केन्द्रीय संस्करण

कोरोनालाई ‘धन्यवाद’, जननी र जन्मभूमिलाई सलाम !

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0

  -राजेन्द्रबहादुर सिंह 

आमा ! मलाई थाहा छ, तिमी यतै कतै छ्यौ । सुत्ने कोठाको भित्तामा झुन्ड्याइएको तिम्रो तस्बिरले मलाई ‘खाना पाक्यो, खान आइज’ भनी बोलाएको मेरा यी कानले कैयौँ पटक टाठ्ठै सुनेका छन् । हिजो–आज किन हो कुन्नि ! अनायासै मेरो मुटु तिम्रो यादमा भक्कानिन्छ । तिमी मेरो स्मृतिको मानसपटलमा चलचित्रसरि चलिरहन्छ्यौ । तिमी र म भेलखोलाको उकालोमा अघि–पछि हिँडिरहेको देख्छु । मालिवनको भीरमा सँगसँगै घाँस काटिरहेको देख्छु । तिमी मलाई घाँसको भारी बाँध्न सिकाइरहेकी हुन्छ्यौ । अनि घाँसको भारी बाँधिसकेपछि फाटेको धोतीको आँचलमा बाँधेकोे कनिका र तिल आफूले नखाई खान दिन्छ्यौ र मलाई एकतमास हेरिरहन्छ्यौ । मानौँ, तिमी ध्यानमग्न छ्यौ । म फेरि कनिका माग्छु । तिमी झस्किन्छ्यौ । कनिका सिद्धिएको म तिम्रो भावभङ्गीबाट थाहा पाउँछु । मेरो भोक नमेटिएकोमा तिमी खिन्न हुन्छ्यौ । आजकल एकटकले म तिम्रो तस्बिर हेरिरहन्छु । अनि मलाई तिमी कनिका दिन खोज्छ्यौ, म थाप्न खोज्छु तर एक्कासि झल्यास्स हुन्छु । आजभोलि यस्तै–यस्तै भइरहेको छ । यत्रो ठूलो जहान बच्चाका लागि मैले कसरी चामल, नुन, तेल र दाल जोहो गर्दो हुँ भनेर तिमीलाई पीर पर्दो हो । त्यसैले सायद तिमी मलाई यसरी कनिका दिन खोेज्दी हौ । 

आमा, तिमीले जे सोचिरहेकी छ्यौ, त्यो साँचो हो । म काठमाडौँको चार भञ्ज्याङ भित्रको एक पुरानो घरको छिँडी कोठामा सरकारले जारी गरेको लकडाउन निर्देशनको जकडबन्दीमा छु, भित्तामा झुन्ड्याइएको तिम्रो तस्बिरसँगै । घरभवन तथा सडक निर्माण कार्यहरु बन्द भएकाले तिम्री बुहारी र म काम गर्न जान नपाएको पनि आधा महिना जति नै भइसक्यो । पट्यार लागिरहेको छ । बेचैनी र छटपटीमा छु । मलाई अचाक्लि सकस छ । भएको चामल, नुन, तेल, दाल अब सिद्धिन थाल्यो । खाद्य पसलमा दैनिक उपभोग्यका सामग्रीहरुको आपूर्ति कम भएको छ रे । भन्छन्, नगद हुँदा पनि दाल, चामल पाउन कठिन छ । खल्तीमा सुको पैसा छैन । ऋणसापट गर्ने सबै ठाउँमा हात थापिसकेको छु । साहुले अब उधारो नदिने र पुरानो चुक्ता गर्नुपर्ने उर्दी गरिसकेको छ । अब के गर्ने, कसो गर्ने भनी रन्थनिरहेको छु । तिम्रा नातिनातिनाको मुखमा माड कसरी लगाउने भन्ने उपाय खोजिरहेकोछु तर कुनै उपाय पनि सुझेको छैन । जहानबच्चा कसैलाई कोरोनाले छोइहाल्यो भने के गरुँला भन्ने सन्त्रासले समेत मन पिरोलिइरहन्छ । 

दुई दशकअघि एकाबिहानै झिसमिसेमा सहर जान हिँडेको त्यो दिन सम्झिन्छु, सम्झिन्छु अनि राते कुकुरले मलाई डिल बगरसम्म पछ्याएको । सायद, रातेले मलाई घर फर्कौ भन्दा मैले नमाने पछि दुःखित हुँदै फर्केको हुनुपर्छ त्यतिबेला । तिमीले पनि भनेकी थियौ, उहिले मानिसहरु राजाले देश निकालाको सजाय सुनाउँदा मात्र गाउँ छोड्थे । तिमीले के बिराएका छौ र गाउँ छोड्दैछौ । सहर छिर्नु भनेको देशमै देशनिकाला हुनुसरी हो । देश निकालाको सजाय भुक्तान गर्नु जस्तै हो । कुनै बखत गाउँ छोडी सहर हिँडेकाहरु अचेल जन्मभूमिको यादमा छटपटिरहेका छन् । आजकल उनीहरुलाई ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छिन्,’ भन्ने चेतले लखेटिरहेको छ । महमा डुबेको मौरी जस्तै जीवन सहरमा बाँच्न बाध्य भएका छन् । उनीहरु अब चाहेर पनि गाउँ फर्कन सक्ने स्थितिमा छैनन् । त्यसैले तिमी पनि गाउँ नछोड । 

बर्खामासमा लेकमा गाईभैँसी पाल्नुपर्छ, मोही पार्नुपर्छ । घ्यू जम्मा गर्नुपर्छ अनि खोलामा पानी घट्ट जोत्नुपर्छ । जलदेवीलाई पुज्नुपर्छ । खोला वरपर फोहोर गर्नुहुन्न । दुवाली छेकी विषादी हालेर माछा र गँगटाहरु सखाप पार्नुहुन्न । माछा र गँगटाहरु पनि ईश्वरकै अंश हुन् । हिउँदमा बेसी झर्नुपर्छ । गेडागुडी, गुन्द्रुक, ढिँडो खाउँला । गुज्जरी भैँसी छँदैछ, दुहौँला अनि टन्न दही, मही, घ्यू खाउँला । तर त्यतिबेला तिम्रा यावत कुराहरु मैले सुनेनसुनेझैँ गरी म सहर हिँडे । जुन कर्मको फल म आज भोग्दैछु । 

तिमीले भन्थ्यौ, पुर्खाका गाथा गाँस्नुपर्छ, आफ्ना कथा कहनुपर्छ । असल भइन्छ । जान्ने भइन्छ । हामी त विद्वान बन्ने ध्याउन्नमा रहेछौ, आमा । असल हुने पाटो छुटेछ । आँखा मात्रै हाम्रा रहेकाछन्, दृष्टिकोणहरु अर्कैका बनेका छन् । मथिङ्गल मात्र हाम्रो छ, सोच्ने दिमाग अर्कैको बनेको छ । बौद्धिक दासताको जीवन जिउनु परेको छ । आफ्नो गौरव–गाथा बिर्सिइएछ, अरूको कथा कण्ठाग्र गरिएछ । विडम्बना ! हामी पहिचानको कुरा गर्छौं तर हाम्रो पहिचानको रेखाङ्कन अर्कैले गरिदिन्छ । त्यति बेला मैले तिम्रा कुरा गम्न सकिनँ । 

तिमी भन्थ्यौ, बरु खोरिया खेती गर्नुपर्छ । विरौटामा धान रोप्नुपर्छ । ढिँडोपीठो खानुपर्छ । पाखुरा बलिया हुन्छन् । अहिले पो पत्तो भयो, ढिँडो, अदुवा, पुदिना, बोझो, टिमुर, बेसार आदि मसाला र खानेकुरा मात्र होइनन्, औषधि पो रहेछन् । पल्लो घरका बाजे एक शताब्दीको उमेरमा ठमठमी हिँड्न सक्नुको रहस्य यो पो रहेछ । हाम्रो जिब्रो मात्र आफ्नो रह्यो, स्वाद अर्कैको बस्यो । बनिबनावट पोका, बट्टा, साँधेका, तारेका, तेल र मसालायुक्त खाद्य परिकारहरुमा हाम्रो रस बस्यो, लत लाग्यो । महीको सट्टा बोतलका झोलपदार्थ, ढिँडोको सट्टा पिज्जामा दिलचस्प भइयो । फलाहारको सट्टा मांसाहार गर्न थाल्यौँ । 

तिमीले भन्थ्यौ, चोरले पनि आफ्ना छिमेकका दस घर बिराएर मात्र चोर्छ । ऐंचोपैंचो गरी गर्जो टार्नुपर्छ । आफूलाई चाहिँदा लिनुपर्छ, छिमेकीलाई चाहिँदा दिनुपर्छ । दान गर्नु अर्को जुनीलाई साँच्नु हो । छिमेकी के चाहिएला र, कहिल्यै नसोच्नु । कुनै समय छिमेकीको चुल्होको खरानीका लागि समेत हारगुहार गर्नुपर्ने अवस्था आउनसक्छ । झुटो बोल्नुहँुदैन, जालझेल गर्नुहुँदैन । पाप लाग्छ । यो सबै तिम्रो असल छिमेकीपन, ‘वसुधैव कुटुम्बकम’् को आधारशिला रहेछ तर आजकल यहाँ यस्तो विचारको प्रधानता कहाँ छ र ! मानिस एकलकाँटे बनेको छ । हरेक सम्बन्ध र व्यवहार उसले पैसामा साट्न खोज्छ । सक्दो अकुत सम्पत्ति जम्मा गर्छ । कालोबजारी, जम्माखोरी अनि अवैध धन्दा चलाउँछ । मानवता हराएको छ । 
तिमी भन्थ्यौ, रूख काट्नु हुन्न, सिकार खेल्नुहुन्न । बन देवी रिसाउँछिन् । वनदेवीको आराधाना गर्नुपर्छ । यसो गरे सह हुन्छ । वास्तवमा, तिमीले मलाई पारिस्थितिक प्रणालीप्रतिको सुचेत ममा सञ्चारित गर्न खोजेकी रहिछ्यौ तर मैले ग्रहण गर्न सकिनँ । वन देवीलाई ढुङ्गो देखेँ । खोलाको जललाई सिर्फ पानी अनि माछा र गँगटालाई फगत मेरो सिकार । 
 
एक दिन हामी घाँस काटेर चंखेली लेकबाट फर्किंर्दै थियौँ । गौरीपाटनको थुम्के पोखरीको छेउमा थकाइ मार्न भारी बिसायौ । भोक र प्यासले रन्थनाएको थियो । सधैँझैँ तिमीले मलाई कनिका र तिल दियौ । म खाँदै थिए । बेलुकीको सिरसिरे हावाले थुम्के पोखरीको पानीमा एकनास तरङ्ग पैदा गरिरहेको थियो । तिमी केहीबेर हरायौ, तरङ्गसँगै । केही समयपश्चात अनायासै बर्बराए सरी भन्यौ, रम्भा बहिनी र मेरा दौँतरीहरु बाल्यकालमा यसै पोखरीमा भैँसीहरु पानी खुवाउन लाउँथ्यौँ । अहिले को कहाँ पुगे, को कहाँ गए । धेरै जनाको त त्यति बेला फैलिएको झाडापखालाले सिकार बनायो । मानिसहरुले गाउँमा तामसी भोजन गर्न सुरु गरे । ध्यानधर्म गर्न छोडे । सामाजिक कार्य गर्न छोडे । उच्छृङ्खल भए । गाउँघर सफासुग्घर गर्न त्यति मतलब गरेनन् । त्यसैले देवी रिसाइन् । झाडापखाला फैलियो । एउटा शवको दाह संस्कार गरी फर्किने बित्तिकै गाउँमा अर्को शव बनिसकेको हुन्थ्यो । गाउँमा शवदाह गर्नका लागि काठपात सिद्धिसकेको थियो । झाडापखाला लागेको बिरामीलाई पानी र अरू झोल पदार्थ ख्वाउनु हुँदैन । खायो भने बिरामी झन् जोखिममा पर्छ भन्ने मानसिकता व्याप्त थियो । 

रम्भा बहिनीलाई त्यति बेला अनौठो संयोग पर्यो । रम्भा उनको बाआमाको एक्लो सन्तान थिइन । उनका बाआमाले औधी माया गर्थे तर उनलाई पनि झाडापखालाले समात्यो । झाडापखाला भएकोलाई मानिसको बस्तीबाट टाढा गोठमा राख्नुपर्छ नत्र अरूलाई सर्छ भन्ने सोच थियो । उनी पानी–पानी भनी छटपटाइरहेकी थिइन । गाउँका आधा जति मानिसहरु झाडापखालाले खाइसकेको थियो । सबैलाई उनी अब बाँच्दिनन् भन्ने लागेको थियो । उनलाई पनि घरबाट टाढा गोठमा राखियो । पानीका लागि छटपटाएको छोरीको दर्दलाई उनका बाबुआमाले सहन सकेनन् । आफ्नी छोरीको अन्तिम इच्छा पूरा गरी दिन्छौ भनी एक कसौँडी पानीसहित घरदेखि टाढा गोठमा छोडिदिए । अचम्म त के भने उनी संयोगले महामारीबाट जोगिइन् । उनले प्रशस्त पानी पिइछिन । पानीले उनको ज्यान जोगाएछ । हामिले झाडापखाला लाग्दा पानी पिउनुपर्छ भन्ने कुरा धेरै पछि मात्र थाहा पायौँ । पानीले मानिसको ज्यान जोगाउँछ, झाडापखाला लाग्दा पानी खानुपर्छ भन्ने थाहा भएको भए सायद गङ्गा बहिनी र अरूहरु पनि बाँच्थे होलान् । कान्छा ! तिमी त स्कुल जान्छौ, तिमीलाई थाहा होला नि, मान्छे मरेपछि कहाँ जान्छ होला ? म अक्क न बक्क भएँ । 
साँच्चै भनौँ भने आमा, तिम्रो प्रश्नको जवाफ मैले मेरो चालिसको उत्तराद्र्धसम्म पनि पत्ता लगाउँन सकेको छैन । गुरु–गुरु आमाहरुले विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा कहिल्यै पनि मलाई पराभौतिक विज्ञान, नीतिशास्त्र, ज्योतिषशास्त्र आदि पढाएनन् । आत्मा र परात्माका कुरा सिकाएनन् । सिकाए त केवल अणुशास्त्र, अस्थिप्रणाली, अर्थतन्त्र र अङ्कगठन । यी विद्याले मलाई बुद्ध र अरूलाई बुद्धु देख्ने बनाएको छ । पराभौतिक विज्ञान र नीतिशास्त्र त अब कुविद्याको कोटीमा दर्ज गरिएका छन् । माफ गर आमा, मैले तिम्रो प्रश्नको उत्तर खोज्न सकिनँ । 

अनि आमा, हाम्रो कस्तुरीको जस्तो हालतलाई पनि माफ गर्नु । जसरी कस्तुरी आफ्नो नाभीमा भएको बिनाको बास्नाको भेउ नपाई बास्नाको लालायित भई मन्दाउदै सारा जङ्गल चाहार्छ । जङ्गल चाहार्दा चाहार्दै रन्थनिएर रनभुल्लमा परेको मौका छोपी सिकारीले कस्तुरीको सिकार गर्छ । हाम्रो हाल–चाल पनि योभन्दा भिन्न कहाँ छ र, आमा । हामी पनि कस्तुरी जस्तै आफ्नो बास्नाको भेउ नपाई अरूको ‘परफ्युम’ पछ्याउने ध्याउन्नमा छौ । प्राचीन तथा वैदिक परम्परा र संस्कृतिलाई अरू कसैले हिजोआज खडा गरी दिएको तुलोमा जोख्न खोज्छौ । तिनीहरुमा खोट खोज्छौँ । व्याप्त विभिन्न कमसल–कमजोर पक्षहरु सुधार्नु र असल तथा वैज्ञानिक पक्षहरुको पक्षपोषण गर्नु आफ्नो कर्तव्य कहिल्यै सम्झिँदैनौँ । अरूहरुले बदलिँदो परिस्थितिअनुसार आफू र आफ्ना संस्कृति तथा परम्पराहरुलाई सच्याएको हामी हेक्का राख्दैनौँ । बरु हामी अरूले बनाएका बनिबाउ चालढाल तथा रीतिथितिबाट अनुप्राणित हुन्छौँ । हामी कर्तव्यच्यूत छौँ । 

आमा, कोरोना कहर एक युगको अन्त्य र अर्को युगको अभ्युदयको छेदक बनेको आभास भएको छ । यसले हाम्रो संस्कृति तथा परम्परालाई पुनरुत्थान तथा पुनर्जागरण गर्ने अवसर प्रदान गरेको छ । हाम्रो जीवन दर्शन र जीवन शैलीलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुुुस गराइदिएको छ । यसैगरी शिक्षा र विकासका मोडलहरुलाई समेत संशोधन गर्न सुझाएको छ । यी सबै अवसरहरु जुटाइदिएकोमा कोरोना तिमीलाई समेत धन्यवाद ! 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.