केन्द्रीय संस्करण

आर्थिक रूपान्तरणका लागि प्रत्येक स्थानीय तहमा उद्योग–ग्राम अत्यावश्यक : अध्यक्ष गिरी (अन्तर्वार्ता)

पार्टीका नेता कार्यकर्तालाई चन्दा दिन नसक्दा साना उद्योग ओझेलमा

person explore access_timeपुस २, २०७६ chat_bubble_outline0

काठमाडौँ । यतिखेर देश तीव्र आर्थिक समृद्धिको पथमा छ । लामो समयसम्मको अस्थिर राजनीतिक परिपाटीबाट गुज्रिएको मुलुकले ५ वर्षे स्थायी सरकार पाएसँगै विकासले गति लिने अपेक्षा गरिएको छ । देश विकास र आर्थिक समृद्धिका संवाहक भौतिक पूर्वाधार विकासदेखि उद्योग, कल–कारखानाको विकास विस्तारले समेत तीव्रता पाउने अपेक्षा गरिएको छ । 

त्यसो त कृषि तथा औद्योगिक क्रान्तिबाटै देशको विकास सम्भव भएको भन्दै सो क्षेत्रको वृद्धि विकास एवम् विस्तारमा सरकार लागेको छ । तर औद्योगीकरणको सन्दर्भमा सरकार रणनीतिमा चुकेको लघु घरेलु तथा साना उद्योगीहरुको भनाइ छ । औद्योगिक क्षेत्रमा करिब ९० प्रतिशत योगदान रहेको कृषि तथा साना लघु उद्योगहरु छायामा परिरहेको व्यवसायीहरुको भनाइ छ । 

एकातिर सरकारले कृषि तथा साना उद्योगलाई प्रोत्साहन गर्ने, सहुलियतपूर्ण कर्जा प्रदान गरेर युवा वर्गलाई समेत सो क्षेत्रमा आकर्षित गर्ने र उत्पादकत्व बढाउने भनिरहँदा अर्कोतर्फ भने व्यवसायीहरु रुष्ट बन्नु पक्कै राम्रो सङ्केत होइन । यसो हुनुमा सरकार, सरकारी नीति नियम र व्यवसायीहरु बीचमा कहीँ न कहीँ तालमेल मिलिरहेको छैन । आखिर समस्या कहाँ, केमा हो त ? यसै विषयमा केन्द्रित रहेर लघु, घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई) का अध्यक्ष श्याम गिरीसँग गरिएको औद्योगिक वार्ता :

सरकारले आर्थिक रूपान्तरणका लागि औद्योगिक विकासमा जोड दिइरहेको छ । ठूला उद्योग मात्र होइन साना उद्योग समेत सरकारको प्राथमिकतामा परेका छन् । तर तपाईंहरु घरेलु तथा साना उद्योगहरु छायामा परे, सरकारको प्राथमिकतामा परेन भन्दै हुनुहुन्छ । समस्या कहाँ हो ?
हो, सरकारले आर्थिक रूपान्तरणको नारा लिएको छ । तर काम भने विपरीत छ । उद्योग व्यवसायसँग राजनीतिक सम्बन्ध हुँदो रहेछ । ठूला व्यवसायीहरुले राजनीतिक दललाई र तिनका नेता–कार्यकर्तालाई आर्थिकदेखि विविध सहयोग गरे नजरमा परिने रहेछ । नत्र त ओझेलमा । तर साना साना उद्योगहरुले त्यस्तो सहयोग गर्न सक्दैनन् । गाउँ गाउँमा भएका साना लघु घरेलु उद्योगहरुले नेताहरुलाई चन्दा दिँदैनन् । कारण साना उद्योगहरु आफू सर्भाइभ (बाँच्न) वा व्यवसायमै टिकिराख्न मुस्किल परिरहेको हुन्छ । तर हाम्रा नेताहरुले यस्तो कुरा बुझ्दैनन् । 

नेतृत्वकर्ताका हिसाबले हामीले पनि साना घरेलु उद्योगहरुबाट पैसा उठाएर नेता कार्यकर्तालाई पाल्ने भन्ने हुँदैन । बरु थोर बहुत हाम्रोतर्फबाट सहयोग गर्छौं । यसोगर्दा नेता तथा नेतृत्व तहको नजरमा परिँदो रैनछ । जसले हाम्रो औद्योगिक क्षेत्र नै ओझेलमा परिरहेको छ । अर्को कुरा जबसम्म नेतृत्व तहले मुलुकको आर्थिक रूपान्तरणमा साना तथा लघु घरेलु उद्योगहरुले महत्त्वपूर्ण योगदान रहन्छ भन्ने बुझ्दैनन्, यो समस्या आइनै रहन्छ । 

मुलुकले अहिलेसम्मकै विज्ञ र अनुभवी अर्थमन्त्री पाएको भनिराखेको छ । देशको आर्थिक रूपान्तरणमा उनको नेतृत्व फलदायी हुने प्रक्षेपणसमेत गरिएको छ भने तपाईं व्यवसायीहरु चाहिँ उनको विरोधमा उत्रिनुको कारण के ?
मैले थाहा पाएसम्म अहिलेसम्मकै देशलाई बुझेका र साँच्चै देशको आर्थिक रूपान्तरणमा पहल गर्ने नेता भरतमोहन अधिकारी नै हुन् । उनले देशको आर्थिक रूपान्तरणमा लघु, घरेलु तथा साना उद्योगको योगदान महत्त्वपूर्ण रहन्छ भन्ने कुरा राम्रोसँग बुझेका थिए । र कार्यान्वयनमा पनि उनी तदारुकता देखाउँथे । तर अहिलेका हाम्रा नेतृत्वकर्ताहरुले त्यस्तो कुनै पहल गरेको देखिँदैन । भाषणमा ठिक्क र व्यवहारमा दिक्क बनाउँछन् । 

मैले कैयौँ पटक अर्थमन्त्रीसँग साना उद्योगको वृद्धि विकास र उत्थानको कुरा गरेको छु । तर उनको उत्तर सकारात्मक आउँछ तर काम हुँदैन । आर्थिक रूपान्तरणका लागि ट्याक्स सङ्कलन मात्र ठूलो कुरा होइन । देशभित्र पर्याप्त कल–कारखानाको वृद्धि विकास, उत्पादन र निर्याततर्फ सरकारले ध्यान दिनुपर्छ ।

अझ यो ध्यान हामी जस्ता देशका साना तथा मझौला उद्योगहरुलाई दिनुपर्ने हुन्छ । किनकी अन्तर्राष्ट्रिय बजारमा गरिने निर्यातको अधिकतम ८० प्रतिशतभन्दा बढी निर्यात यिनै साना तथा मझौला उद्योगहरुकै उत्पादन हुन् । तर यस्ता उद्योगहरुप्रति सरकार र सम्बन्धित निकायको ध्यानै छैन ।

नाम त नभनौँ अहिलेका हाम्रा जान्ने बुझ्ने र अनुभवी भनिएका नेतृत्वले आफ्नै धरातल बुझ्दैनन् । देशको वास्तविक धरातल नै बुझ्ने नेतृत्वबाट आर्थिक समृद्धि कसरी सोच्ने ? देशको आर्थिक विकासमा कुन क्षेत्रको योगदान रहन्छ भन्ने ज्ञानसमेत राख्दैनन् भने, अनि कसरी देशले आर्थिक समृद्धि पाओस् ? भाषणमा ठूल–ठूला कुरा गर्ने र व्यावहारिकत कार्यान्वयनको पाटो कमजोर हुने हो भने, यस्तो समस्या आइनै रहन्छ ।

सरकारले साना तथा मझौला घरेलु उद्योगहरुको प्रोत्सानकै लागि भनेर विविध शीर्षकमा सफ्सिडाइज (सहुलियतपूर्ण) व्यावसायिक कर्जाको नीति लिएको छ । यसमा चाहिँ के भन्नु हुन्छ  ?
सरकारले व्यावसायिक कर्जा भनेर विविध शीर्षकमा सफ्सिडाइज कर्जाको व्यवस्था गरेको छ । तर सबै उद्यमी र वास्तविक उद्यमीहरुले पाउन सकिरहेको अवस्था छैन । कर्जामा सरकारले अनुदान दिए पनि बैङ्कहरुले साना, घरेलु उद्योगहरुलाई कर्जा प्रवाह गर्नै चाहँदैनन् । भन्नलाई बिना धितो कर्जा भनिएको छ तर त्यसो हुन सकिरहेको छैन । बैङ्कहरुले बिना धितो कर्जा प्रवाह नै गर्दैनन् । व्यावहारिकत त्यो कार्यान्वयनमा उत्तिकै जटिल पनि छ । व्यवसायीहरुले त्यस्ते कर्जाबाट लाभ लिनै सकिरहेका छैनन् । चर्को ब्याजमा व्यवसाय गर्न सक्ने अवस्था छैन । फेरि हाम्रो बजार र व्यवसायको सुरक्षाको प्रत्याभूति पनि कहाँ छ र ? 

कुरो कहाँनिर हो भने, व्यवसायको प्राथमिकता, निरन्तरता र प्रभावकारिताको हो । देशको आत्मनिर्भरताको मेरुदण्ड भने लघु, घरेलु तथा साना उद्योगहरु नै हुन् । यही क्षेत्रबाट हो देशको अर्थतन्त्र मजबुद र समृद्ध हुने भनेको । यही क्षेत्र कमजोर भए मुलुकको अर्थतन्त्र नै कमजोर बन्छ । अहिलेको समस्या यसैमा हो । देशमै उत्पादन गर्न सकिने वस्तुहरु समेत हामी बाहिरबाट आयात गरिरहेका छौँ । धान, चामल, लसुन प्याज, आलुदेखि ठूल–ठूला मेसिनरी सामानहरु बाहिरबाटै आयात भइरहेका छन् । यसले देशको अर्थतन्त्र कमजोर भइरहेको छ । यसको एउटै विकल्प हो, स्वदेशी उद्योगहरुको प्रोत्साहन र उत्पादनमा वृद्धि गर्नु । 

हालको अवस्थामा लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या कति छन् । तिनको अवस्था के छ ?
अहिलेको उद्योग विभागको तथ्याङ्क हेर्दा गत वर्षसम्म दर्ता भएका उद्योगहरुको सङ्ख्या ४ लाख १८ हजार छन् र यसमा नवीकरण नभएका उद्योगहरु करिब २ लाख ९९ हजारको सङ्ख्यामा छन् । यो सङ्ख्या लघु, घरेलु तथा साना उद्योगहरुको तथ्याङ्क मात्र हो । यी बाहेक विभागले मझौला र ठूला उद्योगहरुको छुट्टै तथ्याङ्क राख्ने गर्छ । यस्ता उद्योगहरु छ हजारभन्दा बढी छन् ।

लघु, घरेलु तथा साना उद्योगहरुलाई मात्र हेर्दा झण्डै ५ लाख घर परिवार यसै क्षेत्रमा आश्रित रहेको हाम्रो अनुसन्धानले देखाएको छ । यसरी हेदा प्रत्यक्ष अप्रत्यक्ष क्षेत्रमा यस्ता उद्योगको सङ्ख्या ५ लाख माथि क्रियाशील रहेको हाम्रो बुझाइ हो । विभागकै तथ्याङ्कलाई हेर्दा पनि करिब ९० प्रतिशतको हारहारीमा लघु, घरेलु तथा साना उद्योगहरुको प्रतिनिधित्व देखिन्छ ।

अहिलेको उद्योग क्षेत्रको वास्तविक समस्या के हो ? लघु, घरेलु तथा साना उद्योगहरुको वृद्धि विकासका चुनौतीहरु केके हुन् र यसमा सकारी पक्षबाट कस्तो खालको पहलको अपेक्षा गर्नुहुन्छ ?
अहिले औद्योगिक क्षेत्रको मुख्य समस्याको विषय निरन्तरताको हो । टिकाउको हो र पुस्ता हस्तान्तरणको हो । ठूला र पुँजी भएका उद्योगहरुका लागि त यो समस्या छैन । तर हामी जस्ता साना र मध्यम स्तरका उद्योगहरुका लागि यो विषय चुनौती बनेर उभिएको छ ।

पहिलो कुरा त सरकारी नीतिकै कारण यो क्षेत्र धरासयी बनिरहेको छ । अर्कोतर्फ लघु घरेलु तथा साना उद्योगमा भविष्य नदेखेर व्यवसायी यो क्षेत्र नै छाडेर पलायन हुने अवस्था आएको छ । आज उद्यमीका छोरा उद्यमी बन्न सकिरहेका छैनन् । कारण यो क्षेत्रमा भविष्य नै देखिँदैन भने किन दोस्रो पुस्ताले बाबु बाजेको पेसा अँगाल्ने ? 
कृषि, हस्तकला लगायत जोखिमपूर्ण क्षेत्रहरुमा यो समस्या आज ठूलो चुनौती बनिरहेको छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्ने देख्छु । 

यदि सरकारले देशको अर्थतन्त्र सुधार्ने नै हो भने, देशभित्रका सम्पूर्ण लघु, घरेलु तथा साना उद्योग, व्यवसायीहरुलाई उचित वातावरण दिई प्रोत्साहन गर्नुपर्छ । यसका लागि सरकारले अभियान नै चलाउनुपर्ने हुन्छ । यदि साच्चै देशमा आर्थिक रूपान्तरण चाहने हो भने प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग–ग्राम स्थापना गर्नु आवश्यक छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.