त्रणमा पुगेपछि चमारले आफूलाई आलमपक्षका व्यक्तिले ज्यान मार्ने धम्की दिँदै जबरजस्ती नेपाल ल्याएर पहिलेको आफ्नो किटानी जाहेरी विरुद्ध नै बयान फेर्न लगाएको बताएका छन् ।

हाल प्रहरी सुरक्षामा रहेका चमारले आफू बम विस्फोटमै परी घाइते भएको भएपनि आलमपक्षले आफू र आफ्नो परिवारको ज्यान मार्ने धम्की दिएर आफूलाई बयान फेर्न बाध्य बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षाको मागसमेत गरेका छन् ।

अहिले सरकारी साक्षी चमारलाई रौतहट प्रहरीले सुरक्षा दिएर राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप