शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेजनमा फैलियो डढेलो, ब्राजिली राष्ट्रपति भन्छन्– सब झुट हो

बिहीबार, २९ साउन २०७७, १५ : ४९
बिहीबार, २९ साउन २०७७

विश्वमा कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । यहाँ ३१ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, १ लाख ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 
जब ब्राजिलमा कोरोना महामारी सुरु भएको थियो । तब यहाँ राष्ट्रपति जैर बोल्सेनारो भन्थे, ‘यो साधारण रुघाखोकी हो । आफैं हराएर जान्छ ।’ तर कोरोनाले भयंकर रुप धारण ग¥यो र देशभरका जनताले दुख पाए, उनी आफैं पनि यसबाट संक्रमित भए । बल्लतल्ल निको भएका छन् । 

ब्राजिलमा कोरोना भाइरसले महामारीको रुप धारणा गरिरहँदा विश्वकै ठूलो अमेजन वर्षा वनमा अहिले डढेलो फैलिरहेको छ र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यो गत वर्षको भन्दा पनि भयानक हुनसक्छ । अमेजन वनको अधिकांश हिस्सा ब्राजिलमा पर्छ । तर ब्राजिल सरकारले यस तथ्यलाई नजरअन्दाज गरेको छ । 

मंगलबार बोल्सेनाराले अमेजनमा डढेलो सल्किएको कुरा झुटो रहेको बताए । जबकी, यस क्षेत्रमा  खिचिएको भिडियो र फोटोमा जंगल जलिरहेको स्पष्ट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दाबी छ । 
गत वर्ष अगस्ट महिनामा डढेंलोले पु¥याएको क्षति ९ वर्षयताकै उच्च थियो, यो वर्ष फेरि विध्वंशको अर्को कीर्तिमान बन्ने छाँट देखिएको विज्ञहरु बताउँछन् । अधिकारीहरुले यस वर्ष अगस्ट महिनाको सुरुवाती १० दिनभित्र १ लाख ठाउँमा आगो फैलिएको जनाएका छन्, जुन गत अगस्ट सुरुवाती १० दिनभन्दा १७ प्रतिशतले बढी हो । 

रोयटर्सका अनुसार लेटिसिया प्याक्ट (अमेजन जंगल जोगाउन सहमत दक्षिण अमेरिकी देश) का सदस्यहरुबीच मंगलबार भेटवार्ता भयो । अन्य नेतासँग कुराकानी गर्नेक्रममा बोल्सेनारो केही आक्रोशित देखिएका थिए । उनले डढेंलो लागेको विषय अस्वीकार मात्रै गरेनन्, अधिकारीहरुलाई अमेजन जंगल जान र एउटै मात्र झिल्को देखाउन चुनौती दिए । 

‘उनीहरुले आगोको कुनै झिल्को भेट्नेछैनन्, न त एक चौथाई हेक्टर नै फडानी भएको देख्नेछन्,’ बोल्सेनारोले भने,‘अमेजन जंगलमा डढेलो लागेको कथा झुट हो ।’
आफ्नो भाषणका क्रममा बोल्सेनारोले अमेजन जोगाउनका लागि ब्राजिललाई कसैको सहयोग आवश्यक नपर्ने समेत बताए, उनले जंगलको अधिकांश क्षेत्र अहिले पनि कायमै रहेको तर्क गरे । 

गत वर्ष पनि बोल्सेनारोले यस्तै तर्कहरु गरेका थिए, जतिबेला अमेजनको जंगलमा डढेलो लाग्दा विश्व समुदायको ध्यान आकर्षित भएको थियो । त्यस समय उनले आईएनपिईका प्रमुख रिकार्डो गाल्भाओलाई बर्खास्तगरेका थिए किनकी गाल्बाओले डढेंलोले निम्त्याएको विध्वंशबारे एजेन्सीले तयार गरेको तथ्यको बचाउ गर्न गाल्बाओ अघि सरेका थिए । 

अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार यहाँ प्राकृतिक रुपमै आगो लागेको होइन । विज्ञहरुका अनुसार मानिसहरुले खेतीका लागि जमिन तयार गर्न जानाजान आगो लगाएका हुन् । 
जुलाई २०१९ देखि जुलाई २०२० सम्म एक वर्षको अवधिमा झन्डै ३५ प्रतिशतले वन फडानी भएको विज्ञहरु बताउँछन्, जबकी सरकारले यसविरुद्ध लडिरहेको बताइरहेको छ । 

जुनमा प्रमुख अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले ब्राजिल सरकारमाथि वन संरक्षण गर्न दबाब दिएका थिए, वन फडानी यसरी नै भइरहे ब्राजिलका ठूला कम्पनीबाट हात झिक्ने उनीहरुको दाबी थियो । १६ जुलाईमा ब्राजिलको संघीय सरकारले सुख्खा समयमा १ सय २० दिनसम्म वन फडानी गर्न स्थानीयलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका बाबजुद जुलाईमा ६ हजार ८ सय ०३ वटा आगलागिका घटना भए, यो एक वर्षअघिको तुलनामा ३० प्रतिशतले बढी हो । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि विश्वको ठूलो वर्षा वन संरक्षण गर्नु महत्त्वपूर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप