रञ्जु दर्शनाको कलव्याक

person access_timeकात्तिक ८, २०७४ chat_bubble_outline0

असोज २४ गते । 
समय १२ः१६ बजे । 

रञ्जु दर्शनालाई पंक्तिकारले टेलिफोन गरे । दर्शनाले टेलिफोन उठाइनन् । उनले १ः१२ बजे कलव्याक गरिन् । मैले उनीसम्बद्ध दलकी नेतृको टेलिफोन नम्बर मागें । उनले भनिन्, ‘टेक्स्ट गर्छु ।’ नभन्दै उनले ७ मिनेटपछि १ः१९ बजे ‘टेक्स्ट’ गरिन् ।

रञ्जु दर्शनाले कलव्याक गरेकीमा पंक्तिकार तीनछक परेको हुँदै होइन । दर्शनाले पंक्तिकारलाई कलव्याक गर्दा अनौठो मानेको पनि होइन । औधी खुसी भएकोचाहिँ पक्कै हो । ‘उनले कलव्याक गर्दैमा खुसी हुनुपर्छ र ?’ भन्ने तर्क गर्न सकिन्छ । नसकिने होइन । तर, सानोतिनो कुरामा खुसी हुने नेपाली मनुवामध्ये म पनि परें । 

रञ्जुको ‘टेक्स्ट’ पाएपछि रहबर अन्सारीलाई सम्झें । केही समयअघि अन्सारीसँग काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरमा भेटघाट भएको थियो । भेटमा वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवारीबारे लामो कुराकानी भयो ।

युवा र राजनीतिको दूरी घटेको छैन । युवापुस्तामा समेत राजनीतिलाई ‘फोहोरी खेल’ भन्नेको बाहुल्य छ । त्यसो भन्नेहरू विशुद्ध आफ्नो ‘करिअर’ बनाउन लोभिएका हुन्छन् । उनीहरू हरेक क्षेत्रमा आफूलाई कसरी उकास्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । त्यसैका लागि संघर्षरत छन् । संघर्षका पापड बेले पनि भनेजस्तो प्रगति गर्न सकेका छन् । 

लामो दौडमा निस्केका कपाल फुलाएका घोडाहरू भने निर्वाचनबाहेक जनताको पहुँचमा रहन मान्दैनन् । कतिपय अवस्थामा सम्बन्धित पत्रकारले पाएको सूचना÷जानकारी प्रमाणित गरेर समाचार लेखौं भनेर १० पटक टेलिफोन गर्दा पनि ‘रिसिभ’ हुँदैन । ‘टेक्स्ट’ गरे पनि बेवास्ता गर्छन् । अन्त्यमा पत्रकारले सम्बन्धित सूचना ‘भेरिफाइ’ गर्न समाचारसँग सम्बन्धित व्यक्तिले टेलिफोन गर्दा उठाएनन् लेख्न बाध्य हुनुपर्छ । 

राजनीतिप्रति युवाको मनोविज्ञान बुझेका ३१ वर्षीय रहबर अन्सारी भने व्यक्तिगत वृत्तिविकासभन्दा टाढा रहेर राजनीतिमा ‘करिअर’ खोजिरहेका छन् । राजनीति भनेको समाजसेवा हो भनेर बुझेका अन्सारीले स्थानीय तह निर्वाचनअन्तर्गत माओवादी केन्द्रबाट वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिए । मेयरमा अर्कैले बाजी मारे पनि आफूले पाएको सम्मानजनक मतप्रति उनी कम्ती खुसी छैनन् । ‘नेता सधैं जनताको पहुँचमा हुनुपर्छ । ऊ महँगो गहना लगाएको ‘डमी’ जस्तो हुनुहुँदैन,’ कुराकानीक्रममा उनले थपे, ‘नेता जनताको पहुँचमा रहन सक्ने हुनैपर्छ । विकसित देशका मेयर साइकल चढेर सहरका गल्लीगल्ली चहारिरहेका देखिन्छन् । हामीले ठाँट पार्नु किन ? 

२५ वर्ष नपुगेकी रञ्जुसमेत रहबरसँग सहमत हुनुपर्छ । विवेकशील साझा पार्टी केन्द्रीय सदस्य उनले पंक्तिकारलाई त्यस्तै व्यवहार गरेको अनुभूति भयो । सायद नेता जनताको पहुँचमा हुनैपर्छ भन्ने मान्यताबाट उनी विचलित छैनन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका नगर प्रमुखमा उम्मेदवारी दिएपछि उनी चर्चामा आइन् । परिवारले एक सय मत त ल्याउलान् कि भने पनि उनले १० हजारभन्दा बढी मत पाइन् । २५ वर्ष नपुगेपछि आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन नपाउँदा पनि उनी दुःखी छैनन् । राजनीतिमा लाग्नु भनेको लामो दौडको घोडा हो । उनी लामो दौडको घोडा हुन् । निर्वाचनअघि र पछि पनि उनको चर्चा/परिचर्चा हुने गर्छ । 

लामो दौडमा निस्केका कपाल फुलाएका घोडाहरू भने निर्वाचनबाहेक जनताको पहुँचमा रहन मान्दैनन् । कतिपय अवस्थामा सम्बन्धित पत्रकारले पाएको सूचना÷जानकारी प्रमाणित गरेर समाचार लेखौं भनेर १० पटक टेलिफोन गर्दा पनि ‘रिसिभ’ हुँदैन । ‘टेक्स्ट’ गरे पनि बेवास्ता गर्छन् । अन्त्यमा पत्रकारले सम्बन्धित सूचना ‘भेरिफाइ’ गर्न समाचारसँग सम्बन्धित व्यक्तिले टेलिफोन गर्दा उठाएनन् लेख्न बाध्य हुनुपर्छ । 

पहिले–पहिले काठमाडौंका राणाले मात्रै टेलिफोन प्रयोग गर्थे । समय परिवर्तन हुँदै गयो । बिस्तारै राजनीतिक दललाई टेलिफोन सुविधा दिन थालियो । टेलिफोन पाउनकै लागि राजनीतिक दल दर्ता गर्ने नभएका होइनन् । समयले झन् कोल्टे फेर्दै गयो । मोबाइल सेवा सुरु भयो । 

९८५१० को पहिलो ‘प्राइभेट’ ग्राहक नीर शाह हुन् भन्ने सुन्दा÷पढ्दा अचम्म लाग्थ्यो । सदनमा काँग्रेस नेता रामचन्द्र पौडेलको मोबाइलको घन्टी बज्दा हल्लीखल्ली भएको धेरै भएको छैन ।

तात्कालिक सञ्चार राज्यमन्त्री जयप्रकाश गुप्ताले ९८५१०२००१० मा गिरिजाप्रसाद कोइरालालाई डायल गरेर मोबाइल सेवा सुरु भएको समाचार पढेको हिजैजस्तो लाग्छ । हिजोआज सबै नेताका हातमा दुई/तीनवटा मोबाइल सेट हुन्छन् । त्यति नै संख्यामा मोबाइल नम्बर पनि हुन्छन् । घरभरि बिरालो भए पनि मुसा मारिदिएनन् भने औचित्य रहँदैन । हाम्रा नेताले दुई/तीनवटा नम्बरसहितको मोबाइल सेट प्रयोग गरे पनि सर्वसाधारणले १० पटक फोन गर्दा पनि ‘रिसिभ’ नहुने हो भने त्यो नेता पनि घरभरि बिरालो मुसा नमारे भनेजस्तै औचित्यहीनजस्तै लाग्नु अस्वाभाविक होइन । 

देशबिना पनि त नेता हुन सकिन्छ । तर, जनता र देशसहितको नेता हुँदामात्रै अर्थपूर्ण मानिन्छ । राजनीतिमै ‘करिअर’ बनाउन लागिपरेका रञ्जु दर्शनाहरूले यो कुरा बुझेका छन् । त्यस अर्थमा रञ्जु दर्शनाको कलव्याक आउँदा पंक्तिकार खुसी नहुने कुरै भएन ।       
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ