शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतको  प्रसिद्ध बाटुलेचौर मन्दिर ओझेलमा

शुक्रबार, २७ असोज २०७४, ०९ : ३६
शुक्रबार, २७ असोज २०७४

फलेवास, पर्वत - पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक बाटुलेचौर मन्दिर उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

बाटुलेचौरमा रहेका शिव तथा देवी मन्दिर संरक्षणको अभावमा संकटमा समेत पर्न थालेका छन् । स्थानीयवासी तथा स्थानीय निकाय र प्रशासनले चासो नदिँदा पुरातात्विक महत्वका विभिन्न सामान र मूर्तिसमेत हराएका छन् । 

राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । भृगु ऋषिको तपस्यास्थल समेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् । 

संरक्षण अभावमा हाल रहेको मन्दिरका विभिन्न पुरातात्विक सामानसमेत विभिन्न समयमा हराइसकेका मन्दिरका पुजारी देवराज सुवेदी बतउाँछन् । विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गरेको देवी तथा शिवालय मन्दिरका पुराना मूर्तिसमेत हराएको पुजारी सुवेदीले बताए । मन्दिर वरिपरि रहेको समुदायले समेत मन्दिर संरक्षणमा चासो नदिएका कारण समस्या हुने गरेको उनको भनाइ छ । 

मन्दिरमा हाल रहेका संरचना पनि विभिन्न समयमा तोडफोड हुने गरेका भएपनि स्थानीय प्रशासनले केही चासो देखाएको छैन । मन्दिरको पुनःनिर्माण गर्न आवश्यक भएपनि कहीँकतैबाट सहयोग हुन नसक्दा समस्या भएको स्थानीय निलकण्ठ शर्माले बताए । ऐतिहासिक ठाउँको संरक्षणमा स्थानीय गाविसले समेत चासो दिएको छैन । जिल्ला विकास समिति र गाउँ विकास समितिले वर्षेनी लाखौँ रकम खर्च गर्ने गरेको भएपनि यस्ता ऐतिहासिकस्थलको संरक्षण गर्न कुनै चासो नदेखाएको उनीहरुको आरोप छ । 

निर्माणको मात्रै होइन मन्दिरमा तोडफोड र चोरी हुँदासमेत कसैले वास्ता नगर्ने गरेको स्थानीय हरिप्रसाद लामिछाने बताउँछन् । मन्दिरमा पटकपटक तोडफोड गर्दा गाउँमै रहेको प्रहरी चौकीले समेत कारबाही नगरेको उहाँको भनाइ छ । गत वर्ष दानपेटिकामा भएको रकम समेत चोरी भएको र चोरी गर्ने व्यक्ति पहिचान हुँदा पनि स्थानीय ठूलीपोखरी प्रहरी चौकीले दोषीलाई कारबाही नगर्दा चोरको मनोबल झनै बढेको उहाँको भनाइ छ । 

ऐतिहासिक बाटुलेचौरमा रहेका अन्य भग्नावशेषको समेत संरक्षण र संवद्र्धन गर्नु जरुरी रहेको स्थानीयवासीको भनाइ छ । ऐतिहासिक महत्व बोकेको बाटुलेचौर क्षेत्रको गुठी र मन्दिरको जग्गा समेत अतिक्रमण भएको र अतिक्रमण रोक्नसमेत कसैले चासो नदिएको पुजारी सुवेदीको भनाइ छ । 

यस ठाउँमा खनजोत गर्दा कालो कोइला, पैसा तथा पुराना भाँडाकुँडा समेत भेटिने गरेको स्थानीयको भनाइ छ । अग्लो स्थानमा रहेको बाटुलेचौरबाट अन्नपूर्ण र धौलागिरि हिमशृंखलाका साथै पर्वत बागलुङ तथा स्याङ्जाका विभिन्न भाग तथा सदरमुकाम समेत देखिने भएकाले यस ठाउँले पर्यटकीय सम्भावनासमेत बोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप