केन्द्रीय संस्करण

पात्रहरू (कविता )

person explore access_timeपुस २६, २०७६ chat_bubble_outline5

-पिपला ढुङ्गाना

प्रेम आह्वान र स्मृति
अगणित सम्झनाहरुले
रुवाइदिन्छ कतिबेला
जब वर्षौं पहिले भेटिएकाहरु
गुमनाम हुन्छन् यादको अदालतमा
ठ्याक्कै उसैबेला
अत्याउने गरी आइदिन्छ
चार निमेषका लागि भेटिएका
पात्रहरूको याद
समयको नियम मिथ्या लाग्ने गरेर ।

प्रिय पात्र
यो ठीक उही समय हो

म तिमीलाई नमज्जाले
सम्झना गरिरहेको छु ।
सम्झनुको विकल्प पनि छैन र
बिर्सनुपर्ने खास कारण पनि

खास बाडुल्कीको नियम
लागू हुन्छ भने
तिमी नरोकिएरै
हिकहिक गर्दै हुनुपर्छ यतिबेला

मलाई त सम्झियौ पनि कसरी भनौँ र
त्यो युगदेखि यो युगसम्ममा
मलाई झुक्किएर पनि बाडुल्की लागेको छैन ।
लोभ नगरी पठाइदेऊ
अलिकति सम्झना यता पनि
ताकि मलाई हिक्हिकाउन पुगोस्

रुमानी बेगमा
सम्झनाका लहरहरुसँगै
समय, मान्छे र मान्छे भित्रको मन बीचको
विचित्रको लडाइँ चल्दैछ
एकाङ्कीको रङ्गमञ्चमा
र म गरिरहेछु अभिनय
नअलमलिएरै
तिम्रो फुर्सद मिल्यो भने
आउनु तिमी पनि
जो मेरा लागि राहत बन्नेछ ।

प्रिय पात्र,
तिमीलाई याद गरेपछि
मात्रै हेक्का आयो आज
वर्षौं भएछ
मैले धरातललाई याद नगरेको
त्यो पारिको क्षितिज त
बिरानो छ उसै पनि
आकाश त्यसै पनि टाढा भाग्छ
मबाट छुइने डर बोकेर
मैले धरातललाई बिर्सेको दिनपछि
आजसम्म आफ्नो धरातल बिर्सेको छैन
क्षितिजलाई पनि उसै दिन भुलिदिएँ
जुन दिन टुट्यो भ्रम उसको काँध
आकाश पुग्ने अन्तिम बिन्दु हो भन्ने

तर
तिमीलाई म केवल
पूजाका लागि याद गर्नेछु
जीवनको त्यो चार निमेष
कसैको जीवन बन्छ भनेर
कुन मनले कल्पिन्छौ र तिमी
तिम्रो कल्पनाभन्दा पर, त्यो पुग्न नसकिने आकाश
भन्दा पनि विशाल
अश्वमेध यज्ञ जो बनाएर गयौ मनको मन्दिर भित्र
भलै अबिर यात्रा गर्ने ढोँगीहरुको कमी थियो

तिमी पत्याउँछौ ?
मैले बाँचेको युगभरि पछ्याएका सबैलाई
नछोएरै पछ्याएँ आजसम्म
तिमीलाई गल्तीले छुन पाए
यति मीठो गल्ती कि
जसलाई म हजार पटक दोहोर्‍याउन चाहन्छु
बिना कुनै गुनासो बिना कुनै पश्चाताप !
तिनका सग्लो अनुसार मात्रै
आउँछन् याद बनेर
तर तिम्रो
बास्नादेखि सबै याद बनेर आउँछन्
जसले अत्याउनसम्म अत्याउँछ ।

हो मलाई उचाइसँग प्रेम छ र त
आकाशलाई प्रेम गर्छु
उसले आजसम्म मसँग भेट्छु भनेर
कसम पनि खाएको छैन
प्रेमालाप पनि गरेको छैन
ऊ यति ज्याद्रो छ कि
चुपचाप नियाल्छ मेरो छट्पटी
सायद उसको त्यही ज्याद्रोपनले
मलाई ज्याद्रो बनाएको हुनुपर्छ
यो चुपचाप सताउने उसको बानीको
आदत बनेको छ मलाई
ठ्याक्कै उस्तै रमाउँछु म
तिम्रो मौनता सँग अचेल

हृदयको स्पन्दनबाटै दिनु तिमी
मैले सोधेका हजार प्रश्नहरुको उत्तर 
याद गर्नु तिमी
यो बयान नभएर प्रश्न हो
आदेश नभएर आह्वान हो
कहिले मिल्छ तिम्रो एक टुक्रा समय ?
बन्द गरेर कर्ण हृदयले सुन्नेछु तिमीलाई
मलाई भरपुर बाँच्नुछ त्यही समयमा
यही काललाई साक्षी राखेर ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 23, 2020, 7:40 a.m. Sanam thapa
    कस्तो राम्रो। दिदी अरु पनि लेख्दै गर्नु ।
  2.  0 Reply
  3. Jan. 12, 2020, 5:20 p.m. प्रेम जोशी
    कस्तो मन छुने कविता। अति राम्रो लेखन । प्रत्येक शब्द को भाव ले मन को वह लाई एक्कासी रोक्न खोज्छ। आशा छ तपाईँ का शब्द जस्तै तपाई को मन पनि सुन्दर छ होला। मनलाई सधै सुन्दर बनाउनुस् , सुन्दर मनर बनाउनेहरूको वरी परी नै बस्नु। जीवन साँच्चै नै छोटो छ। 40 वर्ष त रात हुनुबाटै बित्छ । त्यसको आधा = 20 वर्ष बचपन र बुढापन मा बित्छ । त्यसमा पनि कहिले योग , कहिले वियोग , कहिले पढाइ , कहिले परीक्षा , नोकरी , व्यापार र अनेक चिन्ताहरुले व्यक्तिलाई घेरेर राख्छ । अब बच्यो नै कति ? 8/10 वर्ष । त्यसमा पनि हामी शान्तिले बाँच्न सक्दैनौ । यो छोटो जीवन मा, काल्पनिक घोडा दौडाउनु, पुतलीको पछी पछी कुद्द्नुहोस्, सुन्तला खादै बोक्रा साथीको आंखामा निचोरीदिनु , चुङ्गी खेल्नहोस् , घुर्रा घुमाउन होस् , पानीमा भिज्ज्नु, हिलोमा खेल्नु, ढुङ्गा संकलन गर्नु, फूल सुग्नुहोस् , करकालोको पानी संग रमाउनु , कराउनु , चिच्याउनु। आखिर कसलाई थाहा छ र यो संसार आज राती नै खत्तम हुन्छ कि त ? तपाईलाई घृणा गर्नेहरूलाई क्षमा गर्नुहोस्, तपाईहरूलाई चोट पुर्याउने हरू लाई बिर्सी दिनु होस्। तपाईं लाई माया गर्ने लाई बेस्सरी कसेर राख्नु होस। यो फेरी नपाइने जीवन लाई पूर्णरुपले बाच्ने कोशिस गर्नु होस् ।
  4.  0 Reply
  5. Jan. 11, 2020, 4:37 p.m. Anisha kattel
    This is such a beautiful write up. I always wanted to write something similar but because I have not experienced it personally, I did not think it will.go well.Thank you for sharing this . We want more like this from you.
  6.  0 Reply
  7. Jan. 11, 2020, 4:31 p.m. रमेश लामा
    कस्तो राम्रो। जति पढे पनि पढुं पढूं लाग्ने कविता। पात्र धरै छन हाम्रो समाज। असल पात्र पाउन गार्हो छ यदि पाउनु भयो भने नछोड्नु होला। असल पात्र सँग बिताउने जीवन सुन्दर हुन्छ। कलम चलाउन नछोड्नु पिपला जी।
  8.  0 Reply
  9. Jan. 11, 2020, 12:47 p.m. Paurakh karki
    खास बाडुल्कीको नियम लागू हुन्छ भने तिमी नरोकिएरै हिकहिक गर्दै हुनुपर्छ यतिबेला
  10.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.