नेताहरु नै दोधारमाः कांग्रेसको प्रतिष्पर्धा राजपा कि एमाले ?
धनुषा– दुई नम्बर प्रदेशको धनुषामा कांग्रेसको प्रतिश्पर्धा कोसँग हुन्छ भन्ने विषयमा कांग्रेसकै नेताहरुवीच विवाद भएको छ ।
यो विवादबारे नेताहरुले सार्वजनिक मञ्चमै एकअर्कामाथि आरोप प्रत्यारोप गरेपछि नेताहरुको मुल्यांकन फरकफरक रहेको पाइएको हो । जनकपुरमा बुधबार भएको चुनावीसभाका क्रममा मञ्चमा बसेका नेता विमलेन्द्र निधि र नेतृ लीला कोइरालाबीच धनुषामा कांग्रेसको प्रतिष्पर्धा एमालेसँग हुने कि राजपासँग हुने भन्नेमा विवाद भएको हो ।
नेता निधिले धनुषामा कांग्रेसको प्रतिष्पर्धा एमालेसँग हुने बताएपछि त्यसको प्रतिपाद गर्दै नेतृ कोइरालाले जनकपुरमा कांग्रेसको प्रतिश्पर्धा राजपासँग हुने बताएकी थिइन् ।
छेवैमा बसेर यी दुई नेतावीचको विवाद सुनिरहेका थिए अर्का नेता प्रदीप गिरीले । उनीहरुको विवाद सुनेपछि भाषण गरेका गिरीले जनकपुरमा कांग्रेसको प्रतिश्पर्धा राजपासँगमात्रै हुने बताए । उनले भने– ‘मैले हाम्रा नेताहरुवीच कसको कोसँग प्रतिष्पर्धा हुन्छ भनेर विवाद गरेको सुनें । जनकपुरमा कांग्रेसको राजपासँग नै प्रतिष्पर्धा हुन्छ लेखेर राख्नुस ।’
नेता गिरीले जनकपुरमा राजपासँग प्रतिष्पर्धा हुने बताएका गिरीले जनकपुरबाहेका अरु जिल्लामा भने कांग्रेसको प्रतिष्पर्धा एमालेसँग हुने धारणा राखेका थिए ।