केन्द्रीय संस्करण

लोकसेवा आयोगको प्रभावः दश वर्षमा पाँच गुणा बढी दर्खास्त

person access_timeपुस ४, २०७४ chat_bubble_outline0

काठमाडौँ– पछिल्लो समयमा निजामती सेवामा आकर्षण बढ्दै गएको छ । निजामतीका आकर्षण बढ्दै गएपछि लोकसेवा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पनि वर्षेनी बढेको छ । 

दश वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेको सङ्ख्या पाँच गुणा बढेको पाइएको छ । आयोगका उपसचिव देवीप्रसाद सुवेदीले आर्थिक वर्ष २०६४/६५ देखि आव २०७३/७४ सम्म आयोगमा दर्खास्त दिने आवेदनको सङ्ख्या पाँच गुणा बढेको बताए । यो सङ्ख्या निजामतीतर्फको स्वास्थ्यसहितको रहेको छ । 

उनका अनुसार २०६४/६५ मा कूल एक लाख ७५ हजार १ सय २१ जनाले आवेदन दिएकामा गत आव २०७३/७४ मा आठ लाख ४४ हजार २ सय ९७ सङ्ख्या पुगको छ । आव २०७२/७३ भन्दा गत आवमा दुई लाख ४९ हजार २ सय ६६ जनाले बढीले दर्खास्त आवेदन दिएका थिए । आव २०७२/७३ मा पाँच लाख ९५ हजार ३१ जनाले दर्खास्त आवेदन दिएका छन् । 

निजामती सेवाको लोकप्रियता देखेर अहिले दर्खास्त दिनेको सङ्ख्या बढेको उनले बताए । आव २०६५/६६ मा ८६ हजार १ सय ८६, आव २०६६/६७ मा तीन लाख ४ सय ६३, आव २०६७/६८ मा दुई लाख ५१ हजार ६ सय ५१ र आव २०६८/६९ मा दुई लाख ७१ हजार ५ सय ७७ जनाले दर्खास्त आवेदन दिएको पाइएको छ । 

यसैगरी आव २०६९/७० मा तीन लाख ६८ हजार ८ सय ०५, आव २०७०/७१ मा पाँच लाख ६० हजार ९ सय १५ र आव २०७१/७२ मा पाँच लाख ९९ हजार ६ सय ६८ दर्खास्त आवेदन दिएका थिए । 

पूर्वप्रशासक विमल कोइरालाले अन्य ठाउँमा रोजगारको अवसर नहुँदा बाध्य भएर निजामती सेवामा प्रवेश गर्नको सङ्ख्या वर्षेनी वृद्धि भएको बताए ।  “रोजगारीको सम्भावना कतै छैन । अनि आफ्नो कोही नभएकाले जाने एक मात्र ठाउँ नै लोक सेवा आयोग हो”, उनले भने, “परीक्षा स्वच्छ हुन्छ भनेर नै धेरैले त्यहाँको परीक्षामा सामेल हुन थालेका छन् ।” पूर्वप्रशासक कोइरालाले सङ्ख्यात्मक हिसाबले बढे पनि गुणस्तर भने नबढेको बताए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ