शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै नामका तीन पार्टी, अब कसलाई मान्ने आधिकारिक ?

मङ्गलबार, ०८ फागुन २०७४, १३ : ४५
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौँ– एमाले र माओवादी केन्द्रको एकीकरणपछि एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई दलको सहमति भएसँगै अब मुलुकमा यो नाम भएका तीनवटा पार्टी हुने भएका छन् ।
योसँगै अब ‘नेकपा’ कसको आधिकारिक पार्टी होे भन्नेमा समेत बहस हुन थालेको छ ।

सङ्ख्यात्मक रूपमा एमाले माओवादी सम्मिलित नेकपा ठूलो हुनेछ भने ऋषि कट्टेलको दाबीअनुसार उनको नेतृत्वको पार्टी आधिकारिक ठहरिने छ । सडकमा विप्लव अगाडि देखिने छन् । 

यी तीनमध्ये सबैभन्दा कान्छो पार्टी भने एमाले माओवादीको नै हुने भएको छ । यद्यपि यो पार्टी सङ्गठनात्मक रूपमा सबैभन्दा ठूलो हुने छ । तर नेकपाका नाममा कसैले विध्वंश मच्चाए त्यसको जिम्मेवारी कसले लिने भन्ने अर्को प्रश्न पनि उठ्ने भएको छ ।

यसअघि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसै नामबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

कट्टेलले आफ्नो नेतृत्वको पार्टी २०६९ सालमै निर्वाचन आयोगमा दर्ता भइसकेर ७० को संविधानसभा निर्वाचनमा सहभागी नै भइसकेको दाबी गरे ।

नेकपाका अध्यक्ष ऋषि कटट्ेलले रातोपाटीलाई प्रतिकृया दिँदै भने ‘सडकमा कराउँदैमा पार्टीको नाम राख्न मल्दैन, नेकपा नामको पार्टी निर्वाचन आयोगमा मेरो नेतृत्वमा दर्ता भइसकेको छ । त्यसको प्रमाण म दिन तयार छु । उनीहरूले नेकपा नै राख्छन् भने पछाडि फुर्को झुण्ड्याउनुपर्छ ।’

त्यस्तै कट्टेलले यसअघि विप्लवलाई पनि नेकपा नाम नराख्न सुझाव दिएको बताए । त्यस क्रममा विप्लवले ‘आफूलाई मेरो पार्टी दर्ता भएको छैन, तपार्इंले चित्त दुखाउनुपर्दैन’ भनेपछि आफू चुप लागेर बसेको बताए ।

विप्लवले नेकपा नाम राखेपछि उक्त पार्टीसँग एकीकरणको प्रकृयासमेत अघि बढेकाले उनीसँग आफ्नो अब कुनै आपत्ति नभएको बताए ।

सोमबार राति एमाले–माअ‍ेवादीले एकीकृत पार्टीको नाम नेकपा राख्ने सहमति भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले त्यसको विरोध गरेको छ । एमाले–माओवादीले आफ्नो पार्टीको नाम चोरेर बल मिचाइँ गरेको उसको प्रतिकृया छ ।

‘एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिचाइँ गरेर नेकपा नाम राख्ने काम गरेका छन्, यो फाँसीवादी चरित्र हो । हामी प्रतिकार गर्छौं’, नेता मोहन कार्कीले बताए ।

विप्लवकोे पार्टी भने निर्वाचन आयोगमा भने दर्ता भएको छैन ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएपनि यही नाम गरेका अन्य पार्टी पनि छन् नि भन्ने प्रश्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘नाममात्रका नेपाल कम्युनिष्ट पार्टी अरु पनि होलान् । वैधानिक र राष्ट्रिय हैसियत भएको नेपाल कम्युनिष्ट पार्टी यहीमात्र हुनेछ । अन्य कम्युनिष्ट पार्टीलाई पनि एकीकरण गर्ने पहल गरिरहेका छौं ।’

तर एमाले नेता सुरेन्द्र पाण्डेले नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता नै नभएको दाबी गरे ।

उनले भने, ‘२००६ सालमा स्थापना भएको नेकपा बीबीचमा पुनर्गठन भए पनि अब त्यसको मूल नेतृत्व हामीले नै गर्छौं, यो कसैको पेवा होइन ।’ पाण्डेले एकीकृत कम्युनिष्ट पार्टी बनाउने उद्देश्य अनुसार एमाले माओवादी अघि बढेकाले नेकपामा दाबी गर्न अरूलाई नसुहाउने बताए । ‘कम्युनिष्टहरूको मूल शक्ति नै अब हाम्रो हो, त्यो अरू कसैले दाबी गर्दैमा हुन सक्दैन ।’

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भइसकेका दलको नाममा अब फेरि कसैले त्यही नाम लिएर आए दर्ता नहुने बताए । उनले भने ‘एउटै नाम दर्ता गर्न मिल्दैन बरु, त्यसमा कमा, फुलिस्टप र ह्रस्व दीर्घ राखेर भने दर्ता गर्न सक्छन् ।’  

नेकपालाई नेपालका संस्थापक कम्युनिष्ट नेता पुष्पलालको उत्तराधिकारीका रूपमा लिने गरिन्छ । २०४६ सालसम्म नेकपा पार्टी छुट्टै थियो । जब २०४६ मा नेकपा एमालेमा परिवर्तन भयो ।

२०४७ मा यो पार्टी एमालेमा एकीकरण भयो । एकीकरण भएसँगै केही व्यक्तिले विद्रोह गरे । जबजबजले एमालेमा प्रवेश पायो त्यसपछि नेकपाका पक्षपातीहरू विद्रोह गर्दै पाटीबाट छुट्टिने प्रयासमा लागे । जसको नेतृत्व प्रभुनारायण चौधरी लगायतले गरे ।

उनीहरूले २०४९ मा पुनः नेकपा पुनर्गठन नै गरे । पुनः ५४ सालमा एमाले फुट्यो । एमाले फुटेपछि नेकपाको नेतृत्व एमालेबाट फुटेको बामदेव–सिपी मैनालीको मालेतिर समाहित भयो । पुनः बामदेव ५८ मा एमाले प्रवेश गरेपछि केहीसमय सिपी र ऋषि कट्टेल एकै ठाउँ बसे तर धेरै समय टिक्न सकेनन् ।

५९ सालतिर कट्टेलले पुनः  नेकपाबाटै आफ्ना गतिविधि सञ्चालन गर्न थाल्यो । त्यसयता कट्टेलले नै सो पार्टीका नाममा राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप