केन्द्रीय संस्करण
संगीत

नेपालकी पहिलो रक गायिकादेखि सेनाकी मेजर डाक्टरसम्मको यात्रा

person explore access_timeचैत ४, २०७६ chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

 

‘अजिब दास्तां हे ये
कहाँ सुरु कहाँ खतम
ये मञ्जिलें हे कौन सी
न वो समझ सके ना हम’

आमा किशोरी सिंहले गाएका यस्तै हिन्दी गीतहरु सुनेर हुर्किएकी हुन् उनी । आमा को हुन् ? आमा मिहिनेत र सीपका खानी हुन् । आमा प्रेम र सौन्दर्यकी मुहान हुन् । आमा दया र क्षमाशीलताका फोहोरा हुन् ।  आमा सन्तानको पहिलो प्रेम हुन् । आमा पहिलो शिक्षिका पनि हुन् ।

तिनै आमालाई पछ्याउँदै उनले पनि गीत गाउन सिकिन् । आमाको स्वर असाध्यै मीठो, सुनिरहूँ लाग्ने । उनकी आमाले सङ्गीत क्षेत्रमा केही गर्ने मौका पाइनन्, त्यो छुट्टै कुरा हो तर त्यही गुण उनले जन्मजात आमाबाट पाइन् । त्यसैले त गीत सुन्नेबित्तिकै दिमागमा बसिहाल्थ्यो । सुत्ने बेला कुनै गीत सुने बिहान उठ्दा कण्ठस्तै हुन्थे ।

विद्यालयबाट सुरु भएको उनको सङ्गीत यात्राले उनलाई नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सघाएको छ– नेपालको पहिलो महिला रक गायिकाको रूपमा । उनी नेपाली ‘म्युजिक सीन’मा तत्कालका लागि सक्रिय छैनन् तर इतिहास कसैगरी बदल्न सकिन्न । हो, उनले इतिहास रचेकी छिन् । पहिलो महिला रक गायिकाको ताज उनीबाट कसैले खोस्न सक्दैन ।

तर अहिले उनको पहिचान फेरिएको छ । कुनै बेला कपाल छोडेर ‘हेड ब्याङ्ग’ गर्दै स्टेजमा प्रस्तुति दिने उनी अहिले बिरामीको ‘भगवान’ बनेकी छिन् । भविष्यमा डाक्टर बन्ने इच्छा राख्नेहरुका लागि एनाटोमीकी प्राध्यापक भएकी छिन् । 

सन् २००७ मा नेपाली सेनामा आबद्ध भएकी अहिले उनको पहिचान हो, प्रा. सेनानी डाक्टर पुनम सिंह । सरल भाषामा भन्ने हो भने उनी नेपाली सेनाकी मेजर डाक्टर तथा सहप्राध्यापक हुन् ।

सायद उनलाई थाहा थिएन, सानो हुँदा आमाले धेरैजसो गाइरहने ‘अजिब दासतां...’ बोलको गीत भविष्यमा आफ्नै  जीवनसँग मेल खानेछ ।

उनै पुनम सिंहलाई रातोपाटीले करिब तीन महिनाको प्रयासपछि भेट्ने मौका पायो । मूलपानीस्थित आफ्नै निवासमा उनले रातोपाटीसँग अहिलेसम्मको जीवनयात्राबारे मनमा उठेका आनन्दको भावनालाई शब्दको धागोमा उनेर सबिस्तार बताइन् ।

भाइले पिट्दा समेत थापेर बस्ने बानीः

२०३८ साल असोज २ गते । घरकी जेठी छोरीको रूपमा पुनमको जन्म भयो । मूल घर सुदूर पश्चिम भए पनि उनका आमाबुवा पछि हेटौँडा बस्न थाले । हेटौँडा बस्ने भएपछि आमा किनमेलका लागि रक्सोल जाने गर्थिन् । ९ महिनाको गर्भवती हुँदासमेत रक्सोल गएका बेला उनकी आमालाई प्रसव पीडा भयो । तसर्थ वीरगञ्जको अस्पतालमा पुनमको जन्म भएको हो । उनको जन्म खास रह्यो । नवजात शिशुलाई पुरानै टालाटुलीमा बेरबार पारिदिने नेपाली चलन उनीमा लागू भएन । आमाहरु सपिङ जो गएका थिए, नयाँ सामान, नयाँ लुगा, उनलाई नयाँ कपडामा नै गुटुमुटु पारियो ।


‘म सन् १९९७–९८ देखि नै विभिन्न कन्सर्टहरुमा प्रस्तुति दिन थालिसकेकी थिएँ । मोर्डन इन्डियन स्कुलमा पढ्दा मेरी आस्मा बज्राचार्य नामकी साथी थिइन् । उसैमार्फत् मैले कबवेब ब्यान्डका ड्रमर सिद्धार्थ धाक्वालाई भेटेँ । सिद्धार्थले दिवेस मुल्मीसँग भेट गराइदिनुभयो ।’


उनी सरल छिन् । लजालु पनि । हाँसेर बोल्ने मृदुभाषी । यो स्वभाव उनको बाल्यकालदेखिकै हो । बाल्यकालमा असाध्यै ज्ञानी पनि थिइन् रे । यतिसम्म ज्ञानी कि भाइले पिट्दासमेत चुप लागेर थापेर बसिरहन्थिन् । ‘म अहिले पनि कम नै बोल्छु है ड्याडी,’ सँगै बसेका ससुरा दामोदर फुयाँललाई हेरेर उनले प्रश्न गरिन् । ससुराले जवाफ फर्काइहाले, ‘धेरै बोल्ने फुर्सद पनि कहाँ छ र ?’

तर कम बोले पनि उनी मौन भने छैनन् । आवश्यक पर्दा अवस्था हेरेर बोल्न उनलाई राम्रोसँग आउँछ, त्यसमा उनी रत्तिभर पनि हिच्किचाउँदिनन् ।


सङ्गीतप्रतिको आकर्षणः

हुन त सङ्गीतप्रतिको मोह उनले आमाको गर्भबाटै पाएको एउटा अनुपम उपहार हो । उनी यो कुरा आफ्ना ९ र ३ वर्षका छोरीहरु नाभिया र नायरालाई पनि बताउँछिन् । यता नभिया र नायरामा पनि आमाको यो गुण सरेको छ ।  दुवै गाउँछन् । जेठी छोरी नाभिया केही समयअघि आयोजित लिटल प्राइड अफ नेपालमा तेस्रो भइन् । तोते बोलीमा कान्छी छोरीले गीत गाएको सुन्दा पुनमलाई अचम्मै लाग्छ । ‘मैले केही सिकाएकै छैन तर उनीहरु आफैँ गाउँछन्, अचम्मै लाग्छ भन्या,’ उनी दङ्ग परेर सुनाउँछिन् ।   

उनको माइतीमा पनि बहिनी प्रेक्षा सिंह र भाइ प्रितम सिंह दुवै गाउँछन् । उनकी बहिनी अमेरिकामा छिन् तर पनि सङ्गीतप्रतिको झुकाव रत्तिभर पनि कमी भएको छैन । नेपालमा १७ –१८ घण्टा लोडसेडिङ हुने बेला, उनको पूरा परिवार (सिभिल इन्जिनियर बुवा पूर्णबहादुर सिंहबाहेक) सँगै बसेर गीत गाउने र रमाइलो गर्ने गर्थे ।

उनी आफू पढ्ने लिटिल एन्जल्स स्कुलमा आयोजित हरेक ‘ट्यालेन्ट सो’मा भाग लिन्थिन् । तेस्रो, दोस्रो हुँदै पहिलो स्थानमा आउन थालिन् । अन्तर विद्यालय प्रतिस्पर्धा हुँदा उनका ब्यान्ड प्रथम हुन थाल्यो । कक्षा ६–७ मा हुँदा नै उनी क्विन, सेरिल क्रो, लेड जेप्लिन, ब्रायन एड्याम्स लगायतका थुप्रै पश्चिमा कलाकारलाई सुन्थिन् ।  प्लस टु मोर्डन इन्डियन स्कुलमा पढ्दै गर्दा उनी सङ्गीतमा पूर्ण रूपमा भिजिसकेकी थिइन् । जोश जाँगर उत्कर्षमा थियो, सङ्गीतमा केही नयाँ गर्ने उत्कट चाहना जागिसकेको थियो ।


‘रक गायिकाको इमेज अलि अर्कै थियो नि त । टाउको हल्लाउने, रफ एन्ड टफ हुने । छिमेकीले ‘हेर, फलानाकी छोरी त यसरी गीत गाएर, झ्याप्ले केटाहरुसँग बस्छे’ भन्थे । आफन्तले मेरो अभिभावकको मुखैमा भन्थे, ‘तपाईंकी छोरी त बिग्रिई, ड्रग्स खाएर हिँडे जस्ती छ, हेर्दा नै त्यस्तै देखिन्छ ।’


त्यसपछि जुर्‍यो कबवेबसँगको सहकार्यः

प्लस टु पढ्दै गर्दा नै उनले पहिलो एल्बम निकालेकी हुन् । सन् २००० जनवरी ८ मा ‘फेथलेस’ नामको एल्बम सार्वजनिक गरिन् । उनले उक्त एल्बम कबवेब ब्यान्डसँगको सहकार्यमा निकालेकी हुन् । कब वेबसँग कसरी जोडिनुभयो ? विगत कोट्याउँदै सोधिएको मेरो प्रश्नमा उनले भनिन्, ‘म सन् १९९७–९८ देखि नै विभिन्न कन्सर्टहरुमा प्रस्तुति दिन थालिसकेकी थिएँ । मोर्डन इन्डियन स्कुलमा पढ्दा मेरी आस्मा बज्राचार्य नामकी साथी थिइन् । उसैमार्फत् मैले कबवेब ब्यान्डका ड्रमर सिद्धार्थ धाक्वालाई भेटेँ । सिद्धार्थले दिवेस मुल्मीसँग भेट गराइदिनुभयो ।’

उनीहरुबीच भेटघाट तथा कुराकानी भयो । दिवेसलाई पुनमले रक सङ्गीतप्रतिको आफ्नो झुकाव र यसैमा केही नयाँ गर्ने सोचबारे जानकारी दिइन् । दिवेसले पनि पुनमको स्वर ‘हस्की’ भएको बताउँदै यो रक सङ्गीतका लागि ठ्याक्कै मेल खाने बताए । ‘केही नयाँ गरौँ भन्ने कोसिसमा थिएँ त्यसमाथि दिवेस दाइलाई भेटेपछि भोकल तिमीलाई सुट हुन्छ भन्नुभयो र यसरी नै सहकार्य सुरु भयो,’ पुनमले विगत स्मरण गर्दै भनिन् ।

त्यसपछि उनीहरुले एल्बम नै रेकर्ड गरेर अघि बढ्ने निर्क्यौल गरे । रेकर्डिङ गरियो सान्तना रेकर्डस्मा । एल्बम सार्वजनिक भएपछि निकै राम्रो प्रतिक्रिया पायो । त्यतिबेला नेपाली गायिकाको क्यासेट खासै बिक्री हुँदैनथ्यो । त्यसमाथि पनि रक गीत । तर उनले वर्षौं अघिदेखिको त्यो परम्परा तोडेकी थिइन् । यत्तिका सफलता पाइएला भनेर पुनम आफैँले पनि कल्पना गरेकी थिइनन् । पहिलो एल्बमको व्यापक सफलतापछि नै दोस्रो एल्बम निकाल्न उनलाई बल मिल्यो । सन् २००१–०२ तिर उनले दोस्रो एल्बम ‘एक्सपिरियन्स’ निकालिन् । त्यतिबेला उनी चीनमा एमबीबीएस गरिरहेकी थिइन् ।

दुईवटा एल्बममा कबवेबसँगको सहकार्य गरेकी उनलाई धेरैले कबवेब ब्यान्डकै सदस्य ठान्छन् तर उनी वास्वतमा ‘सोलो सिङ्गर’ थिइन् । उनलाई एल्बम निकाल्न कबवेबका साथै रवीन तामाङ, दीपक बज्राचार्य लगायतले पनि सहयोग गरे ।

आफन्तले भने, ‘झ्याप्ले केटाहरुसँग हिँड्छे, ड्रग्स त खादिनँ ?’

२१ वर्षअघि रक सङ्गीतमा लाग्न कत्तिको सहज थियो ? मैले मनको खसखस मुखले पोखेँ । जवाफमा उनले भनिन्, ‘त्यतिबेला कन्सर्टहरु भइरहन्थे, राति सधैँ अभ्यासका लागि जानुपथ्र्यो । कबवेब दाइहरुकोमा नै जान्थेँ । भाइ प्रितम सिंहलाई लिएर जान्थेँ । कहिलेकाहीँ मम्मीहरु पनि आउनुहुन्थ्यो ।’

त्यो समय स्मरण गर्दै उनले भनिन्, ‘रक गायिकाको इमेज अलि अर्कै थियो नि त । टाउको हल्लाउने, रफ एन्ड टफ हुने । छिमेकीले ‘हेर, फलानाकी छोरी त यसरी गीत गाएर, झ्याप्ले केटाहरुसँग बस्छे’ भन्थे । आफन्तले मेरो अभिभावकको मुखैमा भन्थे, ‘तपाईंकी छोरी त बिग्रिई, ड्रग्स खाएर हिँडे जस्ती छ, हेर्दा नै त्यस्तै देखिन्छ ।’

तर विश्वास मनै हर्ने एउटा गुण हो, जसको आधारशीलामा यो जीवनचक्र चलिरहेको छ । हो, उनका आमाबुवालाई छोरीप्रति पूर्ण विश्वास थियो । तसर्थ यस्ता कुराले उनीहरुको छोरीप्रतिको विश्वास डगमगाउन सकेन । तर यो कुरा साँचो हो, पुनमले पनि आफ्ना आमाबुवालाई विश्वासका लागि पर्याप्त कारण दिएकी थिइन् ।

साथै उनकी आमाले छोरीमार्फत् आफ्नो इच्छा पूर्ति गर्न चाहेकी थिइन्, सायद ।


प्रशंसकहरु अटोग्राफ पनि लिन आउनुहुन्थ्यो होला है ? उतिबेलाको सेलिब्रिटी चार्म बुझ्न मैले प्रश्न गरेँ । जवाफमा उनले भनिन्, ‘हो, अटोग्राफ लिन आउनुहुन्थ्यो । पहिला मेल पठाउने चलन थिएन, फेसबुकको पनि जमाना थिएन ।  चिट्ठीहरु धेरै आउँथे । यस्ता कुरा मैले सुनेकी मात्रै थिएँ तर रगतले लेखेको चिट्ठी पनि आए ।’


आत्मसन्तुष्टिका लागि सङ्गीतः

सङ्गीतमा लाग्दा आफूले खासै ठूलो समस्याको सामना गर्नु नपरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘भाग्य नै भनौँ, मैले खासै त्यस्ता समस्याको सामना नै गर्नुपरेन । साङ्गीतिक क्षेत्रमा सबै कुरा राम्ररी अघि बढ्यो, अझ भनौँ आफूले सोचेभन्दा बढी । त्यतिबेलाको युवापुस्ताले पनि एकदमै रुचाउनुभयो ।’

तर उनले सङ्गीतलाई करियर नै बनाउँछु भनेर कहिल्यै सोचिनन् । सङ्गीतमा लाग्नु उनको भित्री इच्छा थियो, इच्छापूर्तिको मार्गमा उनी अघि बढिरहिन् । उनले आत्म सन्तुष्टिका लागि गीत गाइन् । तर सङ्गीतमै लागेर जीविकोपार्जन गर्छु भन्ने आँट उनले गर्नै सकिनन् । सोचुन् पनि कसरी ? दुई दशकअघि सङ्गीतकर्म मार्फत् पेट पाल्छु भन्नु ‘आकाशको फल, आँखातरी मर्’ सरह थियो । किनभने सङ्गीतकर्मले दैनिक आवश्यकता पूरा गर्न नसकेपछि धेरै क्षमतावान् कलाकार विदेश भासिनु परेको छ । आफ्ना इच्छा, आकाङ्क्षालाई तिलाञ्जलि दिएर । 

परीक्षा थियो बायोलोजीको, केमेस्ट्री पढेर गएछुः

प्लस टु पढ्दा ताका आफू सङ्गीतमा अत्यधिक डुबेको उनी बताउँछिन् । त्यतिबेलाको रमाइलो घटना स्मरण गर्दै उनी भन्छिन्, ‘यो कुरा मैले कसैलाई पनि भनेकी छैन । १२ को बोर्ड परीक्षा थियो । सेन्टर केन्द्रीय विद्यालयमा थियो । म सङ्गीतमा कति डुबेकी रहेछु भनेर अहिले सम्झँदा अचम्म लाग्छ ।’

‘बायोलोजीको परीक्षा रहेछ, म केमेस्ट्री पढेर गएछु । त्यहाँ जाँदा सबैको हातमा बायोलोजी बुक, बायोलोजीको नोट्स, यस्तो डरलाग्यो कि त्यहाँबाट भागिदिएँ । कमर्स पढ्ने साथीको घरमा गएँ, अब घरै जान्न भनेर सोचेकी थिएँ,’ उनले हाँसोको फोहोरासहित भनिन् । 

बेलुका साथीको घरबाट उनको घरमा फोन गएछ, त्यसपछि उनी बेलुकी घर फर्किइन् । उनले एकछिन आमाबुवाको गाली पनि खाइन् तर पछि सम्झाएपछि कुरा मिल्यो । आखिर आमा–बुवाको मन न हो, सन्तान सधैँ राम्रो पथमा हिँडिदिए हुन्थ्यो भन्ने भित्री लोभ हुन्छ । 

उनी एमबीबीएस गर्दै गर्दा पनि विभिन्न कन्सर्टहरुमा जान्थिन् । त्यतिबेलै हङ्कङ गइन्, नेपालका विभिन्न स्थानमा पनि प्रस्तुति दिइन् । उनले एमबीबीएस पनि गरिन् र एमडी पनि पास गरिन् । त्यसैले सङ्गीतमा लाग्दा उनलाई केही हानि भएजस्तो लाग्दैन ।


‘सन् १९९९/२००० ताका  शिखर बिट कन्सर्ट नेपालभरी नै आयोजना भएको थियो । त्यसमा मेरो पनि प्रस्तुति थियो । अन्तिम कार्यक्रम बुटवलमा थियो । बुटवलमा चाहिँ पहिले नै अरू गायकहरुले गाउँदा अलिअलि ढुङ्गा हान्ने काम भइरहेको रहेछ । मेरो दुर्भाग्य भनौँ, मेरै पालोमा ढुङ्गा मेरो निधारमा लाग्यो ।’


रगतले लेखेको चिट्ठीः

सङ्गीतमा लाग्दाको समय उनलाई जीवनकै अविष्मरणीय पलमध्येको एक लाग्छ । त्यतिबेलाको समयलाई उनी असाध्यै मिस पनि गर्छिन् । ‘त्योे समय सोच्दा रमाइलो लाग्छ, आनन्द पनि आउँछ । हो, स्थिति अहिले फेरिएको छ । अहिले आफ्नो जीवन अन्तै मोडिएको छ । त्यतिबेला अविवाहित, फ्री, निर्धक्कसँग जे पनि गरिन्थ्यो,’ उनले आफ्नो समय याद गरिन् ।

‘तर मिस गरिन्छ भनेर दुःखी भएर बस्नुपर्ने कुरा पनि छैन । जीवन अघि बढिरहन्छ । अहिले मेरो प्राथमिकता भनेको मेरा बच्चाहरु हुन् । सही समय आएपछि फेरि गरौँला,’ उनले कुरालाई यसरी अर्थ्याइन् ।

डाक्टर बन्ने सोच उनको पहिलेदेखि नै थियो । उनले एउटा पुरानो अन्तरवार्तामा पनि भनेकी थिइन्, ‘म डेन्टिस्ट तथा रक स्टार दुवै बन्छु ।’ तर भाग्यको खेल, उनको जीवन अन्तै मोडियो । उनले भनिन्, ‘डेन्टिस्ट बन्ने सोच पनि थियो तर आमा–बुवाको इच्छाका कारण एमबीबीएस नै गरेँ । रक म्युजिकप्रति आफ्नो लगाव छँदै छ । मेरो समय आएपछि म यो सङ्गीतमा केही त गर्छु नै । अहिले मेडिकल डाक्टर छु, त्यसमा खुसी छु ।’


उनका श्रीमान् नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डाक्टर नवीन फुँयाल हुन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र फैलिए राष्ट्रिय स्तरमा के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छन् ।  उनी आजकाल डाक्टर श्रीमान्लाई बारम्बार भनिरहन्छिन्, ‘अब चाहिँ सङ्गीतमा केही गर्छु ।’ यसमा श्रीमान्को पनि पूर्ण समर्थन छ । ‘गर न, अल्छी भएर नबस’ डा. फुँयालले बारम्बार दोहोर्याउने शब्द यही हो ।


प्रशंसकहरु अटोग्राफ पनि लिन आउनुहुन्थ्यो होला है ? उतिबेलाको सेलिब्रिटी चार्म बुझ्न मैले प्रश्न गरेँ । जवाफमा उनले भनिन्, ‘हो, अटोग्राफ लिन आउनुहुन्थ्यो । पहिला मेल पठाउने चलन थिएन, फेसबुकको पनि जमाना थिएन ।  चिट्ठीहरु धेरै आउँथे । यस्ता कुरा मैले सुनेकी मात्रै थिएँ तर रगतले लेखेको चिट्ठी पनि आए ।’

बुटवल कन्सर्टमा दुर्व्यवहारः

बुटवलमा कन्सर्ट हुँदा उनीमाथि दुर्व्यवहार भएको सुनेकी थिएँ । के भएको थियो, खासै जानकारी थिएन । सोधिहालेँ, खासमा के भएको थियो ? जवाफमा उनले भनिन्, ‘सन् १९९९÷२००० ताका  शिखर बिट कन्सर्ट नेपालभरी नै आयोजना भएको थियो । त्यसमा मेरो पनि प्रस्तुति थियो । अन्तिम कार्यक्रम बुटवलमा थियो । बुटवलमा चाहिँ पहिले नै अरू गायकहरुले गाउँदा अलिअलि ढुङ्गा हान्ने काम भइरहेको रहेछ । मेरो दुर्भाग्य भनौँ, मेरै पालोमा ढुङ्गा मेरो निधारमा लाग्यो ।’

सुरुमा त उनी के भयो, ढुङ्गा कहाँबाट आयो भनेर उनी अलमल्ल परिन् । तर निधारबाट रगत बग्न थालेपछि  कार्यक्रम स्थगित गरेर उनलाई अस्पताल पुर्‍याइयो ।

यस्तै नमीठा अनुभवका कारण कतै सङ्गीतप्रति वितृष्णा जागेको त होइन ? मेरो प्रश्न सुन्नेबित्तिकै हतार–हतार उनले भनिन्, ‘होइन, होइन । विदेशमा पनि कन्सर्टहरु हेर्दा त्यस्ता घटनाहरु कति भइरहेको देखेका छौँ, सुनेका पनि छौँ । यस्ता कुरालाई म सामान्य नै मान्छु । यही कारणले सङ्गीतमा वितृष्णा भने भएको होइन ।’

सङ्गीतमा पुनः लागौँ कि भन्ने सोचः

नेपालको पहिलो महिला रक गायकको टाइटल होल्ड गर्दा आफूलाई गर्व लाग्ने पुनम बताउँछिन् । उनको एउटा मनले कहिलेकाहीँ सङ्गीतमा पुनः लागौँ कि भन्छ तर अर्को मनले यो पनि त ठीकै छ नि भन्छ । कहिलेकाहीँ अन्तरद्वन्द्व महसुस गर्छिन् । तर सङ्गीतलाई पूर्ण रूपमा छोडेँ भनेर उनलाई पछुतो भने लाग्दैन । याद भने पक्कै आउँछ, आफ्ना पुराना गीत सुन्दा ‘अहिले मैले गरेको भए यसरी गर्थेँ’ भन्ने लाग्छ उनलाई ।    

उनका श्रीमान् नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डाक्टर नवीन फुँयाल हुन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र फैलिए राष्ट्रिय स्तरमा के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छन् ।  उनी आजकाल डाक्टर श्रीमान्लाई बारम्बार भनिरहन्छिन्, ‘अब चाहिँ सङ्गीतमा केही गर्छु ।’ यसमा श्रीमान्को पनि पूर्ण समर्थन छ । ‘गर न, अल्छी भएर नबस’ डा. फुँयालले बारम्बार दोहोर्याउने शब्द यही हो ।


मेडिकल डाक्टर भएपछि जीवन एक किसिमले असाध्यै व्यस्त भएको थियो । नेपलीज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स बन्ने तयारीमा थियो । त्यसका लागि विज्ञानको प्राध्यापक चाहिन्थ्यो । नेपाली सेनाबाट कोही पनि थिएनन् । उनी त्यतातिर आकर्षित भइन् । आकर्षित हुने एउटै कारण थियो, पढाउने भएपछि घरपरिवारलाई समय दिन पाइन्छ, बच्चाहरुसँग बस्न र खेल्न पाइन्छ । त्यसपछि उनी एनाटोमीमा गइन् ।


यसका लागि सही समय नआइरहेको हो कि जस्तो भान हुन्छ उनलाई । अब त गर्छु भन्छिन् तर के कुराले अल्झाइहाल्छ । ‘अब मैले चाहिँ सोलो नभई एउटा ब्यान्डसँगै आउँ कि भनेर सोचिरहेकी छु,’ उनले भनिन् ।

उनले १०–१२ वर्षअघि नै तेस्रो एल्बमका लागि गीतहरु रेकर्ड गरिसकेको बताइन् । तर तेस्रो एल्बम सार्वजनिक गर्ने मौका भने जुरेन । सही समयको पर्खाइमा छु, जब आउँछ तब ती गीतमा केही परिवर्तन गरेर सार्वजनिक गर्ने योजनामा छु,’ सङ्गीतमा भविष्यका योजनालाई उनले यसरी सुनाइन् ।  

डाक्टरको यात्राः

अहिलेको यो यात्रा कसरी सुरु भयो ? उनको जीवनको अर्को पाटोको दैलो उघार्न मैले प्रश्न गरेँ । प्रश्नको जवाफमा उनले भनिन्, ‘आमा बुवाको सपना नै थियो, मलाई आर्मीमा राख्ने । धुलिखेल हस्पिटलमा काम गर्नेबेला हामी साथीहरुको एक समूहले नेपाली सेनामा निवेदन दिएका थियौँ । तीमध्ये २, ३ जनाको नाम निस्कियो । त्यसपछि म सन् २००७ मा नेपाली सेनामा आबद्ध भएँ । सुरुमा मेडिकल अफिसरका रूपमा काम गरेँ । सेनामा जागिर खाएपछि विभिन्न देशमा जानुपर्छ । फिल्ड एम्बुलेन्स भनेर डाक्टरले नै कमान्ड गर्छन् । गुल्महरु हुन्छन्, त्यहाँ पनि बसियो, मिसनहरुमा जानुपर्छ, गइयो ।’

मेडिकल डाक्टर भएपछि जीवन एक किसिमले असाध्यै व्यस्त भएको थियो । नेपलीज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स बन्ने तयारीमा थियो । त्यसका लागि विज्ञानको प्राध्यापक चाहिन्थ्यो । नेपाली सेनाबाट कोही पनि थिएनन् । उनी त्यतातिर आकर्षित भइन् । आकर्षित हुने एउटै कारण थियो, पढाउने भएपछि घरपरिवारलाई समय दिन पाइन्छ, बच्चाहरुसँग बस्न र खेल्न पाइन्छ । त्यसपछि उनी एनाटोमीमा गइन् ।

एनाटोमी गरेका कारण उनी आफ्नो समय धेरैजसो कलेजमा पढाएर बिताउँछिन् । उनी पहिलो र दोस्रो वर्षका एमबीबीएसका विद्यार्थीलाई पढाउँछिन् । उनलाई पढाउने विद्यार्थीहरुले उनलाई रक गायिका भनेर चिन्छन् । पढाउँदै गर्दा गीत गाइदिन आग्रह पनि गर्छन् । उनलाई कार्यक्षेत्रमा पनि धेरैले चिन्छन् । कतिले पुनः सङ्गीतमा आउनुपर्‍यो भनेर प्रेरित पनि गरिरहेका हुन्छन् ।

आर्मीको कडा नियममा बाँधिनुपर्दा अप्ठ्यारो भएनः

नेपाली सेनामा आबद्ध भएपछि आफूले कहिले पनि अप्ठ्यारोको सामना गर्नु नपरेको उनले बताइन् । उनलाई नेपाली सेना भएपछिको जीवनमा खासै भिन्नता पनि लागेन । यसबारे उनी भन्छिन्, ‘रक गायिकाको इमेज भए पनि म त्यस्तो ग्रन्ज लगाउने, ड्याङ ड्याङ डुङ्डुङ गर्दै हिँड्ने खालको कहिले पनि थिइनँ, स्टेजमा चाहिँ हो, त्यो कहाँबाट आउँदो रहेछ । तर म सधैँ साधारण भएर नै हिँड्थेँ । मान्छेले हेर्दा सोझो र अनुशासित खालकै थिएँ । आमाबुवाले स्वतन्त्रता दिनुभएको त थियो तर दायाँबायाँ केही नगरी आफ्नै बाटोमा हिँडिरहेकी थिएँ । किनभने म होस्टेलमा बसेको मान्छे, होस्टेलमा पनि आफ्नो छुट्टै नियम, अनुशासनको कुरा हुन्छ । त्यसैले नेपाली सेनामा आबद्ध भएपछि त्यति गाह्रो भने भएन ।’

सङ्गीत अब करियर बन्न सक्छः

उनी सङ्गीत क्षेत्रमा सक्रिय छैनन् तसर्थ नेपाली म्युजिक सिनलाई नजिकबाट नभएपछि टाढैबाट नियाल्छिन् । अहिलेको समयलाई उनले पहिलेसँग तुलना गर्दै भन्छिन्, ‘पहिला हाम्रो समयमा दुई तीनवटा च्यानल मात्रै थिए तर अहिले त मानिसहरुले आफ्नै युट्युब च्यानल बनाएर थुप्रै मानिसमाझ पुग्न सक्छन् । अहिले विभिन्न रियालिटी सो पनि छन् नि । यसमार्फत् कति राम्रा गायकहरु आइरहनुभएको छ ।’

अब सङ्गीतलाई उनी करियरका रूपमा पनि आत्मसाथ गर्न सकिने बताउँछिन् । ‘तर त्यो बेला थिएन । ४–५ जनाले सक्नुहुन्थ्यो होला तर धेरैका लागि गाह्रो थियो । त्यतिबेला पेट पाल्ने स्थिति नै थिएन । त्यसैले मैले सङ्गीतलाई चाहिँ करियर बनाउँदिन भनेर नै सोचिसकेकी थिएँ । त्यही भएर मेडिकल फिल्डप्रति नै आकर्षित भएँ ।’

कता हराएँ भनेर सोच्नुहोला, म आफ्नो मेडिकल फिल्डमा व्यस्त छुः

नोबल कोरोनाभइरसको  त्रास संसारभरि फैलिरहेका बेला उनले आफ्ना प्रशंसकलाई सावधानी अपनाउन र धेरैभन्दा धेरै हात धुन सल्लाह दिएकी छिन् । ‘जसलाई रुघा–खोकी लागेको छ, उहाँहरुले अनिवार्य मास्क लगाउनुहोला । दिनमा नियमितरुपमा हात धोइराख्नुहोस् ।’ 

साथै उनले अहिलेसम्म उनलाई माया गर्ने, आफ्नो गीत मन पराइदिने दर्शक, श्रोतालाई आफू कतै नहराएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म कता हराएँ भनेर सोच्नुभएको होला, म आफ्नो मेडिकल फिल्डमा नै व्यस्त छु ।’

आफ्ना दर्शकका लागि एल्बम सार्वजनिक गर्ने योजनामा भएको उनले बताइन् । तर त्यो दिन कहिले आउँछ, त्यो समयको गर्भमै लुकेको छ ।

कुरालाई बिट मार्नुअघि उनले आफ्नो पुरानो तथा निकै चर्चित गीत ‘भनुँ के म तिमीलाई’ बोलको गीत गाइन् । गाउँदै गर्दा मन हर्ने स्वरको तरेलीसँगै उनका आँखाका परेली नाचिरहेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...