शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महामारी कोरोनाको असरः जानकी नवमीमा जनकपुरधामका मन्दिरहरु सुनसान

जानकी मन्दिरमा केक काटियो !
शुक्रबार, १९ वैशाख २०७७, १९ : ५६
शुक्रबार, १९ वैशाख २०७७

जनकपुर । आज वैशाख नवमी तिथि अर्थात् जानकी नवमीको दिन हो । माता सीताको जन्म भएको दिनलाई जानकी नवमी भनिन्छ । यस दिन जनकपुरधाम सहित पूरै मिथिलाञ्चलका मन्दिरहरु उत्सवमय हुन्थ्यो । तर अन्य वर्ष झँै जनकपुरधाममा रौनकता भने देखिएन । लकडाउनले गर्दा यस वर्ष जानकी जन्म महोत्सव निकै प्रभावित भयो ।

जानकी जन्म महोत्सवको दिन पनि जानकी मन्दिरको मूलढोका बन्द नै रह्यो । सम्भवतः जानकी मन्दिरको इतिहासमा पहिलो पटक जानकी नवमीका दिन समेत श्रद्धालुहरुका लागि मन्दिरको मूल ढोका बन्द नै गरिएको छ । जानकी मन्दिरको पहिलो पटक मुल ढोका बन्द भयो ।

दैनिक हजारौँ श्रद्धालु भक्तजन आउने जानकी मन्दिरमा कोरोना संक्रमण त्रासको प्रभाव जानकी नवमी उत्सवमा समेत देखिएको छ । जानकी नवमीका दिन समेत छिट फुट व्यक्तिहरु मात्रै माता जानकीको दर्शनका लागि पुगेको थियो ।

जानकी मन्दिरमा अन्य वर्ष आजको दिन विशेष पूजा अर्चना तथा नाचगान गरेर जन्मको गीत ‘सोहर’ गीत गाएर मनाइने गरिन्थ्यो । यस वर्ष भने खल्लो अनुभूती भईरहेको जानकी मन्दिरमा पूजा गर्नका लागि पुगेकी स्थानीय श्रद्धालु सुशिला देवीले बताइन् ।

आजको दिन पनि मन्दिरमा नआएर घरमै पूजा अराधना गर्नका लागि उत्तराधिकारी महन्थ रामरोशन दासले सार्वजनिक रुपमै आग्रह गरेका थिए । मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख रहेको छ ।

महामारी कोरोनाको त्रास तथा नेपाल सरकारले लगाएको लक डाउन, सामाजिक दूरी पालन गर्नु पर्ने बध्यताका कारण हामी पनि मन्दिरमा यस वर्ष न आउन श्रद्धालूभक्तजनलाई आग्रह गरेका छौँ, महन्त दासले जानकी नवमीमा घर–घरमा दियो बाली साँझ ७ बजे आज बेलुकी आरती गर्न सबै जनालाई आग्रह समेत गरे ।

मन्दिरमा हुने शोभा यात्रा, गीत संगीत, नाचगान सबै कोरोनाको कारण बन्द गरिएको छ । आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा मनाइने भएको छ ।

जानकी नवमीको अवसरमा केकको प्रसाद

जानकीको जन्मदिनको अवसरमा जानकी मन्दिरमा प्रसाद स्वरुप केक अर्पण गरिएको छ । मन्दिरका उत्तराधिकारी भनिएका महन्त रामरोशन दास वैष्णवले आज विहानको विशेष पूजा आजा गर्ने समयमा माता जानकीलाई प्रसाद स्वरुप केक अर्पण गरे । पछि सो प्रसाद मन्दिरमा उपस्थित श्रद्धालुभक्तजनलाई समेत बाँडियो ।

यता माता जानकी जन्मको अवसरमा केक काटिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको पक्ष÷विपक्षका स्वरहरु सुनिन थालेका छन् । 

कसैले परम्परा तोडेर जानकी मन्दिरमा केक कटिएकोे भन्दै रोष प्रकट गरेका छन् भने कसैले केक समेत अन्य मिठाईहरुको परिकार भएकोले यसको बिरोध गर्नुको तुक नरहेको बताउँछन् ।

केक अर्पण गरिएको विषयमा उत्तराधिकारी महन्त दासले माता जानकीलाई लडु, पेडा लगायतका मिठाईहरु प्रसादको रुपमा अर्पण गरिदँै आएको र केक पनि मिठाई नै रहेकोले यसलाई अन्यथा रुपमा नलिईनका लागि सबैमा आग्रह गरे ।

बिहारकुण्डमा जानकी नवमी पूजापाठमै सिमित

जानकी नवमीको अवसरमा धार्मिक नगरीको रुपमा प्रख्यात रहेको जनकपुरधामको जानकी मन्दिर लगायत सबै मन्दिरहरु आजका दिन झकिझकाउ हुन्थ्यो । तर यस बर्ष भने इतिहासमा पहिलोपटक सबै मन्दिरहरु सुनसान नै रहेको छ ।

जनकपुरधाममा विगत देखि नै प्रत्येक वर्ष धुमधामका साथ मनाइँदै आएको जानकी नवमी यस वर्ष कोरोना महामारीका कारण कुनैपनि धार्मिक स्थलमा विशेष उत्सव देखिएन । 

विश्वभरी कोरोना भाइरसको महामारी फैलिएका कारण नेपाल सरकारले लकडाउन गरेपछि जानकी नवमी उत्सवमा समेत असर परेको छ ।

लकडाउनको पालना गर्दै जानकी नवमीको अवसरमा यस वर्ष कुनै प्रकारको उत्सव नगरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा नम्बर ८ बिहारकुण्ड स्थित सिया रघुवर कुञ्जका महन्त रामकिशोर शरणले जानकारी दिए । 

उत्सवकै समयमा कोरोना महामारीको त्रास रहेकाले नेपाल सरकारले गरेको लकडाउनको पालन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले भने ।

प्रत्येक वर्ष झैँ बैशाख शुक्ल नवमीको दिन मनाइँदै आएको जानकी जन्मोत्सवका दिन यस मन्दिरमा भव्य कार्यक्रमको आयोजना हुँदै आएको थियो । तर यस वर्ष मन्दिर भित्रै जानकीको जन्मोत्सवको अवसरमा पूजा आराधना गरिएको महन्त शरणले बताए ।

उनले भने, 'यस बर्ष हामीले अयोध्याबाट जगतगुरु राघवाचार्यजीलाई बोलाएर  भक्तमाल कथा प्रवचनको आयोजना गर्ने सम्पूर्ण तयारी यसअघि नै गरिसकेका थियौं, तर यस महामारीका कारण अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेका छौं ।'

उनले मन्दिरकै पूजारी लगायत सहयोगीहरुद्वारा बधैया गीत, सोहर समदाउन, आरती गरी जानकी नवमी मनाईएको बताए । आजदेखि ६ दिनसम्म प्रत्येक साँझ मन्दिर भित्रै बधैया गान सहित कार्यक्रमको आयोजना गरिने उनले जानकारी दिए । 

बिहारकुण्डको चारैतिर अवस्थित ११ वटा मन्दिरमा कोरोना महामारीका कारण यस्तै सामान्य तरिकाले मन्दिरभित्रै आन्तरिक रुपले जानकी जन्मोत्सव मनाउन लागिएको उनले स्पष्ट पारे ।

यसअघिका वर्षहरूमा जानकी नवमीमा शोभा यात्रा, दुधमती शाही स्नान, रामायण मेला लगायतका कार्यक्रमको आयोजना गरी जानकी नवमी भव्यताका साथ मनाइन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप