केन्द्रीय संस्करण

कथा : आर्यघाट

person explore access_timeचैत १, २०७६ chat_bubble_outline1

माघ महिनाको यो चिसो सिरेटोमा ‘कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ गीत सुसल्दै म मोटरसाइकलमा घरतिर हुइँकिएँ । निस्पष्ट रात थियो नै त्यसमाथि रमको हल्का नशामा बाइक हुइँक्याउँदा कुनै भूतघरभित्र छिरेको भान पर्यो । तर ठमेलको रौनकमा छ्याप्प छ्याप्ती देखिने युवायुवतीको झुण्ड देख्दा भर्खरै रात पर्दैझैँ लाग्थ्यो । रात त छिप्पिसकेकै थियो ।

‘दाइ लौन मलाई पनि लाजिम्पाटसम्म छाडिदिनुस् न,’ भन्दै मोटरसाइकलमा नै ठोक्किन खोज्दै छेवैमा एउटी केटी टाँसिन आइपुगी । हेर्दा केटी अचाक्ली मेकअपमा थिई, नक्कली देखिन्थी ।

‘लौ म त लाजिम्पाट जान्न नि’ ऊ मेरो पछाडि बस्नै आँटेकी थिई, तुरुन्तै भनिहालेँ । ‘अँ मेरो बाटो परेन है’ मैले बाइक अलिकति आगाडि बडाउँदै भने ।

‘कि म तेस्रोलिङ्गी देखेर त लिफ्ट नदिनु भाको हो कि !’ भन्दा म निकै पर पुगिसकेको थिएँ । तर उसको त्यो प्रश्नले मैले झ्याप्पै ब्रेक थिचेँ ।

मैले त केटी नै ठानेको थिएँ, अलिक ठूलो स्वरमा उसले सुन्ने गरी भने, मेरो बाटो नपरेर हो, म त यताबाट जानु छ, क्या ।

उसले टाढैबाट मलाई थ्याङ्क यु भनेको महसुस गरेँ । उसले अलिकता टाउको झुकाएर मतिर हेरेकी थिई । म झुक्किएकोमा ऊ सारै खुसी भई । म गुनगुनाउँदै अगाडि हुइँकिएँ । हुन पनि ठ्याक्कै केटी नै जस्ती पो थिई ।

बाटो सुनसान भसकेको थियो । बाटोमा एकाध कार र मोटर साइकलबाहेक अरू केही थिएनन् । म एकोहोरोसँग सुसेल्दै हुइँकिरहेको थिएँ । तर एक्कासि सडक पेटिमा ठिङ्ग उभिएको एउटा मानव आकृतिले मलाई रोक्ने इसारा गर्यो । मैले त्यतै हेरेँ । देखेँ, चिसो रातमा कसैले मलाई नै रोक्दै थियो भनौँ हात अगाडि बडाएर पर्खन भन्दै थियो । लिफ्टका लागि हो कि भन्ने अनुमान लागाउँदै घ्याच्च बाइक रोकेँ, अलिकति माथि । सडकबत्तीको मधुरो उज्यालोमा कोही परिचितझैँ एउटा आकृति हाँस्दै मतिर बढिरहेको देखेँ, महिला आकृति ।

लौ सीता भाउजू, पो ! मैले आश्चर्य मान्दै भने, यति राति कताबाट नि !

‘कताबाट भन्नु’ बाइकको पछाडि बस्दै उनले भनिन्– औषधि किन्न आएकी, कहीँ पाइँदैन । यहाँ मात्र पाइन्छ’ ।

यस्तो राति, खै ! के भनेकी हुन् भनेर सोच्दै थिएँ । ‘हर्मोनको औषधि खान खोज्दै थिएँ, सकिएछ,’ उनले मलाई अगाडि बढ्ने ईसारा गर्दै भनिन्, ‘अब दाइले ड्रिङ्क्स गरिसक्नु भएको थियो, अनि आफै आएँ’ ।

लौ ! म पनि हुइँकिएँ भनौ अगाडि बढेँ । केही सोध्नुपर्ने थिएन । सबै प्रष्ट भइसकेको थियो । तर पनि अचानकको सीता भाउजुसँगको यो भेटले मलाई रणभुल्लमा पारिरहेको थियो । ‘यिनी तिनै सीता भाउजू त हुन् ?’ म बारम्बार यिनको आकृतिलाई मथिङ्गलमा नचाउन थालेँ । लौ देख्न त बीसौँ वर्ष नै भयो, यिनलाई देखेको नि । तर यसरी लपक्कै टाँसिएर छोएको चाहिँ यो पहिलो पटक हो कि ! मैले मथिङ्गल घुमाएँ । कुनै त्यस्तो दिन देखिएन जुन दिनमा मैले यी भाउजुलाई यसरी नजिकैबाट छोएको थिएँ वा यसरी आँखै आगाडि देखेको थिएँ ।

हो त, कुनै फिल्ममा कल्पेको यौनमा मात्तिएकी एक्ली गृहिणीले आँखा झिम्क्याएर केटाहरुलाई इसारा गरेको कल्पेर घन्टौँसम्म उनको घरतिर आँखाहरु ओछ्यानै बनाउँथे । तर मनभरि घिनलाग्दा  कल्पना सजाएर एक दिन पनि सीता भाउजूको दैलोमा टेक्न पुगिनँ । हुन त भोजपुरी फिल्ममा झँै भावीजी भन्दै उनीमाथि हाबी बन्न मन त थियो नै । सम्झँदा पनि आज लाज पो लाग्छ त ! म आफै फिस्स हाँसे भनौँ आफ्नो त्यो केटौले लहडले धन्न वितण्डा मच्चाएनछ । आफूलाई धन्य ठान्छु ।

चिसो काठ्याङ्ग्रिने रातको सिरेटोले कानको लोती नै चुँडाले झैँ चरक्क चर्केर दुख्यो, अचानक । के भो, मैले कान मुसार्दै भनेँ, कस्तरी कान दुख्यो ।

‘झण्डै लडाउनु भो’ सिता भाउजूले मलाई झक्झकाउँदै भनिन् ‘हेरेर चलाउनुस् त’ ।

म रणभुल्लमा परेँ, के भाको थियो, अत्तो पत्तो पाइन । कि मोटरसाइकल लड्न लाग्यो भनेर यिनले मेरो कानैमा हानेकी थिइन्, खै ।

म निकै संयमित बनेर सम्हालिँदै बसेँ तथापि सीता भाउजूसँगको यो अचानकको सामीप्यताले मनमा अनेक भनौ रङ्ग रङ्गका कुरा खेल्दै मनै भरङ्ग हुन खोज्दै थियो । लौ, हिजो नै जस्तो लागेको थियो नि यी भाउजूलाई मैले लुकी लुकी झ्यालबाट चिहाएर हेरेको । यिनको पातलो दोछायाँलाई पटक पटक छाम्ने चेष्टा गरेको । हो न हो, यी भाउजू भर्खर स्वर्गबाट झरेकी अप्सरानै थिइन् । हरेक क्षण यिनी मेरो मनमा झुल्किन्थिन्, म निकै कल्पना गर्थें ।

कल्पनाको त्यो जँघार तर्न खोज्दा खोज्दै कति पटक त म खोँचमै गएर अड्कन्थे । अनेक नाप नक्सा बनाएर कैयौं पटक त फड्को मार्न खोज्दा खोज्दै धुन्मुनिँदै लड्न पुग्थेँ । तर खै ? सीता भाउजुको सुकोमल हातले कहिल्यै मलाई उठाएनन्, न त यिनका मधुर आवाजलेनै ‘बाबु के भयो हँ’ सम्म भन्यो । तर के गर्नु त, यो मनले सीता भाउजूको यौवनलाई वा त्यो दाइसंगको उठबस्को कयौँ लाप्सा कल्पनाहरुको पोको पारेर एकैठाउँमा गज्याङ मज्याङ गरेर जेल्नुसम्म जेलेपछि ।

बरु सीता भाउजुको पछिपछि हिँड्दा पनि यस्तो औडाह हुँदैनथ्यो अथवा यिनी नजिकै हुँदा पनि यस्तो हुँदैनथ्यो । जतिखेर म उनलाई मनभित्र जेलेर उल्टाई पल्टाई गरेर झ्यालबाट चिहाएर हेर्थें । होस्, यस्ता एकलकाँटे सोचाइले त कतिखेर मेरो होस हवास गुमाई दिन्छ, भनेर कयौँ पटक आफैले भने । कहिलेकाहीँ त म डराउँदै झस्कन्थेँ, यसरी सोच्दै गएँ भने त म कतै हराएँ भने, कतै गएर ठोक्किएँ भने । तर के गर्नु ? अर्को दिन फेरि मनभरि उनैको राज हुन्थ्यो वा उनैले गाडा कहिल्यै नमेटिने गरी कुनै कामुक स्त्री बनेर आफ्नै चित्र मेरो छातीमा कोरी दिन्थिन ।

कैयौँ पटक कोसिस गर्दा पनि मेट्नै नसकिएको त्यो दाग भनौँ वा टाटु नै भनौँ, आफ्नै श्रीमतीले देख्ली र भेट्ली भनेर कहिलेकाहीँ त म तनावमा रन्थनिएको हुन्थेँ । ‘तपाईं किन मलाई सधैँ सीता भाउजूसँग तुलना गर्नु हुन्छ हँ ? श्रीमतीले कहिलेकाहीँ यसरी कड्केर बोल्दा पनि म हाँसेरै टारिदिन्थे र भन्थेँ, ‘लौ आफ्नी भाउजू पो त, तिमीभन्दा अघिदेखि चिनिएकी भाउजू’ ।

‘हेर, ती दाइले उनलाई घुम्टो ओडाएर घिसिपिटी गर्दै त्यो घरमा भित्र्याउँदा पनि म उनको सामुन्ने नै थिएँ’ म केही अड्केर पुनः बोल्न थाले त्यहाँ अनौठो रवाफ थियो, मैले केही रवाफिलो बन्दै, लौ बाटो छाडौँ है भन्दै तिनको छिनेको कम्बरमा च्याप्प समातेर लगभग जुरुक्कै उचालेरै भीड छिचोल्दै ढोकाभित्र हुलेथेँ नि । अनि त्यसरी छुनै त नहुने नि, मेरी श्रीमतीले फेरि असन्तुष्टि जनाउँदै भनी भाउजु रे, फेरि किन रवाफिलो बन्दै हात लगाउनु परेको । उसले निकै चर्केर भनी, कहिलेकाहीँ मैले जिस्कँदै सीता भाउजूको यौवनको तरिफमा केही शब्दहरु बोल्दा पनि ऊ यसरी नै चर्किएर बोल्ने गर्थी ‘ल भो भो अर्काकी स्वास्नीको धेरै कुरो नगरौँ’ ।

धत्, घर त आउनै पो लागेछ । मैले अचानकै बोलेँ, ‘लौ चिसोमा सिरिरिरी घर पनि आइयो है’ मोटर साइकल उनको घर अगाडि रोक्दै मैले निकै ठट्यौली पारामा भने । यति बेलासम्म केही सरे जस्तो गरेर उनको शरीरमा मेरो सम्पूर्ण ढाड टँसाउन भ्याइसकेको थिएँ । आम्मामा कति चिसो, मैले सीता भाउजूलाई हेर्दै भने ‘शरीर त चिसो छ त, हिउँ जस्तो’ । उनले केही बोलिनन् । खुरुक्क ओर्लिन् । केही त बोलेकी थिइन् की म अकमक्क परेँ मैले ठम्याउन सकिन कि मैले कान उनैतिर तान्दै हेरेँ तर हैन रहेछ । उनी त सरासर घरतिर पो हिँडिन्, चुपचाप । तर मलाई पनि ढिला भइसकेको थियो, फेरि श्रीमतीले फोनको घण्टी बजाउने बेला पनि भइसकेको थियो भनौ म पनि घर जान हतारिएँ ।

‘ल त, भाउजू’ मैले अन्तिम पटक उनको शरीरमा आँखा अरिङ्गाल पारेर हेर्दै भने, अब म पनि लागेँ । सीता भाउजू बोलिनन्, एक शब्द पनि बोलिनन् । बरु लुरुक्क आफ्नो बाटो लागिन् । नियास्रो लाग्दा लाग्दै पनि म हुइँकिएँ । अलि पर आफ्नै घरतिर । तर घर आइसक्दा पनि उनको शरीरको चिसो निकै मीठो बनेर फैलिएको अनुभव भइरहेको थियो, ढाडभरी ।

मैले डोरबेल जोडले बजाएँ । श्रीमतीले सरासर तल आएर ढोका खोली मानौ यसरी यो समयमा ढोरबेल बजाउने मान्छे मबाहेक अरुहरु कोही हुनै सक्दैन भन्नेमा ऊ निश्चिन्त थिई ।

आज किन ढिला, उसले ठाडो स्वरमा सोधी, अघिपछिको भन्दा आज एक घण्टा ढिलो भो नि, उसले हातको मोबाइलमा समय हेर्दै अलिक हैकमी पाराले भनी । मानौ अझ ढिला भइदिएको भए यो घरभित्र छिर्ने अधिकारै समाप्त हुन्थ्यो ।

लौ, कहिलेकाहीँ यस्तै त हो, मैले मोटरसाइकल थन्काउँन धकेल्दै भने, त्यति ढिला पनि त भाको छैन नि है । उसले सहमतीमा टाउको हल्लाइन बरु निकै अल्तालिएझैँ गर्दै म छेउ आइपुगी ।

मोटरसाइकल थन्क्याउनु पर्दैन है, उसले निकै चर्को स्वारमा नजिकै आएर भनी, आर्यघाट जानुपर्ने भो । ‘लौ’ मैले आश्चर्य मान्दै भनेँ, यस्तो चिसोमा को बितेछ ।

को हुनु नि, उसले मधुर स्वरमा भनी, मानौँ उसको स्वर मैलेबाहेक अरू कसैले सुन्नै हुन्थेनँ, एक हप्तादेखि अस्पतालमा थिइनँ, उसको स्वर अलिक रुन्चे सुनियो, सारै दुःख लाग्यो ।

बिचरीको ओपनहार्ट सर्जरी भएको रहेछ, गङ्गालालमा । म ट्वाल्ल परिरहेँ मानौ उसले भनेको कुनै कुरा पनि मैले राम्रोसँग बुझेकै छैन । अब आर्यघाट जानुपर्ने भो, यस पटक भने उसले नजिकै आएर मेरो शरीर छाम्दै भनी मानौँ यो चिसोमा मैले लगाई राखेको ज्याकेटले चिसो रोक्ला कि नरोक्ला भनेर जाँच गर्दै छे । यतिले त थेग्ला, भित्रतिर हात घुसारेर दुई आँैलाको बीचमा ज्याकेटको फेरलाई राखेर थिच्दै भनी, बरु गइहाल्नुस्, उताको दाइ पनि पुगिसके होलान्, सोध्दै थिएँ ।

लौन मलाई तिमीले कन्फ्युज पो बनायौ त, मैले टाउको झट्कार्दै भने, को मरेको त भन पहिला ।

लौ एक हप्तादेखि सीता भाउजू हस्पिटलमा हैन ? उसले मलाई आँखा गाडेर हेर्दै भनी, सीता भाउजू मरिन् नि, कठै उमेर त भाको थिएन ।

हँ के भनेको, म अचानक झस्किएँ । अल्तालिएँ भर्खरै आफैले मोटरसाइकलमा घ्याच्च घ्याच्च पार्दै उनको घरसम्म ल्याएर छाडेको सम्झिएँ अनि आफ्नो ढाड छामे, अझै ढाड चिसो थियो । लौ भर्खरै मैले सीता भाउजूलाई मेरो बाइकमा राखेर घरसम्म छाडेर आउँदै छु, मैले निकै ठूलो स्वारमा भने तिमी के भन्छौ ?’ ।

उसले पुनः मेरो आँखामा निकै गहिरिए हेरी अनि थुतुनो मुखैनेर ल्याएर केही सुँघे जस्तो गरी । उफ्, बेस्सरी धोकेर आएको जस्तो छ, अनुहार बिगार्दै भनी, कसलाई बाइकमा राखे ल्यायौ, उसले बाइकतिर हेर्दै भनी, सीता भाउजू अस्पतालमा थलिएकी एक हप्ता भइसक्यो ।

म अल्मलिएँ, ढाड फेरि छामे अझै चिसै थियो । अनुमान लगाउन सक्दै सकिएन भनौ भर्खरै मोटरसाइकल पछाडि टाँसिएर बस्ने आइमाई सीता भाउजू हैन भनेर । फेरि मैले उनकै घर अगाडि छाडिदिएँ, मैले पुनः उनको घरतिर इसारा गर्दै भने, जाने बेलामा मैले उनलाई हेरेको पनि थिएँ, म अझै ट्वाँ पर्दै बोल्दै गएँ, कसरी हुन सक्छ, यस्तो, उनी सीता भाउजू नै थिइन् ।

तर मेरी श्रीमती भने मेरो कुराले निकै झिँजो लागेझै नाक मुख एकै ठाउँमा थुपारेर मलाई नियाल्दै थिई । आज अलिक बढी नै पिए जस्तो छ नि, उसले अलिक खिसी गरेझैँ गर्दै भनी, कस्तरी पिएको होला त रक्सी ।  उसले भनी, आफ्नो मोटरसाइकलमा बसेको मान्छे पनि चिनिएन, है ।

उसको यो उपेक्षापूर्ण बोलीले मलाई केही पनि असर त पारेको थिएन तर भर्खरै आफ्नो मोटरसाइकलबाट ओर्लिएकी सीता भाउजूको तीन चार घण्टा आगाडि मृत्यु भइसकेको भन्ने कुराले भने मेरो तन मन सबै एकै चोटि ढक्क फुलाइरहेको थियो ।

हो प्रिय, मैले निकै जिद्धी गर्दै फेरि भने, उनी सीता भाउजू नै थिइन् ।

ल ल अब उनलाई आर्यघाटमा भेट्न जाऊँ । यस पटक भने श्रीमती निकै कड्केर भनी मानौँ मैले भर्खरै गरेको कुरो सबै रक्सीको मातको कमाल थियो भन्नेमा ऊ निश्चिन्त थिई ।

लौन कुरा बुझ। मैले अनुनय विनय गर्दै भने– मैले भर्खरै उनलाई आफ्नो मोटरसाइकलको पछाडि राखेर घरसम्म छाडेको ।

ल हेर, उसले फेरि मेरो अनुहारमा आँखा गाड्दै भनी, बाइक चलाउँदा चलाउँदै सपना पो देखेको हो कि ।

त्यसो हो भने मैले उसको आशंकाको प्रतिपाद गर्दै भने, म त ड्याङ्गै पछारिन्थेँ नि ।

त्यसो भए, उसले निकै ठूलो स्वरमा भनी, सीता भउजूको भूत होला, तपाईंको मोटरसाइकलमा बस्ने आइमाई ।

म श्रीमतीको यो कुराले भने तर्सिएँ, उनले भनेझैँ त्यो सीता भाउजूको भुत पो थियो कि । उनको शरीरको स्पर्श अझै मेरो ढाडमा ताजै छ अनि ।

लौ किन टोलाएको, श्रीमतीले कानैमा थुतुनो जोडौँलाझैँ गर्दै भनी, लौ जानोस् अब, आर्यघाट ।

ठाकुर केसी

काठमाडौँ, नेपाल

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 18, 2020, 10:16 a.m. Tika
    I like this Story, it is intereting
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...