शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नत्र म फरक अभियानसहित अघि बढ्छु: माधव नेपाल

शनिबार, ०३ साउन २०७७, २३ : १७
शनिबार, ०३ साउन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष केपी ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपालले सम्भव नहुने बताएका छन् । त्यसक्रममा नेता नेपालले अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्थापन मात्रै अहिलेको समस्या नभएको भन्दै पार्टी र सरकार सञ्चालन विधि, पद्दति र नेताहरुको समझदारीबाटै हुनुपर्ने बताएका थिए । 

सचिवालय बैठकपछि आफु निकटका नेताहरुलाई सचिवालय बैठकबारे ब्रिफिङ गर्दै नेपालले कार्यशैलीगत समस्या समाधानका लागि मौखिक सहमतिले मात्रै नहुने भएकाले लिखित र मूर्त प्रस्ताव ल्याउन अध्यक्षद्धयलाई आग्रह गरेको बताएका थिए । 

‘अहिले पार्टी र सरकारमा देखिएको प्रमुुख समस्या दुई अध्यक्षको व्यवस्थापन मात्रै होइन । पार्टी र सरकार सञ्चालन कसरी गर्ने ? विधि, पद्दति र मापदण्डका आधारमा चल्ने कि नचल्ने, नेताहरुबीच समझदारी कायम गर्ने कि नगर्ने ? यी कार्यशैलीगत समस्या हुन्’, नेता नेपालले दुवै अध्यक्षप्रति लक्षित गर्दै आफ्नो धारणा सुनाएका थिए ।

उनले बैठकमा भनेका थिए,‘हामी जनताप्रति उत्तरदायी हुने कि नहुने ? यदि दुई अध्यक्ष मिल्दैमा सबै समस्या समाधान हुन्छ भन्ने ठान्नुभएको छ भने त्यो मानिँदैन ।’ पार्टीमा एकता र सहकार्यका लागि समझदारी जरुरी रहेको भन्दै नेता नेपालले त्यसका लागि मूर्त र लिखित प्रस्ताव ल्याएपछि छलफल गर्न सकिने पनि बताएका थिए । 

‘म पार्टीभित्र एकता र सहकार्यका लागि समझदारी कायम हुनुपर्छ भन्ने पक्षमै छु । त्यसका लागि मूर्त र लिखित प्रस्ताव चाहिन्छ नै । तर देशको परिस्थिति हेर्दा अहिलेकै अवस्थामा मंसिरमा महाधिवेशन गर्न सम्भव छ जस्तो लाग्दैन । गर्नेनै हो भने पनि लिखित प्रस्ताव ल्याउनुस् अनि छलफल गरौंला’, नेता नेपाले बैठकमा बोलेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यदि दुई अध्यक्ष मिले हुन्छ भन्ने तपाईहरुको बुझाई हो भने म फरक अभियानसहित अघि बढ्न बाध्य हुन्छु ।’
नेता नेपालले यस्तो धारणा सुनेपछि अध्यक्ष प्रचण्डले पनि उहाँले भनेको ठिकै हो भनेर सहमति जनाएका थिए ।  बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका ओलीले धारणा राखेका थिए । धेरै समय बैठकमा आफ्नो कुरा राखेका ओलीले आफुलाई सम्मानजन जिम्मेवारी हस्तान्तरणको अवसर दिन नेताहरुसँग आग्रह गरेका थिए । 

‘मलाई सम्मानजनक जिम्मेवारी हस्तान्तरणको अवसर दिनोस्, मंसिरमा महाधिवेशन गराएर पार्टी अध्यक्षबाट हट्छु, सरकारचाहिँ पाँचै बर्ष मै चलाउँछु’ ओलीको भनाई थियो । अघिल्ला बैठकहरुमा भन्दा नरम ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले काम गर्र्दा गल्ती भएको भए सुधार्न समेत तयार रहेको विश्वास दिलाउन खोजेका थिए ।

नेता नेपालको भनाईप्रति सहमति जनाउँदै अर्का बरिष्ठ नेता झलनाथ खनालले पनि दुई अध्यक्षको चोचोमोचोले मात्रै नहुने धारणा राखेका थिए ।  चार घण्टाको छलफलपछि बैठकबारे व्रिफिङ गर्न ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवास गएका थिए । ओली प्रचण्ड २ घण्टा भन्दा बढी शीतलनिवासमा बसेर फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप