शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बनाएको मापदण्डका कारण उद्योग दर्ता हुन सकेन

मङ्गलबार, १६ असार २०७७, १९ : १३
मङ्गलबार, १६ असार २०७७

घरेलु तथा साना उद्योगीहरुले सरकारले उद्योग दर्ता नगरिदिँदा अधिकांश उद्योग दर्ता बिना नै सञ्चालन गर्नुपरेको गुनासो गरेका छन् ।
संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका साना तथा घरेलु उद्योगीहरुले सरकारले बनाएको मापदण्डका कारण उद्योग दर्ता हुन नसकेको गुनसो गरेका हुन् । 
उद्योग दर्ता र नविकरण नहुँदा अधिकांस उद्योगहरु विनादर्ता सञ्चालन गर्नुपरेको उद्योगीहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेशप्रसाद सिंहले सुरुमा उद्योग दर्ता हुने तर वस्ती बढ्दै गएपछि उद्योगको नवीकरण नगरिदिने समस्या रहेको बताए । उनले स्थानीय तहले अत्याधिक कर असुल्न खोज्दा र नवीकरण शुल्क पनि महँगो बनाउँदा उद्योग नविकरण नगरी सञ्चालन गर्नुपरेको बताए । 

ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारले दर्ता र नविकरण नगरेका कारण ८० प्रतिशत ग्रिल उद्योगहरु विना दर्ता सञ्चालन भएको बताए । उनले साना उद्योगमा लाखौं मानिसहरुले रोजगारी पाएको तर सरकारले उद्योग नै दर्ता नगरिदिदा समस्या रहेको बताए । 
दर्ता नै नगरी उद्योग सञ्चालन गर्न पाइने तर दर्ता गर्न नपाईने अवस्था आएको भन्दै त्यसको अन्त्य गर्न काम गर्न समितिलाई आग्रह गरे । 

नेपाल घरेलु तथा साना उद्योग महासंघकी केन्द्रीय उपाध्यक्ष अन्जना ताम्राकारले साना उद्योगमा काम गर्ने कर्मचारीको आम्दानी पनि थोरै हुने र त्यसमा पनि कर तिर्नुपर्ने भएपछि कर्मचारी नै सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नचाहेको बताइन् । 

अर्गानिक चिया व्यवसायी शान्ता बास्कोटा कोइरालाले कुनैपनि वस्तुको आयात निर्यात गर्दा एक्जिम कोड लिनुपर्ने र आयातका लागि तीन लाख रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्थाले साना घरेलु उद्योगहरुलाई समस्या परेको बताइन् । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले अहिले सम्म नविकरण नभएका घरेलु तथा साना उद्योगलाई एकपटकका लागि न्यूनतम शुल्क लिएर नविकरण गर्ने या बन्द गर्ने अवसर दिनुपर्ने बताए । उनले २०७१ सालमा सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने नीति ल्याएपनि कार्यान्वयन हुन नसकेको बताए । 
उद्योगीहरुले सरकारका निकायहरुले साना उद्योग सञ्चालनका लागि स्पस्ट मापदण्ड र नीति निर्माण गर्न नसक्दा घरेलु तथा साना उद्योगहरु समस्यामा परेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप