शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई कोरोनाभन्दा सलह कहरको चिन्ता

‘अहिले पनि ठूलो झुण्ड आउँदैन भनेर भन्न सकिदैन’
शुक्रबार, १९ असार २०७७, १२ : ०७
शुक्रबार, १९ असार २०७७

काठमाडौँ । यतिबेला देश कोरोनाभाइरसको महामारीले ग्रस्त छ । संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ । बिहीबारसम्मको तथ्याङ्क अनुसार नेपालमा १४ हजार ५११ जना संक्रमित भेटिसकेका छन् ।

कोरोनाभाइरसको महामारीले सबै क्षेत्रलाई ठप्प बनाइरहँदा नेपालमा कृषि क्षेत्र भने अपवाद रहेको थियो । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । लकडाउनमा पनि कृषि क्षेत्र चलयमान रह्यो । किसानले खेती किसानी गरी नै रहे । कृषिजन्य वस्तु विक्रि वितरण जारी नै रह्यो । ढुवानीमा समस्याबाहेक कृषि क्षेत्रमा कोरोनाले धेरै असर नपारेको कृषि विज्ञहरु बताउँछन् । तर असार १३ गते नेपाल छिरेको सलह किराले सम्पूर्ण कृषि क्षेत्रलाई प्रभावित बनाएको छ । एक हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ३५ वटा जिल्लामा फैलिसकेको छ । सलह किरा रुकुम, रोल्पादेखि मुस्ताङसम्म पुगिसक्दा किसानहरु झन् त्रसित बनेका छन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं सलह किराका लागि गठन गरिएको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले भन्छन्, ‘किसानका लागि यो कोरोनाभाइरस भन्दा कैयौँ गुणा खतरनाक हुन्छ । नेपालमा सानो झुण्डमा देखिएर मात्र हो नत्र यो ठूलो झुण्डमा आएको भए कृषि क्षेत्रमा कोरोनाभन्दा पनि ठूलो तबाही मच्चाउथ्यो ।’ सलहले कोरोनाभाइरस जस्तै सिधै मानवको स्वास्थ्यमा असर गर्दैन तर यसले बालीलाई क्षति गर्दा खाद्य संकट निम्त्याउँछ । खाद्य संकट भयो भने भोकमरी हुन्छ, भोकमरीले मानव स्वास्थ्य अर्को संकट ल्याउँछ । अफ्रिकी देशहरुमा यसैले भोकमरीसम्मको अवस्था सृजना गरेको बताउँदै उनले नेपालमा तत्काल त्यो अवस्था आउने सम्भावना नभए पनि सचेत रहनुपर्ने बताए ।

‘शुरुमा नेपालमा सलह आउने सम्भावना न्युन रहेको भनेको थिएँ । तर नभन्दै आयो । अहिले पनि ठूलो झुण्ड आउन सक्दैन भनेर भन्न सकिदैनँ । खतरा अझै टरेको छैन । त्यसैले सचेत रहन जरुरी छ,’ उनले भने । उनले नेपाल–भारतको सीमामा ठूला–ठूला झुण्डहरु रहेको र भारतले राम्रोसँग नियन्त्रण नगरे त्यो झुण्ड नेपाल पस्ने सम्भावना रहेको उनले बताए ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वरिष्ठ वैज्ञानिक डा. सुनिल आर्यालका अनुसार नेपालमा सानो झुण्डमा देखिएको हुनाले सलहले बालीनालीमा त्यति असर नगरेको हो । हावाको चापका कारण सलह एक ठाउँमा बस्न सकिरहकेको छैन जसको कारणले पनि त्यति क्षति नदेखिएको जानकारी दिए ।

एक किलोमिटरमा फैलिएको सलहको झुण्डले कम्तिमा २५ सय जनाले खाने खाद्यान्न नष्ट गर्न सक्ने क्षमता हुन्छ । एउटा सलह किराले दुईदेखि अढाई ग्राम खाद्यान्न खान्छ भने अनि लाखौँको सङ्ख्यामा आएका झुण्डले कति खान सक्छ भनेर त्यसैबाट अनुमान लगाउन सकिने उनी बताउँछन् ।

नेपाल आएका सलह किरा एकै ठाउँमा नबस्ने भएकाले क्षति त्यति नगरेको तर जहाँ बसेको छ, त्यहाँ भने क्षति गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ । तर क्षतिबारे केन्द्रले यकिन तथ्याङ्क दिएको छैन ।

सलह किरा जसरी फैलिरहेको छ, त्यसले किसानलाई निकै त्रसित बनाएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेत बताउँछन् । ‘सलह सानो झुण्डमा आएको र यसले केही गर्दैन भन्दै सरकार पन्छिरहेको छ । तर सानै झुण्ड भएपनि यसले किसानको बालीलाई ठाउँ ठाउँमा क्षति पुर्याइरहेको छ,’ उनले भने, ‘कपिलवस्तु, मकवानपुर, चितवन, पाल्पा, अर्घाखाँची, रुपन्देही, सर्लाही लगायतका जिल्लामा क्षति गरेको छ, देशैभरि फैलिरहेको सलहका कारण किसानहरु एकदमै चिन्तित भएका छन् । तर सरकार विज्ञप्ति निकालेर थाल ठठाउन भन्छ । यो अहिले सानो झुण्डमा छ । एकठाउँमा स्थिर भएको छैन, यदि ठूलो झुण्डमा आयो भने स्थिति खतरनाक हुनसक्छ ।’

सानो झुण्डमा आएको सलहलाई नियन्त्रण गर्न नसकिरहेको बेला ठूलो झुण्ड आयो भने सरकारले हात उठाउनुपर्ने स्थिति आउन सक्छ । किनभने हालसम्म सरकारको केही तयार नरहेको उनको आरोप छ । कृषि अभियन्ता उद्धव अधिकारी भन्छन्, ठूलो समूहमा आएको छैन, यसले केही गर्न सक्दैन भनि हातमा हात राखेर बस्नु हुँदैन, ठूलो झुण्डमा आइ दियो भने यो कोरोनाको महामारीभन्दा कैयौं गुणा खतरनाक हुनेछ, यसलाई सम्हाल्न सरकारलाई गाह्रो हुनेछ ।’

सानो झुण्डमा छ भनि चुप लगाएर बस्नु हुँदैन, यसअघि सरकारले नै नेपालमा सलह आउँदैन भनि प्रतिवेदन सार्वजनिक गरेको थियो तर डेढ महिना नबित्दै प्रवेश गर्यो । अहिले पनि खतरा टरेको छैन, नेपाल–भारतको बोर्डरमा ठूला झुण्डहरु मडारिरहेका छन् जुनसुकै बेला पनि नेपाल प्रवेश गर्न सक्छन् । त्यसका लागि सरकारले उच्च सतर्कता अपाउनुपर्छ नत्र यही सलहका कारण नेपालमा खाद्य संकट आउन सक्ने भन्दै उनले सचेत गराए ।

सानो किसान बैठकमा सिइओ झलेन्द्र भट्टराईले कोरोनाले छुन नसकेको किसानलाई सलहले छाएको छ, यसलाई त्यतिकै नजर अन्दान गरी छाड दियो भने देशमा ठूलो संकट आउने बताए । सरकारले थाल ठठाउनेबाहेक अरु कुनै उपाय नदिएको टिप्पणी गर्दै भट्टराईले ठाउँ ठाउँमा सलहले क्षति गरेको छ तर सरकारले त्यसको तथ्यांक लुकाइ रहेको पनि आरोप लगाए । उनले भने, सलहले क्षतिको गरेको तथ्यांक हामीलाई ठाउँ ठाउँबाट आइरहेका छन्, हाम्रा पनि कृषि परियोजनाहरु छन्, त्यसमा पनि कतिपय ठाउँमा क्षति गरेको छ तर सरकारको तथ्यांकमा ती कुराहरु कतै उल्लखे भएको देखिदैन ।’

कैलालीका केरा किसान अनिलजंग कुँवर भन्छन्, यतिको डर त कोरोनको समयमा पनि थिएन, काम नभएपनि विक्रि नभएपनि आनन्दले सुत्न पाएका थियौं, आनन्दले बस्न पाएका थियौं तर यो सलह किराले निन्द नै हराम गरेको छ, कतिखेर आउँछ र केरा बगानमा सिधै आक्रमण गर्छ भनि तनावमा हामी बसेका छौं ।’

सरकारले आफ्नो सुरक्षा आफै गर भनेको छ, सरकारबाट कुनै सुरक्षा अपनाइएका छैन, आफ्नो एकलाख भन्दा बढी केराको बोट छन् ती सबैमा कोषा आइसकेका छन्, सलहको डरले रातभरि निन्द्र लाग्दैन भन्दै उनले विषादी छर्केर राख्नुको साथै अन्य विषादी छर्किने मेसिन तथा ट्यांकीहरु जोहो गरेर राखेको बताए । सलहका कारण केही आपत्त आइलाग्छ कि चार पाँचजना कामदरलाई २४ घण्टाका लागि राखेको बताउँदँदै उनले भने, ‘हामी स्ट्याण्डवाई छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप