शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

आइतबार, ०२ फागुन २०७७, १० : १६
आइतबार, ०२ फागुन २०७७


सुर्खेत ।  जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दैलेखको दुल्लु दरबार पुनर्निर्माणको पखाईमा छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुनर्निर्माण भएको छैन । २०६० वैशाख ८ गते माओवादीले दरबारमा बम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो ।

दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो । वाइसे –चौविसे राज्यमा यो राज्य एक राज्यको रुपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम सम्वत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालिन दुल्लु राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको निर्माण गर्न लगाएको इतिहासका विद्यार्थी भुपाल विक्रम शाह बताउँछन् । दरबारमा  दुल्लुका अन्तिम राजा जंगबहादुर शाहले वीरशमशेर राणाकी नातिनी तेजशमशेर छोरीसँग विवाह गरेपछि  दुल्लुमा राजकाज चलाएका थिए ।

खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुनर्निर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने  दुल्लु नगरपालिका–२ खमबहादुर थापाले बताए । व्यक्तिका नाममा दरबार भएकोले पुनर्निर्माणको प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘दरबारलाई व्यक्तिको नामबाट राज्यले लिइ पुनर्निर्माण अगाडी बढाउनुपर्छ । नत्र एउटा सम्पदा नै गायब हुन लाग्यो । दरबारमा राज्य र स्थानीय सरकारकारले चासो दिनुपर्छ,’ उनले भने ।

दुल्लु दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाहको नाममा भएकाले पुनर्निर्माणमा ढिलाइ भएको पुरातात्विक विभागले जनाएको छ । यदि व्याक्तिले राज्यका नाममा नामसारी गरे छिटो पुनर्निर्माण गरिने एक कर्मचारी बताए । ‘दरबार संरक्षणका लागि बर्षेनि रकम विनियोजन भएपनि व्यक्तिका नाममा भएकाले कार्यान्वयन हुन ढिलाई भएको छ,’ उनले भने ।

दुल्लुका अन्तिम राजाका छोरा जर्नेल शाह दरबार दैलेखी जनताको भएको बताउँछन् । सरकारले दरबारका लागि आवश्यक बजेट विनियोजन गरे आफ्नो नाममा भएपनि सो दरबार राज्यलाई दिन तयार रहेको बताउँछन् । ‘दुल्लुका अन्तिम राजाको चिनो हो । यो जनताको दरबार हो । नेपाल सरकारले दरबारलाई पुनर्निर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पूर्ण सहयोग गर्नेछु,’ उनले थपे ।

तत्कालिन माओवादी विरुद्धको दुल्लु विद्रोहकी अगुवा कृष्णा शाहले भने सरकारले चासो नदिएकाले पुनर्निर्माणमा नपरेको बताइन् । सरकारले बजेट विनियोजन गरी निर्माण थाले स्थानीय बासी सबैले सहयोग गर्ने उनको भनाइ छ ।

तत्कालिन दुल्लुको भारतको दिल्लीमा भएका मुगल सम्राट बिच दैत्य सम्बन्ध थियो । जसको उदाहरण रुपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परागत करुवा, हुक्का मुगलबाट सिकेर प्रयोग गरेको दुल्लु नगरपालिका –२ का नयाँराम थापा बताउँछन्  । मुगल सम्राटसँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लु नगरपालिका वडानं १० मा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कर्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ ।

राजा दामोपालको पालादेखी सिंजासँगै दुल्लु क्षेत्रको विकास भएको देखिन्छ । जातीय आन्दोलन चलिरहेको बेला ठकुरी, ब्राहमण र क्षेत्रीको सहिष्णुतालाई सरकारले कमजोरी ठानेर पुनर्निर्माणमा ढिलाइ गरेको ठाटीकाँध गाउँपालिका–१ धर्मबहादुर शाहीले आरोप लगाए ।  

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले दरबार पुर्ननिर्माणका लागि पहल भइरहेको तर व्यक्तिगत नाममा भएकाले काम हुन नसकेको दोहोर्याए । ‘हामी पहिला व्यक्तिबाट नामसारी गरेर सरकारको मातहतमा ल्याउँछौ । अनि दरबार बनाउने काम अगाडी बढछ्,’ उनले भने ।

नेपाल एकीकरणको समयमा उत्तम शाहीका पालामा विक्रम सम्वत् १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लु राज्य नेपाल राज्यको अधिनस्थ भएपता पनि विक्रम सम्वत् २०१९ सम्म यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम  दुल्लु राज्य विघटन भई २०१९ मा दैलेखमा गाभिएको थियो । तत्कालिन समयमा दुल्लु दराका सबै दराहरुलाई बाँडेर गाउँ पञ्चायात बनाइएको थियो । नेपाल सरकारले ७२ नयाँ नगरपालिका मध्ये  दुल्लुलाई २०७१ वैशाख २५ मा  दुल्लु नगरपालिका घोषणा गरेपछि २०७१ जेठ ५ मा कार्यालय उद्घाटन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप