केन्द्रीय संस्करण
कोरोना कैरन– १९

राष्ट्रवादको भेलमा भोकाको काल

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline2

 

 

कोरोना भाइरस छोए नि मर्नी
लकडाउन भयो खै अब के गर्नी ?
सारा संसार लगाइए ताला
काम छैन गरीबले के खाला ?

लौन हजुर हो कता जानी ?
काम छैन अब गरीबले के खानी ?
लौ न हजुर के कसो गर्नी हो ?
खर्च छैन अब पेट केले भर्नी हो ?

–डम्बर गन्धर्व

 

यो कोरोना विषाणुबाट उत्पन्न हाहाकारमा जन्मेको गीत हो । सरल र भावमय, जीवन्त र सशक्त गीत । जनजीवनमा लकडाउनद्वारा सिर्जित निर्मम यथार्थको जैविक अभिव्यक्ति हो यो । भुइँमान्छेहरुका दुःख टिपेर भुइँमान्छेले वेदनाको भाकामा रचेको भुइँमान्छेहरुको गीत । मेरो विचारमा लोकलाई आपत–विपतको करूण क्रन्दन सुनाउन बाटाबाटै र घरघरै धाउने समकालको सर्वोत्कृष्ट गीत हो यो ।

यी गीतकार र गायक टु–इन–वानको घर छ गोरखा, पालुङटार । बसाइ छ काठमाडौँको डेरामा । आफ्नो समेत गन्दा डेरामा खाने मुख पाँचवटा छन्, कमाउने मनुवा छन् डम्बर गन्धर्व एक्लै । अत्याउँदै आएको लकडाउनले बन्दुक ताकेर गाउँ जाने बाटो छेकिदियो । फुक्काफाल घुम्न पाउँदा गाइने गन्धर्वलाई राजधानीमा चारो खोज्न उति गाह्रो थिएन । जब लकडाउन लाग्यो, उनको घुमफिरको हक हरण भइहाल्यो । उनका गीत सुन्ने मनकारी जनहरु  घरभित्र लुके । र, उनी खाली सडकको पेटीमा बसेर आकाश–बतासलाई गीत सुनाउन विवश भए । गीत सुन्ने निराकार श्रोता न बोल्छ न आनासुकी कृपा गर्न थैलीको मुख खोल्छ । दिनदिनै चारो खोजिखाने रसिक र अथक गन्धर्वलाई पर्‍यो अब फसाद ! फसाद पर्दा जोसँग जे हतियार छ, प्राण धान्न उसले त्यही प्रयोग गर्छ । गोरखाली डम्बर गन्धर्वसँग गलाको कला छ, सारङ्गीको धून छ । लकडाउनका आखेटरकारी आँखा छलेर सारङ्गी रेट्दै उनी शहरी बस्तीका कुनाकानी घुम्छन् । सुरक्षाकर्मीले उनलाई अनेक पटक भेट्यो । तर आजसम्म कुटिहालेको भने छैन । यी गन्धर्वका गीतको मर्म, स्वरको सम्मोहन र बाजाको माधुर्यको जादुगरी प्रभावले होला शायद । छनलाई प्राण धान्न दुःखदुःखै छ, तैपनि यी गन्धर्वको परिवारमा आजसम्म भोकले कोही मरेको छैन । तर सप्तरीको पथरीका मुसहर मलर सदा मरे । उनका जिउने हतियार केवल पाखुरो र कोदालो थिए । साहु सरकारको लकडाउन गरीबलाई कालको उपहार लिएर आयो । र, निस्तेज, निरुपाय र  असहाय भई अकालमै मलर सादा मरे ।


लकडाउन ज्यान बचाउन भनी लगाइयो । तर न दूरदर्शी व्यवस्थित योजना छ, न मनग्य समग्र तयारी छ, न सम्भावित अनेक झैझमेलाहरुको यथार्थपरक पूर्वानुमान छ । भोग्दैजाँदा गरीबगुरबाहरुका लागि साहु सरकारको अविवेकी लकडाउन ज्यानमारा साबित भयो । मधेश–तराईको व्यापक विस्तारमा लकडाउनले ल्याएको भोकले मलर सदाजस्ता थुप्रै दलित मरे हुनन् । तर ती सञ्चार महलमा समाचार बनेनन् । समाचार बन्न न ती धनले ठूला थिए, ती न जातले, न वर्णले, न वर्गले, न पदले, न सोर्सफोर्सले, न धाकधक्कुले ठालु थिए ।


लकडाउन ज्यान बचाउन भनी लगाइयो । तर न दूरदर्शी व्यवस्थित योजना छ, न मनग्य समग्र तयारी छ, न सम्भावित अनेक झैझमेलाहरुको यथार्थपरक पूर्वानुमान छ । भोग्दैजाँदा गरीबगुरबाहरुका लागि साहु सरकारको अविवेकी लकडाउन ज्यानमारा साबित भयो । मधेश–तराईको व्यापक विस्तारमा लकडाउनले ल्याएको भोकले मलर सदाजस्ता थुप्रै दलित मरे हुनन् । तर ती सञ्चार महलमा समाचार बनेनन् । समाचार बन्न न ती धनले ठूला थिए, ती न जातले, न वर्णले, न वर्गले, न पदले, न सोर्सफोर्सले, न धाकधक्कुले ठालु थिए । ती मधेशी दलित विभेदकारी हिन्दु वर्णव्यवस्थाको नारकीय पीँधमा थिए । र, मक्खिचुस पूँजीवादी वर्गव्यवस्थाको पनि ती नारकीय पीँधैमा थिए । तिनमा समाचार बन्ने हैसियत वा आकर्षण आखिर थियो नै के  र ?

आफ्नो विपन्न, दमित, अपहेलित र सीमान्त समुदायमा भोला पासवानजस्ता एकाध जागेका तरुण थिए, र नै मलर सदाको मृत्युको समाचार संसारले चाल पायो । हृदयविदारक कथा भन्छ— लकडाउनको कैदमा परेका मलर सदा चार दिनदेखि भोकै थिए । जिउने उत्कट इच्छाले कुतकुत्यायो र जेठमासको हपहपी गर्मीमा तिनले कोदालो र छाता बोके । पत्नी जलेश्वरीलाई तिनले भने— ‘म कि मर्छु कि बाँच्न केही गर्छु । खाने अन्न नलिई खाली हात म फर्किन्नँ, बरु मर्छु ।’ ती खनिखोस्री गर्ने कामको खोजीमा साहुजनको छिमेकी बस्तीतिर हिँडे । भोक र थकानले गल्नुसम्म गलेका थिए, ती बीच बाटामै ढले । तीन छोरा गुजरातमा लकडाउनको कैदमा परेका थिए । घरमा भएका दुई बुहारीले पिठ्यूँमा आलोपाले गरी बोकेर तिनलाई कन्तबिजोकको छाप्रोमा ल्याए । कतै उपचार गर्न लैजाऊँ, थैलीमा कानाकौडी छैन । लाचार प्रियजनहरु रुँदै मूर्च्छित मलर सदाको काल पर्खेर बसे । भोलिपल्ट बिहान ५० वर्षको अल्पायुमा सदाले सदाका लागि जीवन बिसाए । ‘अब यो देशमा भोक र जाडोले कोही मर्नेछैन ।’ मधेशको विराट् आकाशमा शासकको छलकारी उद्घोष गुन्जियो । त्यो अट्टहासकारी गुन्जनको क्रूरताले शोकाकूल जनका आर्त हृदयमा नूकचूक लगायो ।


भोक र थकानले गल्नुसम्म गलेका थिए, ती बीच बाटामै ढले । तीन छोरा गुजरातमा लकडाउनको कैदमा परेका थिए । घरमा भएका दुई बुहारीले पिठ्यूँमा आलोपाले गरी बोकेर तिनलाई कन्तबिजोकको छाप्रोमा ल्याए । कतै उपचार गर्न लैजाऊँ, थैलीमा कानाकौडी छैन । लाचार प्रियजनहरु रुँदै मूर्च्छित मलर सदाको काल पर्खेर बसे । भोलिपल्ट बिहान ५० वर्षको अल्पायुमा सदाले सदाका लागि जीवन बिसाए । ‘अब यो देशमा भोक र जाडोले कोही मर्नेछैन ।’ मधेशको विराट् आकाशमा शासकको छलकारी उद्घोष गुन्जियो । त्यो अट्टहासकारी गुन्जनको क्रूरताले शोकाकूल जनका आर्त हृदयमा नूकचूक लगायो ।


मलर सदा मरे होइन, ती मारिए । आखिर तिनलाई मार्यो कसले ? यो देशमा लाखौँ–लाख गरीब छन् । लकडाउनकालमा न तिनका छाप्रामा सञ्चित अन्न छ, न तिनका खल्तीमा चुनदामको जोगाड छ । दिनभरि पसिना नबगाई तिनको चूलो बल्दैन । कि नित्य पसिना बगाऊ र बाँच कि भोकै मर । तिनका जीवनका कठोर सत्य यही हो । लकडाउनका स्रष्टाहरु आम जनजीवनको यो यथार्थबाट बिल्कुल बिमुख थिए । ती माथि हबेलीमा, माथि दरबारमा प्रचूरता र बिलासको जीवनमा मस्त थिए । कुनै दिन गरीब र गरीबीको निर्मम यथार्थ थाहा थियो नै भने पनि तिनले अब त्यो पूरापूर बिर्सिसकेका थिए । ती गगनवासी, कामुक र विलासी राजा त्रिभुवनको मनोदशामा थिए । यो देशमा दिनदिनै पेटभरि दूधभात खान नपाउने कोही छ र ? प्रजावत्सल राजा त्रिभुवनबाट तिनले पाएको अमूल्य शिक्षा थियो यो । प्रातःस्मरणीय मौसुफको यही शिक्षाको अनुशरण गर्दै तिनले लकडाउन लगाए । नतिजास्वरुप, यी नूतन राजाहरु मलर सदाहरुलाई यत्रतत्र मारिहेका छन् । संसदमा बोल्दा विद्वान् विधायक प्रदीप गिरीले अत्यन्त आकर्षक र आक्रामक ढङ्गले यो निर्मम यथार्थलाई आङ सिरिङ्ग हुने गरी उजागर गरेका थिए । विपन्न दुनियाँ कोरोना महामारीले भन्दा पहिले भोकको महामारीले मर्नेभए भनी तिनले संसदको ध्यानाकृष्ट गर्ने यत्न गरे । तर त्रिभुवनका उत्तराधिकारीहरुले आपतकालीन गिरीवाणी न ध्यानले सुने, न विकेकले गुने । शासक महलका प्रथम पुरुषले त त्यो सत्य उद्गारको हाँसो पो उडाए !

म फेरि भन्छु; निर्मोही साहु सरकारको निर्मम लकडाउनले दलित र गरिब मलर सदालाई मार्यो !

सास छउन्जेल मलर सदालाई पलपल प्रियजनहरुका पेट केले भर्ने भन्ने पिरोलो थियो, उनी मरेपछि प्रियजनलाई कसरी उनको सद्गत गर्ने भन्ने पिरोलो भयो । अभरमा छरछिमेकीहरुले चुनदाम गरी पन्ध्र सय रुपियाँ उठाइदिए । सदाका लागि अवाक् भई आँगनमा पल्टिएका मलर सदाको शव कात्रोले बेरियो । भोला पासवान भन्छन्— ‘कात्रोको कपडा दुई थरी थियो ।’ त्यो वास्तवमा मलरको दरिद्रता र दीनताको मर्मान्तक प्रतीक हो ।


म फेरि भन्छु; निर्मोही साहु सरकारको निर्मम लकडाउनले दलित र गरिब मलर सदालाई मार्यो !

सास छउन्जेल मलर सदालाई पलपल प्रियजनहरुका पेट केले भर्ने भन्ने पिरोलो थियो, उनी मरेपछि प्रियजनलाई कसरी उनको सद्गत गर्ने भन्ने पिरोलो भयो । अभरमा छरछिमेकीहरुले चुनदाम गरी पन्ध्र सय रुपियाँ उठाइदिए । सदाका लागि अवाक् भई आँगनमा पल्टिएका मलर सदाको शव कात्रोले बेरियो । भोला पासवान भन्छन्— ‘कात्रोको कपडा दुई थरी थियो ।’ त्यो वास्तवमा मलरको दरिद्रता र दीनताको मर्मान्तक प्रतीक हो । कञ्चनरुप नगरपालिकाका प्रमुख आइपुगे । साथमा स्वास्थ्यकर्मी थिए । उनी शायद कोरोनाको आशङ्का अघि लागएर आएका थिए । उनले मलर पत्नी जलेश्वरीलाई प्रहरीले पटके चोरलाई झैँ कठोर केरकार गरे । मलरको रोग के के थियो ? रक्सी कत्तिको खान्थ्यो ? अरु कुलत के के थिए ? हिजो रक्सी कति खाएको थियो ? नगर प्रमुखका यी प्रश्न शोकाकूल जलेश्वरीको सन्तापले जलेको हृदयमा तीर भएर गाडिए । पाँच दिनअघि खोकी लागेपछि मलर खोकीको औषधी खाँदै थिए । उनको ज्यानमा अरु रोग वा विकार केही थिएन । मलरको रोग भोक, भोक र केवल भोक थियो । पछि नगर प्रमुख भन्दै हिँडे; ‘मलर सदा भोकले मरेको होइन, दमले मरेको हो, रक्सीले मरेको हो ।’ त्यो सुनेर आहत र क्षुब्ध भएकी जलेश्वरीले भनिन्; ‘मेरा पति गरिबी र भोकले मरेका हुन् । ठूलाबडाले जे भने पनि हुन्छ । हामी निमुखा डराउनुबाहेक अरु के गर्न सक्छौं र ?’ छिमेकी फनिलाल सदा सुस्केरा हाल्दै भन्छन्— ‘बिचरा गरिबीले गर्दा खान नपाएरै बिते ।’


शासकहरु तल नगरका होउन् वा माथि सिंहदरबारका, उठबस र घुलमिल एवं संवेदना र सहानुभूतिका दृष्टिले ती निकट समाजवासी होइनन्, दूर टापूवासी हुन् । टापूवासी माउ शासकलाई आफ्नो शासनकालमा मुलुकमा कोही भोकै मर्छ भनी पत्याउन बडो गाह्रो छ । मलर सदा भोकले मरे भन्ने सुनेर सनक्क सन्किँदै उनले भन्लान्– ‘असम्भव ! यो झुठ हो । यो कपोलकल्पना हो । यो सरकारलाई बद्नाम गर्ने साजिश हो ।’


शासकहरु तल नगरका होउन् वा माथि सिंहदरबारका, उठबस र घुलमिल एवं संवेदना र सहानुभूतिका दृष्टिले ती निकट समाजवासी होइनन्, दूर टापूवासी हुन् । टापूवासी माउ शासकलाई आफ्नो शासनकालमा मुलुकमा कोही भोकै मर्छ भनी पत्याउन बडो गाह्रो छ । मलर सदा भोकले मरे भन्ने सुनेर सनक्क सन्किँदै उनले भन्लान्– ‘असम्भव ! यो झुठ हो । यो कपोलकल्पना हो । यो सरकारलाई बद्नाम गर्ने साजिश हो ।’ माथिका बडा शासकप्रतिको अखण्ड भक्तिभावले होला शायद, तलका नगर प्रमुख सुगा शैलीमा माथिकै बोलीमा लोली मिलाउँछन्– ‘मलर सदा भोकले मरेको हुँदै होइन । मरेको दमले हो, रक्सीले हो ।’

अहिले मुलुकमा राष्ट्रवादको राप र तापको उत्ताल ज्वार उठेको छ । सिमानाको राष्ट्रवादको । यो उही शाही पञ्चायतकालीन ‘लहरा, पहरा, छहरा’को राष्ट्रवाद हो । यो मानिसको राष्ट्रवाद होइन, जीवनको राष्ट्रवाद होइन । यो मानवीय संवदेना र करुणाको राष्ट्रवाद किमार्थ होइन । लकडाउन महामारीमाझ मलर सदाहरु भोकले भुतुभुतु मरिरहेका छन्, तर यो राष्ट्रवादलाई वास्ता छैन । मान्छे मरे मरिरहोस्, ‘लहरा, पहरा, छहरा’को राष्ट्रवाद जिन्दावाद ! यथार्थमा मानिस देशको माटोमाथि उभिन्छ, देशको माटो मानिसमाथि उभिने होइन । तर यो राष्ट्रवादमा कुरा यसको उल्टो हुन्छ । ‘लहरा, पहरा, छहरा;को राष्ट्रवादी मन्त्र मानिसको टाउको टेकेर उभिन्छ ! देख्ने संवेदनशील दृष्टि हुनुमात्र पर्छ, यो राष्ट्रवाद अहिले मृत मलर सदाको टाउको टेकेर उभिएको देखिन्छ ।

मधेशका गरिब दलितहरुको पनि सानो राष्ट्रवाद छ । सिंहदरबारको ठूलो राष्ट्रवाद त्यो देख्दैन । अथवा देखेर पनि वास्ता गर्दैन । अथवा त्यसलाई रौँ बराबर पनि गन्दैन । रामलोचन सदा आक्रोशयुक्त गुनासो प्रकट गर्छन्–; ‘हाम्रा लागि कुन राज्य छ र ? सीमामा हामी स्तम्भको रक्षा गर्छौँ । हामी हुँदासम्म एक इन्च जमिन मास्न दिँदैनौ । तर हाम्रो पेट भोको छ, देख्ने कोही छैन ।’ यो भोकाहरुको राष्ट्रवादको कुरा हो । अघाएकाहरुको राष्ट्रवाद यी भोकाहरुको मर्का र मर्म बुझ्दैन । यी भोकले मर्छन्, अघाएको राष्ट्रवाद यी रक्सी खाएर मरेको देख्छ ।


रामलोचन सदा आक्रोशयुक्त गुनासो प्रकट गर्छन्– ‘हाम्रा लागि कुन राज्य छ र ? सीमामा हामी स्तम्भको रक्षा गर्छौँ । हामी हुँदासम्म एक इन्च जमिन मास्न दिँदैनौ । तर हाम्रो पेट भोको छ, देख्ने कोही छैन ।’ यो भोकाहरुको राष्ट्रवादको कुरा हो । अघाएकाहरुको राष्ट्रवाद यी भोकाहरुको मर्का र मर्म बुझ्दैन । यी भोकले मर्छन्, अघाएको राष्ट्रवाद यी रक्सी खाएर मरेको देख्छ ।


समाजमा जब मानिस भोकले मर्दैहुन्छ, त्यो बेला सकारसामु स्वभावतः  प्राथमिकताको प्रश्न उठ्छ । वसन्त वस्नेत सोध्छन्–; ‘अहिले सरकारी प्राथमिकता के हो ? भूमि कि जीवन ? अहिले जीवन रहे भूमिको लागि त पछि लडदै गरुँला नि !’ प्रश्नकर्तालाई भयानक आरोप लगाउने मुद्रामा सरकारी राष्ट्रवाद गर्जिन्छ– जगत् मा जे गाँठ्ठी कुरा हो, त्यो भूमि हो । नाथे जीवन के हो ? भाँडमा जाओस् तेरो जीवन !

मुलुकमा जीवन निषेधी राष्ट्रवादको भेल उर्लिएको छ, र यो अन्धवेगी भेलमा डुबेर मलर सदाहरु भोकले मरिरहेका छन् । मौसमी राष्ट्रवादका औतारी नायक सत्ताको सिंहासनमा गजधम्म विराजमान छन् । मुन्टो आकाशतिर उठाएर मुख मिठ्याउँदै ती भनिरहेका छन्– ‘अब यो देशमा कोही पनि भोकले मर्ने छैन ।’ दुर्भाग्यवश, विरल शासकको यो अमृतवाणी सुन्न मलर सदा जीवित रहन पाएनन् । ती भोकले मरे !

तस्विरहरु सौजन्य : भोला पासवान

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 27, 2020, 9:08 a.m. Shailesh Adhikari
    Nakabandi bhayo bhane ktm mai kati marcha.
  2.  0 Reply
  3. May 27, 2020, 7:34 a.m. Tirtha Raj Puri
    जे गर्दा पनि न हुने यो साहेब लाई....
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.