शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कथासंग्रह कैरन सार्वजनिक

शनिबार, २५ कात्तिक २०७४, २१ : ५१
शनिबार, २५ कात्तिक २०७४

काठमाडौं  – लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथा संग्रह कैरन सार्वजनिक भएको छ । राजधानीको मण्डला नाटक घरमा शनिबार साहित्यकार आहुती, डा। अर्चना थापा र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेलले सामुहिक रुपमा सार्वजनिक गरेका हुन् ।


कार्यक्रममा साहित्यकार आहुतीले लेखक परियारद्वारा लिखित पुस्तकमाथि टिप्पणी गरेका थिए । ‘उहाँले वर्तमान कथा परम्पराको शैली प्रयोग गर्नु भएको छैन । दन्त्य कथा, र लोककथा भन्ने शैली जो हाम्रो समाजमा लामो समयदेखि छ । त्यो शैलीलाई उहाँले प्रयोग गर्नु भएको छ,’ उनले लेखक ध्रुवसत्य प्रति इँगित गर्दै भने, ‘उहाँले आजको नेपाली समाजको विषय बस्तुहरुलाई प्रस्तुत गर्नु भएको छ । उहाँले अरु शैलीका लेखन भन्दा फरक शैली अपनाउनु भएको छ ।’


आहुतीले दन्त्य कथा र लोककथाका शैलीहरुमा केही समस्या रहेको औँल्याए । ‘अधिकांश दन्त्य कथाहरु राजा वा देवताहरुसँग सम्बन्धीत छन् । उनीहरु जहिले पनि महान हुन्छन् । अरु कायर हुन्छन् र, कम्शल हुन्छन् भन्ने प्रकारले दन्तकथा निर्माण गरिएका छन्,’ आहुतीले भने,‘हाम्रो दन्त्य कथा सामन्तवाद र राजतन्त्र राम्रोसँग मौलाएको बेला बनेको हो । उहाँले भन्न राम्रो कुरा खोज्नु भएको छ तर, एउटा राजा आइदिन्छ ।’


दन्त्यकथाको शैलीलाई आधुनिक तरिकाबाट भन्न खोज्दा धेरै खतराबाट गुज्रनुपर्ने बताउँदै उनले लेखक ध्रुवसत्यले खतरा मोलको बताए ।
त्यस्तै लेखक अर्चना थापाले ध्रुवसत्यले मिथक शैलीमा कथा लेखेको र आफूलाई रुची लागेको बताइन् । ‘उहाँले किम्बदन्तीहरुलाई आधार बनाएर मिथक शैलीमा कथालाई ल्याउनु भएको छ,’ उनले भनिन्,‘यो अरु लेखकको भन्दा फरक शैली हो ।’


नेपालमा मिथकबारे त्यति अध्ययन नभएको बताउँदै उनले ‘एकेडेमिक क्षेत्रले मिथकबारे अध्ययन गर्नु पर्ने बताइन् । लेखक ध्रुवसत्यले चतुर्याइँ पूर्वक संवादहरु प्रयोग गरेको र त्यहाँ उल्लेखित पात्रहरुले समाजको चित्रण गरेको थापाले बताइन् । ‘मूल पात्रलाई देखाउने दृष्टिकोणको लागि राजा महाराजाहरु उल्लेख गर्नु जरुरी थियो,’ उनले थपिन् ।


लेखक परियारले आफ्ना कथा भित्र नेपाली समाजमा व्यप्त विभेद र असमानताहरुलाई उजागर गरेको थापाले बताइन् ।नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेलले कथाकार ध्रुवसत्यमा फरक प्रतिभा रहेको आफूले पाएको बताए । ‘सँधै एउटै शैलीमा विषयलाई भनियो भने त्यसले ठूलो अर्थ नराख्नसक्छ । तर, त्यसलाई फरक शैली प्रयोग गरियो भने अर्थ रहन्छ,’ उनले भने,‘साहित्य र पत्रकारीताबीच तादम्यता छ । दैनिक पत्रकारीताका क्रममा साहित्यका धेरै विषयबस्तु फेला पार्छौं । ध्रुव सत्यमा विशेष क्षमता र गुण छ । उहाँले हाम्रो समाजमा रहेका विभेद, समस्याहरु कथामा उल्लेख गर्नु भएको मैले पाएँ ।’


पूराना दन्त्यकथाको माध्यमबाट नयाँ विषय उठान गरिएको उनको भनाई थियो ।सांग्रीला बुक्सले प्रकाशन गरेको ‘कैरन’ कथा संग्रह हो । लेखक परियारद्वारा लिखित १२ वटा कथाहरु यहाँ संग्रहित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप