शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सीमावर्ती भारतीय क्षेत्रमा ठूलो संख्या सलह देखियो, नेपाल प्रवेश गरेमा ठूलो विनाश निम्त्याउने खतरा

आइतबार, १४ असार २०७७, १६ : ०८
आइतबार, १४ असार २०७७

काठमाडौं । शनिबार भारततिरबाट नेपालमा प्रवेश गरेको सलह प्रदेश ५ र प्रदेश २ का तराई–मधेसका केही जिल्लामा देखा परेसँगै किसान चिन्तित बनेका छन् । ठूलोे संख्यामा आउने सलहले बालीका पात तथा डाँठसमेत खाएर नोक्सान गर्ने हुनाले किसान चिन्तित हुनु स्वाभाविक हो ।

चिन्ता यतिमा मात्र सीमित भने छैन । भारतमा ठूलो संख्यामा सलह देखिएको र हावाको दिशा र वेगअनुसार सलहको झुण्ड नेपाल प्रवेश गर्न सक्ने खतराले थप चिन्ता बढाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न स्थानमा अझै पनि ठूलो संख्यामा सलह देखिएको छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्य उत्तर प्रदेश र बिहारमा ठूलो संख्यामा सलह देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको राजस्थान, मध्यप्रदेश, हरियाणा, उत्तर प्रदेश, बिहार लागयतका राज्यहरु सलहबाट प्रभावित भएका छन् । शनिबार दिल्ली तथा नोएडातिर पनि सलहको ठूलो झुण्ड देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको केन्द्रीय कृषि मन्त्रालयका अनुसार सलह प्रभावित राज्यमा केन्द्रबाट अभियान सञ्चालन गरिएको छ । हरियाणा र उत्तर प्रदेशमा सलह नियन्त्रणका लागि मद्दत गर्न विशेष दल परिचालन गरिएको भारतको कृषि मन्त्रालयले जनाएको छ ।

दक्षिण–पश्चिमबाट उत्तर–पूर्वतिर हावाको वेग चलिरहेका कारण शनिबार भारतीय क्षेत्रबाट सहलको समूह नेपाल प्रवेश गरेको बताइन्छ । यही अवस्था रहेमा भारतबाट सलहको थप झुण्ड नेपालतिर प्रवेश गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

बिहारको पश्चिम चम्पारणमा शनिबार सहलको झुण्ड आइपुगेको बताइएको छ । नेपालसँग नजिकै भएका कारण सो क्षेत्रमा आएका सहल हावाको दिशा र गति परिवर्तन नभएको अवस्थामा नेपालतर्फ प्रवेश गर्न सक्ने खतरा देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम चम्पारणको मधुवनी क्षेत्रमा देखिएको सलहको झुण्ड निकै ठूलो छ । १५ देखि २० किलोमिटर क्षेत्रमा फैलिएको सो झुण्डले निकै ठूलो क्षति गर्न सक्ने बताइएको छ ।

दिनभरी उडेर करिब दुई सय किलोमिटर यात्रा तय गर्न सक्ने सलहले राति बाली खाएर सखाप पार्ने गर्दछ । सलह देखिएका भारतीय क्षेत्रमा केन्द्र, प्रदेश सरकार र किसानहरुले सलह भगाउनका लागि किटनाशक औषधि छर्कनेदेखि लिएर धुँवा, ध्वनिजस्ता माध्यमबाट लखेट्ने गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारततिरबाट लखेटिएका सलह नेपाल प्रवेश गरेको खण्डमा ठूलो विनाश निम्त्याउन सक्छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सलहको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरु, प्रदेश अन्तर्गतका प्राविधिकहरु परिचालन भइसकेको जनाए पनि प्रभावकारी नतिजा देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप