शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदाको क्षण : कसले के भने ?

बस्नेले कविता सुनाए, बाहिरिनेले संस्कृतका श्लोक
मङ्गलबार, २० फागुन २०७६, १८ : ०२
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । मंगलबारदेखि राष्ट्रियसभाका एकतिहाई सांसद बिदा भएका छन् । उनीहरुको स्थानमा गत माघ ९ गते भएको निर्वाचनबाट विजयी भएका सांसदहरु राष्ट्रिय सभा प्रवेश गर्नेछन् । उनीहरुको सपथको कार्यक्रम बुधबारको लागि तय भइसकेको छ । 

 अघिल्लो वर्ष भएको गोलाप्रथाबाट उनीहरुको कार्यकाल निर्धारण भएको थियो । २ वर्षको कार्यकालको गोला निकाल्ने सांसदहरु राष्ट्रियसभाबाट बिदा भएका हन् । 

मंगलबार भएको राष्ट्रिय सभाको बैठकमा बिदा हुने सांसदहरुलाई पाँच मिनेटमा आफ्नो मन्तब्य राख्न समय दिइएको थियो । उनीहरुले आफूले २ वर्ष राष्ट्रिय सभामा बिताउदाको अनुभव सुनाएका थिए । 

साथै राष्ट्रिय सभामा कायमै रहने सांसदहरुले पनि पनि बिदा हुन लागेका सांसदहरुलाई आगामी दिनको शुभकामना दिएका छन् । यसरी शुभकामना दिने क्रममा सांसद कोमल वलीले भावुक कविता बाचन गरेर बिदाइका शब्दहरु अभिव्यक्त गरिन् । 

यस्तो छ उनको कविता : 
समय छिट्टै बितेजस्तो लाग्छ,
वास्तवमा समय बित्दैन‚
समयले हामीलाई बिताउँछ
हो, हामी बितिरह्यौं सयमको भ्रममा‚
समयका क्रममा होइन, समयको भ्रममा‚
यो राष्ट्र रंग्याउने कयौं रंग थपेर बितेका छौं‚
या राष्ट्र हसाउने कयौं हिसी फुलाएर बितेका छौं‚
एउटै आकांक्षा बोकेका हामी‚
एउटै प्रतिबद्धता लिएका हामी‚
हामी राष्ट्र विकासका अथकित अभियान्ता
हामी जहाँ रहन्छौं, राष्ट्र काँधमा बोकेर रहन्छौं
प्राविधिक जोड घटाउ यो व्यवस्थामा
यतिबेला समय सीमाले बिदा गर्दैछ
यसले हामीलाई छुट्याउन सक्ने छैन
हामीलाई जिम्मेवारीबाट टाढा राख्न सक्ने पनि छैन
हृदयमा राष्ट्र बोकेका हामी 
देश दुख्दा हामी सधैं दुख्नेछौं
देश निर्माण हाम्रो जीवन प्रयत्नको अभियान हुनेछ 
त्यसैले देशका नाममा सधैं साथमा रहनेछौं
साथीहरु यो प्राविधिक जोड घटाउको बिदाइ
हाम्रा लागि सानो धृष्टता मात्र बन्नेछ

यता राष्ट्रिय सभामा बोल्दै नेकपा कालीकोटका सांसद कालीबहादुर मल्लले भने चाण्डक्यको श्लोक वाचन गरेर त्यसको अर्थ समेत लगाए । उनले गुँडबाट चराहरु दिनभरी चारो खोज्ने निस्केपनि साँझ गुँडमा फर्कन्छन् भने जस्तै राष्ट्रिय सभाबाट अहिले बिदा भएपनि सबैसँग राजनीतिक मैदानमा भेट हुने उल्लेख गरे । 

उनले २ वर्षमा राष्ट्रिय सभामा आफ्नो अनुभूति सुनाउँदै सो अवसर दिएकोमा पार्टी अध्यक्षलाई धन्यवाद ज्ञापन गरे । 

अर्का सांसद खेमराज नेपालीले प्रधानमन्त्रीको जन्मोत्सव र केक प्रकरण चर्चामा रहेको भन्दै उनले पनि कवि लेखनाथ पौडेलको एक लाइन कविता सुनाए । 

उनले भने, ‘दविन्छ गुणका दोष गुणका रासमा परि । यसको आसय हो धेरै राम्रा काम भएको छ भने सानातिना गल्तिहरु क्षम्य हुन्छन् । अहिले हाम्रो समाज कता तिरजाँदैछ । पत्रकारिता, विश्लेषण कता जाँदैछ ।

अर्कैले ल्याएको केकलाई लिएर रडाको गरिएको छ ।  प्रधानमन्त्रीले पाखाभारी ६९ वटा रुख रोप्नुपर्ने थियो । प्रधानमन्त्रीले सहभागीलाई सेल र गुन्द्रुक ख्वाएको भएपनि प्रधानमन्त्रीले जनतालाई गुन्द्रुक खुवायो भनेर आलोचना हुन्थ्यो ।’

अरु विकासको राम्रा कुरा छायाँमा पारेर केकलाई चर्चामा ल्याउनु राम्रो नभएको उनले बताए । प्रधानमन्त्रीले आठराई पुगेर आफ्नो घर हेर्नु गलत नभएको बताउँदै प्रत्येक नेपालीले आफ्नो गाँउ घरलाई बिर्सन नहुने बताए । 

नेपाली कांग्रेसकी सांसद धनकुमारी खतिवडाले विश्वविद्यालयमा जस्तै कानून बनाउन अभ्यास गर्न पाएको उल्लेख गरिन् । 

राजनीति अविरल यात्रा भएको उल्लेख गर्दै फेरि राजनीतिक क्रममा भेट भइरहने बताइन् । राष्ट्रिय सभामा आएको एक वर्षसम्म संसदको तौतरिका सिक्न समय लागेको, छोटो समयमा धैरे विधेयक पारित गर्दा हामी तलब भत्ता खान मात्र त आएका हैनौँ भन्ने लागेको त हैन भन्ने अनुभूति भएको उनको भनाइ थियो । 

राष्ट्रिय सभा हाउस अफ लर्ड भन्दा पनि हाउस अफ स्कलरको रुपमा रहेको उनले बताइन् । सभा सार्वभौमसत्ता जोगाउनका लागि क्रियाशील हुनुपर्ने बताउँदै आफू राष्ट्रिय सरोकार समितिमा रहँदा प्रभावकारी भूमिका खेलेको उल्लेख गरिन् । 

अर्का सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रियसभा सानो परिवार सुखी परिवारको रुपमा रहेको उल्लेख गर्दै २ वर्षमा कामलाई चुस्त र दुरुस्त पनि बनाएको बताए । 

 दलीय आग्रह पूर्वाग्रह नराखी २ वर्ष काम गरेको उल्लेख गर्दै उनले राष्ट्रियसभा सदस्यको अधिकार खुम्चिएको महसुुस भएको पनि बताए । 

उनले सांसदहरुलाई निर्वाचित गर्ने मतदातालाई २ पटक भेटघाटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

नेकपाका अर्का सांसद बलराम बाँस्कोटाले आफूलाई पारिवारिक बिछोड जस्तो पनि लागेपनि  पारिवारिक कडी जोडिएको तर्क गरे । राजनीति अविरल यात्रा रहेको बताउदै उनले भने–‘ब्रिटीस कविले भनेका छन्  ‘म्यान मे कम एण्ड म्यान मे गो बट आई गो फरइभर’ ।  मान्छे आउँछन जान्छन् । यो लोकतन्त्रको केन्द्रबिन्दु यहाँ मानिसहरुको अभाव हुँदैन । जाने आउने भइरहन्छ’ । 

लेनिनले संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु  बेच्ने ठाउँ भनेको, पुष्पलालले पनि राजालाई संसद फिर्ता गर्न भनेको, पञ्चायती व्यवस्थामा पनि सोमनाथ प्यासी, रुपचन्द्र बिष्ट संसदमा रहेर आफ्नो पक्षमा आवाज उठाएको बताउँदै संसद जनताको हितका लागि आवाज उठाउने ठाउँ रहेको बताए ।

राष्ट्रिय सभा लोकतन्त्रको एउटा तत्वको रुपमा अघि बढेको बताउँदै उनले नेपालको राष्ट्रिय सभा हाउस अफ लर्डको रुपमा नभई बुद्धिजिवीहरुको सभा भएको तर्क गरे । 

यस्तै कांग्रेस सांसद मुक्ताकुमारी यादवले राष्ट्रिय सभामा निर्वाचित भएर आउन लागेका एकतिहाई सांसदलाई स्वागत गरिन् । राष्ट्रिय सभाको बैठकमा केही खुसी र केही दुःखी भएको उनले बताइन् । आफूलाई जिम्मेवारी पूरा गर्दा खुसी लागेको र सांसदको भूमिकामा बाँकी रहेको काम गर्न नपाउँदा दुःख लागेको बताइन् । राजनीतिज्ञ कहिले सडकमा, कहिले सदनमा, कहिले जनतामा रहने भन्दै संविधानको व्यवस्था अनुसार २ वर्षे कार्यकाल रहेको बताइन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसका नेताहरुलाई धन्यवाद समेत दिइन् । 

मुगुबाट प्रतिनिधित्व गर्ने सांसद यूटोल तामाङले पास हुन बाँकी रहेको विधेयक जिम्मामा छोडेर जिल्ला जान लागेको बताइन् । आउनेहरुलाई बधाई र जानेहरुलाई शुभकामना व्यक्त गरिन् । उनले कुनै दिन शनिवार बसेर पनि काम गरेको स्मरण गरिन् । 

मुगुमा जस्तो ठाउँमा जन्मेर २०५० सालदेखि राजनीतिमा लागेको बताउँदै आफूले सिकेको कुरा जिल्लामा पनि अनुभव बाँड्ने बताइन् । उनले राष्ट्रिय सभामा समावेशीकरण गर्दा जनजातीहरुको कोटा थप्नुपर्ने बताइन् । 
राष्ट्रिय जनता पार्टीका सांसद रमेश प्रसाद यादवले राष्ट्रिय सभा अध्यक्षले सबैलाई समान व्यवहार गरेको, समान रुपमा समय उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले संविधान संसोधनको कुरा उठाउन पाएको, २ नम्बर प्रदेशमा कृषियोग्य भूमि रहेको र किसानको कुरा उठाएको बताए । यस्तै चुरे संरक्षणका लागि आवाज उठाएको बताए । उनले जाँदा जाँदै देश विकास गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।  

प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने सांसद राजकुमार कुँवरले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे । 

उनले राष्ट्रियसभा छुट्टै मोर्चाको रुपमा लिएको बताए । उनले प्राकृतिक अपाङ्ग र जनयुद्धको क्रममा अपाङ्गको तर्फबाट ५ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्दा जनयुद्धका घाइतेहरुको दवाव झेल्नु परेको बताए । उनले राष्ट्रियसभामा रहेका अन्य सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप