शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिका: घरमै पुगेर स्वास्थ्य सेवादेखि सुत्केरीलाई पोषण र औषधीसम्म

सोमबार, २७ माघ २०७६, १६ : ४२
सोमबार, २७ माघ २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरवासीहरुका लागि घर घरमै पुगेर स्वास्थ्य जाँचदेखि सुत्केरीलाई पोषण र औषधीसम्म वितरण गरेको छ ।  बुटवल उपमहानगरका १९ वटै वडामा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन् ।

उपमहानगरमा रहेका विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीहरुले नियमित सेवाप्रवाह गर्दै आएका छन् । सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालेदेखि नै नगरबासीको आकर्षण बढेको प्रमुख शिवराज सुवेदीले बताए । 

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरि विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको उनले बताए । आर्थिक वर्ष २०७४/७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट बहिरंग सेवा लिने २१ हजार चार सय ७३ जना रहेकोमा गत आर्थिक वर्षमा यो संख्या १० हजार भन्दा बढीले वृद्धि भएको छ । उक्त आवमा मात्रै कूल ३२ हजार आठ सय २१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाको तथ्यांक छ । 

स्वास्थ्य संस्था नभएका वडाहरुमा वडा क्लिनिक सञ्चालनमा ल्याइएको छ । जसअन्र्तगत आव २०७४÷७५ मा चार हजार सात सय चारजनाले सेवा लिएकोमा गत आव ०७५÷७६ मा बृद्धि भई नौ हजार पाँच सय ९० जना सेवाग्राही पुगे । 

८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निशुल्क औषधि उपलव्ध गराइएको छ । ‘नगरप्रमुख जेष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्र्तगत एक हजार तीन सय ३२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।

गर्भवती तथा सुत्केरीलाई घरमै पोषण र औषधी

गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामाग्री सहयोग गरिएको छ ।

महिलामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमुना हो । यस कार्यक्रम अन्र्तगत आव २०७५/७६ मा सात सय २० जना लाभान्वित भएका छन् । आव २०७४/७५ मा सात सय ७० जनाले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/७६ मा एक हजार तीन सय १३ जनाले सेवा लिएका छन् । 

उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न गएर हालचाल सोधपुछ गर्ने र केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको बताइन् । नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सुगरको जाँच भइरहेको छ । यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्तर्गत करिब दुई हजार पाँच सय जनाले यो सेवा लिइसकेको छन् ।

उपमहानगरका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुको निःशुल्क ल्याब परीक्षण गर्ने कार्यक्रम पनि बुटवलबाटै पहिलोपटक सुरु भएको हो । यसअन्तर्गत चालु आवको यो अवधिमा एक सय जनाले सेवा लिएका छन् ।

खोप भण्डार केन्द्र

विभिन्न खोपहरुको सुरक्षित भण्डारण गर्न बुटवलमै खोप भण्डारण केन्द्र स्थापना भएको छ । सिद्धार्थ बाल तथा महिला अस्पतालमा यो केन्द्र स्थापना गरिएको छ । यस्तै लुम्बिनी आयुर्वेद औषधालयमा नियमित सेवाप्रवाहसहित ल्याबसमेत स्थापना गरिएको छ । योग एवम् पञ्चकर्मलाई पनि बुटवलले प्राथमिकतामा राखेको छ । स्कुले बालबालिकादेखि विभिन्न उमेर समूहकालाई योग र पञ्चकर्म सिकाइएको योगका प्रशिक्षक विष्णु आचार्यले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप