बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
पार्टी कार्यालयमा कुटपिट प्रकरण

राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

प्रहरी चौकी पुग्ने रवीन्द्र मिश्र बचाउमा उत्रिए
शनिबार, १५ वैशाख २०८१, ०९ : ५६
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले म्याद थप नगरेपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । 

कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर वृत्त महाराजगन्जमा राखेको थियो । राप्रपाका कार्यकर्ता (घटनापछि निलम्बित) उनी श्रेष्ठको जाहेरीको आधारमा पक्राउ परेका थिए । 

श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्वि जंगबहादुर राणा, हिकमत कार्की र बमविरुद्ध जाहेरी दिएका थिए । सो घटनाका सम्बन्धमा बम बिहीबार पक्राउ परेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरूले उनको रिहाइका लागि दबाब दिँदै आएका थिए । 

रातोपाटीले यसबारे खुलासा गरेपछि मिश्रले आफू बमलाई भेट्नमात्रै गएको भनेर सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बचाउ गरेका छन् । औचित्यपूर्ण स्थितिमा मेलमिलाप होस् भन्ने सदिच्छा भने राख्ने उनको भनाइ छ ।

तर, प्रहरी स्रोतले भने उनीहरुले बमलाई रिहा गर्न निरन्तर दबाब दिएको बताएको छ । यस्तै मिश्रलगायतसँगै प्रहरी चौकीमा पुगेका राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पनि सामान्य घटनालाई पार्टीभित्रैबाट अपराधीकरण गर्न खोजिएकाले बमको तत्काल रिहाइ हुनुपर्ने आफूहरुको धारणा रहेको बताएका थिए ।

बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराएपनि म्याद नपाएसँगै उनी शुक्रबार नै रिहा भएका हुन् । 

उनी रिहा भएपछि श्रेष्ठले भने असन्तुष्टि जनाएका छन् । आफू सत्यको पक्षमा रहेकाले न्याय पाउनेमा अझै आशावादी रहेको रातोपाटीलाई बताए । उनले भने, ‘मैले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको छु मुद्दा लड्ने रहर त होइन । तर, राजनीति र अपराध एउटै डालामा राख्ने हो भने के भनूँ ?’ उनले भने, ‘म सत्यको पक्षमा भने निरन्तर लडिरहन्छु ।’

उनले आफूलाई गत फागुन २७ गते पार्टी कार्यालयको भवनको भर्याङमा सुरुमा आक्रमण भएको र त्यसपछि बैठकस्थलमा प्रवेश गर्ने ढोकानिर पनि आक्रमण भएको भन्दै घटनामा बालबाल बचेको प्रतिक्रिया दिए । उपाध्यक्ष विक्रम पाण्डेको विषयमा प्रश्न गर्दा आफूमाथि आक्रमण भएको उनले बताए । उनले दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप