शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकामा काङ्ग्रेसलाई विरासत जोगाउने चुनौती

आइतबार, ११ असार २०७४, ११ : ३२
आइतबार, ११ असार २०७४

एसके यादव

विराटनगर – नेपाली काङ्ग्रेसको राजधानी मानिन्छ विराटनगर । काङ्ग्रेसका बीपी कोइराला, मातृका प्रसाद कोइराला र गिरीजाप्रसाद कोइराला जस्ता हस्तीका घर भएको ठाउँ हो विराटनगर महानगरपालिका । तर अहिले त्यो विरासत जोगाउन काङ्ग्रेसलाई हम्मेहम्मे परेको छ । 

खासगरी कोइराला परिवारको हातबाट नेपाली काङ्ग्रेस शेरबहादुर देउवाको हातमा गएपछि यहाँका काङ्ग्रेसहरुमा निराशा देखिएको छ । यो निराशा चुनावलाई पनि प्रभाव पार्ने देखिएको छ ।

यस क्षेत्रबाट २०७० सालको संविधानसभा चुनावमा शेरबहादुर पक्षका अमृत आर्यालले जितेका थिए । उनको यसपटक महानगरपालिका चुनावमा मेयरमा उठ्ने सोच थियो । यसका लागि संसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बन्ने पुरै तयारी गरेका थिए तर पार्टीभित्रको गुटका कारण उनले टिकट पाएनन् । 

उनको स्थानमा पार्टीका नगर सभापति भीम पराजुलीले टिकट पाएका छन् । उनी कृष्ण सिटौला पक्षधर मानिन्छ । यसले गर्दा पार्टीभित्र अन्तरद्वन्द्व बढेको छ । जसले गर्दा राजु मास्के, अनिस आलम, अमलेस कर्ण लगायतकाले काङ्ग्रेसबाट विभिन्न वडाहरुका बागी उम्मेदवारी दिएका छन् । 

यद्यपि विराटनगरका पत्रकार जितेन्द्र ठाकुर भन्छन्, ‘पार्टीभित्र जस्तोसुकै असन्तुष्टि भएपनि काङ्ग्रेसले आफ्नो प्रतिष्ठा जोगाउनका लागि परेको छ ।’ हुनत अमृत आर्याल पनि चुनाव प्रचारमा खटिएका छन् । उनी पनि आफ्ना क्षेत्रमा गइराखेकै छन् । तर काङ्ग्रेस कार्यकर्ताहरु अझै अन्तरर्घात हुने सम्भावना देखिएको बताउँछन् । एक नम्बर प्रदेशका एक मात्र महानगरपालिकामा नेपाली काङ्ग्रेस, एमाले र संघीय समाजवादी फोरम नेपालबीच ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । 

चुनावी गणित हेर्ने हो भने २०५४ सालको स्थानीय तहको चुनावमा एमालेले मेयर र उपमेयरसहित २२ वडामध्ये १३ वटा जितेको थियो । सो स्थानीय निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेलले काङ्ग्रेसका अमृत आर्याललाई मेयरमा र काङ्ग्रेसका उपेन्द्रकान्त लाललाई एमालेका भुराज राईले उपपेयरमा हराएका थिए । अर्थात काङ्ग्रेसलाई केही वडामा मात्र सिमित गरेको थियो एमाले । त्यस्तै २०६४ को पहिलो संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरम नेपालले काङ्ग्रेसलाई स्तब्ध बनाएको थियो । फोरम नेपाल एक नम्बरको पार्टीको बनेको थियो भने दोस्रो नम्बरको पार्टी काङ्ग्रेस थियो भने एमाले तेस्रो स्थानमाको पार्टीमा सिमित थियो । २०७० सालको संविधानसभा चुनावमा भने काङ्ग्रेसले कम्ब्याक गर्दै पहिलो स्थान हासिल गरेको थियो भने एमाले दोस्रो स्थानमा रहेको थियो ।

२०७० को संविधानसभा चुनावको समानुपातिक मत परिणाममा भने काङ्ग्रेसले २९ हजार, राप्रपाले २३ हजार, फोरम नेपालले १८ हजार, लोकतान्त्रिक फोरमले १५ हजार मत हासिल गरेर चौथो भएको थियो भने त्यस्तै माओवादी केन्द्र र एमालेले ११–११ हजार मत ल्याएका थिए । जबकि संविधानसभा २०६४ मा फोरमले ५८ हजार, काङ्ग्रेसले ३२ हजार, एमालेले १५ हजार र माओवादीले १३ हजार समानुपातिक मत ल्याएको थियो । 

विराटनगर महानगरपालिकामा पर्ने तीनवटा चुनावी क्षेत्र ५, ६ र ७ मा काङ्ग्रेसले जित हासिल गरेका छन् । पाँच नम्बर क्षेत्रमा अमृत अर्यालले उपेन्द्र यादवलाई हराएकी छिन् भने छ नम्बर क्षेत्रमा महेश आचार्यले फोरम लोकतान्त्रिकका भक्ति माझीलाई हराएका छन् । 

त्यस्तै क्षेत्र नम्बर सातमा डा.शेखर कोइरालाले विजयकुमार गच्छदारलाई हराएका हुन् । २०७० सालको चुनावमा काङ्ग्रेस बलियो देखिएपनि यो स्थानीय तहको चुनावमा अन्य दलहरु तालमेल गरेका कारण काङ्ग्रेसलाई अप्ठ्यारो बनाई दिएको छ । 

एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल रहेको छ । एमालेभित्र पनि अन्तर्घातको चर्चा विराटनगरमा सुनिएको छ । एमालेका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मीलाई मेयरको उम्मेदवार बन्ने इच्छा थियो, रेग्मी माधव कुमार नेपाल गुटका हुन् । तर ओलीका पक्षका विनोद ढकाललाई टिकट दिएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । 

हिजो मात्रै एमाले र फोरम लोकतान्त्रिकले चुनावीसभा आयोजना गर्दा माधव नेपाल पक्षका प्रायः नेताहरुको उपस्थिति थिएन । र, यसअघि एमालेले स्थानीय तहको जिम्मेवारी सम्हालिसकेका हुनाले पनि महानगरपालिकावासी एमालेप्रति सन्तुष्ट देखिएका छैनन् । 

महानगरपालिका मेयरका लागि १४ जना र उपमेयरमा ११ जनाले उम्मेदारी दिएका छन् । काङ्ग्रेसका तर्फबाट भीम पराजुली मेयरमा र उपमेयरमा इन्दु कार्कीलाई उठाएको छ । एमाले र लोकतान्त्रिक फोरमका गठबन्धनबाट मेयरमा एमालेका विनोद ढकाल र उपमेयरमा फोरम लोकतान्त्रिककी सुची चौधरी रहेका छन् भने माओवादी केन्द्र र संघिय समाजवादी फोरमको गठबन्धनले मेयरमा फोरम नेपालका उमेश यादव र उपमेयरमा माओवादीकी नविता न्यौपानेलाई उठाएको छ ।


विराटनगर बरगाछीका लक्ष्मीनारायण साहले भने, ‘सबै दल उस्तै उस्तै छन्, कोही कोईभन्दा कम छैनन्, सबै बेइमान मात्र भए ।’

उता, स्थानीय तह कहिल्यै नसम्हालेका माओवादी केन्द्र र फोरम नेपालबीच तालमेल भएको छ । फोरम नेपालका उमेश यादव मेयरका उम्मेदवार हुन् । मधेश आन्दोलनबाट आएका फोरम नेपालका उम्मेदवार उमेश यादव आफू जित्नेमा ढुक्क रहेको बताउँछन् । दुई लाख २० हजार नौसय ३१ जनसंख्यामध्ये मधेशीको जनसंख्या ६० प्रतिशत रहेको छ । जसमध्ये मुसलमानको जनसंख्या १८ हजार ४९८ रहेका छन् भने यादवको जनसंख्या ११ हजार ७९० रहेको छ यानी विराटनगर महानगरपालिकामा जातीय हिसाब गर्ने हो भने यादवको जनसंख्या दोस्रो स्थानमा रहेको छ । 

बागीको वर्चश्व

दोस्रो चरणको स्थानीय चुनाव अन्तर्गत विराटनगरका विभिन्न वडामा मुख्य दल काँग्रेस र एमालेबाट टिकट नपाएका प्रतिनिधि बागी उम्मेदवारको रुपमा खडा भएका छन ।

वडा नम्बर १० मा पार्टीका सबैभन्दा धेरै बाघी उम्मेदवार खडा भएका छन । एमालेले सर्वसम्मत रुपमा वडाअध्यक्षमा सिफारिस गरेर पठाएका माधवराज वाग्लेको ठाउँमा अर्जुन गिरीलाई उठाइएपछि वाग्लेले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेले भने,‘सर्वसम्म रुपमा सिफारिस गर्दा पनि मलाई हटाइएपछि जित्नकै लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ ।’

त्यही वडामा काँग्रेसका राजेश मास्केले पनि वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । संयुक्त टोल नगर संगठनमा काम गरेर निकै लोकप्रिय बनेका मास्केलाई काँग्रेसले टिकट भने दिएन । उनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । वडा नम्बर १० मा काँग्रेसका अमलेश कर्णको पनि वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ ।  वडा नम्बर १२ को वडाअध्यक्षमा काँग्रेसका भीमबहादुर केसीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन । वडा नम्बर ७ मा काँग्रेसका कल्याण लामिछानेले सदस्य पदमा र वडा नम्बर ८ मा एमालेका खगेन्द्र पोखरेलले वडाअध्यक्षमा स्वतन्त्र दर्ता गराएका छन् ।

पर्टीले टिकट नदिएका उम्मेदवारहरु पनि निकै तामझामका साथ मनोनयन दर्ता गर्न पुगेका थिए । वडा नम्बर ७ का लामिछाने निकै ठूलो समूह लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उनले भने,‘पार्टीले पत्याएन तर जित्ने अपेक्षासहित स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छु ।’ एमालेका कृष्ण मार्सेली र काँग्रेसका कृष्ण काफ्लेले पनि स्वतन्त्र मनोनयन दर्ता गराएका छन् ।

महानगरपालिका मेयरका लागि १४ जना र उपमेयरमा ११ जनाले उम्मेदारी दिएका छन् । काङ्ग्रेसका तर्फबाट भीम पराजुली मेयरमा र उपमेयरमा इन्दु कार्कीलाई उठाएको छ । एमाले र लोकतान्त्रिक फोरमका गठबन्धनबाट मेयरमा एमालेका विनोद ढकाल र उपमेयरमा फोरम लोकतान्त्रिककी सुची चौधरी रहेका छन् भने माओवादी केन्द्र र संघिय समाजवादी फोरमको गठबन्धनले मेयरमा फोरम नेपालका उमेश यादव र उपमेयरमा माओवादीकी नविता न्यौपानेलाई उठाएको छ । गठबन्धन निर्माण र इतिहास हेर्दा यहाँ त्रिपक्षीय चुनावी प्रतिस्पर्धा देखिएको छ । 

विराटनगर महानगरपालिकामा एकलाख १४ हजार १ सय ७६ मतदाता रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप