शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ १ देखि एक साता यसरी हुनेछ उडान, भाडादर यथावत नै रहने

सोमबार, १२ साउन २०७७, १५ : १५
सोमबार, १२ साउन २०७७

काठमाडौं । झण्डै पाँच महिनापछि  हवाई उडान सुरु हुने भएपछि  पुरानै भाडादर कायम गरेर उडान गर्ने  तयारी नागरिक उड्ययन प्राधिकरणले गरेको छ । लामो समयपछि खुल्न लागेको हवाई उडानमा अन्तर्राष्ट्रिय उडान दैनिक कति गर्ने भन्ने टुङ्गो लाग्न भने अझै सकेको छैन । 

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एक साताको आन्तरिक उडानमा के—के गर्ने भन्ने निर्णय गरेर पर्यटन मन्त्रालयल पठाएको बताए । उनका अनुसार यो विषय लगभग टुङ्गो लागिसकेको छ । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी (लकडाउन) यही साउन ६ गते अन्त्य भइसकेको छ । सार्वजनिक सवारी, उद्योग कलकारखाना, व्यापार व्यवसाय खुलिसकेका छन् । कोरोनाले सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र भने क्रमशः खुला गर्दै जाने सरकारको नीति छ । सोही अनुरुप भदौ १ देखि उडान शुरु हुन लागेको हो  ।

एक साता यसरी हुनेछ उडान
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानको समय निर्धारण गरिएको छ भने पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुलाई सेवा दिने तयारी गरिएको छ । यसैगरी हवाइ सेवा सञ्चालकहरुको आपसी छलफलबाट भाद्र महिनाको पहिलो हप्ता टर्मिनलको निर्धाररित दायराभित्र रही नागरिक उड्यन प्राधिकरणसँग  सेड्युहल माग गर्नुपर्ने छ । 

यस्तै काउन्टरबाट यात्रुलाई चेक जाँच गरिसकेपछि सम्बन्धित वायु सेवा कम्पनीले डिपाचर क्षेत्रबाट छिटो भन्दा छिटो उडान गर्न आफ्ना यात्रुलाई हवाइजहाज तर्फ प्रस्थान गराउनुपर्ने पनि भनिएको छ ।  यदि कुनै प्राविधिक कारण वा मौसमका कारण ढिलाइ भएमा बस जहाज वा ह्याङ्गरमा उपयुक्त व्यवस्थापन गर्नुपर्नेछ । 

यो व्यवस्था भाद्र महिनाको पहिलो हप्ताका लागि हो । प्राधिकरण, वायुसेवा सञ्चालक लगायतको छलफलबाट निस्केको उल्लिखित निष्कर्ष मन्त्रालयमा पुगेको छ । मन्त्रालयले स्वीकृति दिएपछि प्राधिकरणले हवाइ सेवा कम्पनीहरुलाई माथिको व्यवस्था अनुसार उडान गर्न सर्कुलर जारी गर्ने प्रवक्ता क्षेत्रीको भनाइ छ । उनले भने, ‘यी उल्लेखित विषय हेरफेर हुँदैन । मन्त्रालको स्वीकृतिको मात्र पर्खाइ हो ।’ 
यता अन्तर्राष्ट्रिय उडान कसरी गर्ने भन्ने विषयमा आइतबार पर्यटन मन्त्रालय, नागरिक उड्डय प्राधिकरण, परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालयविच छलफल भएपनि टुङ्गो लाग्न नसकेको  क्षेत्रीले बताए । यस विषयमा फेरि बैठक बसेर निर्णय गर्ने बुझिएको छ । 
चैत ११ गतेदेखि लकडाउन भएपनि सरकारले चैत १३ गतेदेखि आन्तरिक उडानमा पनि रोक लगाएको थियो ।  

हवाइ सेवा सञ्चालक र  प्राधिकरणको आ-आफ्नै तयारी 


कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै बन्द भएको आन्तरिक उडान भदौ १ गतेदेखि खुला भए पनि साविकको भन्दा ७५ प्रतिशत कम उडान गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण तयारी गरिरहेको छ । क्यानका एक अधिकारीले ३३ प्रतिशत मात्र उडान गर्न दिने तयारी भएको बताए ।  यद्यपि, यसबारे आधिकारिक निर्णय आउँन बाँकी छ । 

यात्रुको सुरक्षा जोखिमलाई ध्यान दिँदै  दैनिक ३० उडान गर्ने तयारी गरे पनि क्यानले केही उडानहरु थप्न सकिने विषयमा पनि छलफल गरिरहेको छ । केही एयरलाइन्सहरुले उडान संख्या थप्न सुझाव दिएका थिए । 
यता बायुसेवा सञ्चालकहरुले पनि यात्रु संख्या कम भएपनि पुरानै भाडादरमा उडान गर्ने तयारी गरेका छन् । 

केही एयलाइन्सहरुले पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ समेत खुलाइसकेका छन् । एयरलाइन्सहरुले स्वास्थ्य प्रोटोकल तयार गरेर स्वीकृति समेत लिइसकेका छन् । वायुसेवा सञ्चालकका कोषाध्यक्ष रुपेश जोशीले सबै  एयरलाइन्सले आफ्नो तर्फबाट गर्ने काम पूरा गरेको बताए । सरकारले ३३ प्रतिशत मात्र उडान गर्न अनुमति दिएको उनको भनाइ छ । 

बजेटमार्फत हवाई इन्धनमा लगाउँदै आएको १० रुपैयाँ पूर्वधार कर घटाइएसँगै वायुसेवा सञ्चालक संघले लकडाउन खुल्नु अघिनै आन्तरिक एयरलाइन्सहरुको भाडा घटाएका थिए । 
सबैभन्दा बढी काठमाडौं–धनगढीका लागि १ हजार १ सय ५ रुपैयाँ र सबैभन्दा कम काठमाडौं–सिमराको रुटमा २ सय २५ रुपैयाँले भाडा समायोजना गरिएको थियो ।  घटाइएकै भाडादर अनुसार उडान हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप