केन्द्रीय संस्करण

जबज र एशजको फ्युजन : एकताका आधार

person explore access_timeफागुन २०, २०७४ chat_bubble_outline0

बा कथा सुनाउनु हुन्थ्यो, ‘इन्द्रादी देउताले नसकेको लडाइँ अर्जुन एक्लैले जितेछन् । राच्छेसहरूले अति दुःख दिएपछि इन्द्रले अर्जुनसँग गुहार मागे । पृथ्वीका अर्जुनले स्वर्गमा दुःख दिने राच्छेसहरूलाई धपाइदिए  । घर फर्केर  सुत्केरी अवस्थाकी सुभद्रालाई अर्जुनले लडाइँका कथा सुनाए । तिनी ननिदाउन्जेल गर्भको शिशुले पनि कथा सुन्यो र युद्धमा प्रयोग गर्नुपर्ने अस्त्रशस्त्रको जानकारी लियो । त्यो त्यही शिशु थियो जसले अभिमन्यूको नामले महाभारत युद्धमा प्रसिद्धि कमायो ।’

मैले पनि काँग्रेस विरोधको कथा गर्भावस्थादेखि नै सुनेँ हुँला । ६, ७ वर्षकी हुँदा त बा एमालेको उम्मेदवार भई वडामा चुनाव लड्नु भएको थियो । ‘काँग्रेस चोर देश छोड’को नारा हामी केटाकेटीले पनि लगाएका थियौँ । पछि, एमालेभन्दा माओवादी क्रान्तिकारी लाग्यो । मेरो किशोर वय र मुख्य तारुण्य माओवादी पार्टीमै खर्च भयो । अहिले आप्mनै नानी आठ वर्षकी भई । एमाले र माओवादी  एउटै पार्टी हुँदैछ । काँग्रेसप्रति बेस्सरी माया जाग्दैछ । पुरञ्जन आचार्यको लेख पढेँ । काँग्रेसी युवाले कमण्डलु बोकेर राजनीति गर्नुपर्ने सुझाएछन् । म आप्mनै महानगरलाई आँखा च्यातेर हेर्छु । भन्न मन लाग्छ, ‘लौन काँग्रेसीजनहरू याद गर, कम्युनिस्टहरूलाई भ्रष्टाचार गर्न तिमीहरूले सिकाएका हौ ।’ हरि अधिकारी एक दैनिक पत्रिकामा लेख्छन्, ‘बलियो कम्युनिस्ट पार्टी बाँदरलाई लिस्नु त हुँदैन ?’ मलाई पनि बेस्सरी चिच्याएर सोध्न मन लाग्छ, ‘काङ्ग्रेसको बलियो बहुमत कस्तो थियो हजुर ?’

कम्युनिस्ट मेलको खेलमा पनि प्रशस्त जालझेल देखिँदैछ । एमालेभित्रै जबज मान्य सिद्धान्त बनिसकेको रहेनछ र माओवादी केन्द्रभित्र एक्काइसौँ शताब्दीको जनवादले ठोस आकार ग्रहण गरेको रहेनछ । खै कताकताबाट सुनियो, वामदेव कमरेडको गीत बच्चैमा प्रशस्त गाइयो, ‘आउँदैन है जनवाद भाषण ठोकेर... ।’ बिस्तारै प्रचण्ड, बाबुरामका कथाले, रुकुम–रोल्पाका जनताका बहादुरीका कथाले शरीर सिरिङ्ङ पार्न थाले । ‘के खाँदा हुन् जङ्गलमा, कसरी बाँचेर हिँड्दा हुन्... !’ आमा–ठूलीआमाहरू माओवादीका मायामा कुरा गर्थे । क्रान्तिमा समाहित हुन मन लाग्थ्यो । मरे मुक्ति, बाँचे हस्तिनापुरको राज । हिँडियो बन्दुक बोक्न । विजय कुमारले भर्खरै लेखका छन्, ‘कम्युनिष्टहरूले हस्तिनापुरको राज गर्न पनि सक्छन् ।’ त्यही विम्बमा मैले पोखरेली युवा सांस्कृतिक परिवारको कार्यक्रममा कविता वाचन गरेँ । कोठाबाट कार्यक्रमतिर पुग्न थालेँ । लेख्न थालेँ । कुवाबाट निस्केर नदी देख्न थालेँ । समुन्द्र कस्तो होला ?

समुन्द्रको काल्पनिकीमा तमाम खहरेहरू आँखामा नाँचे । अहिले एमाले र माके दुई नदीहरू एक भएर समुन्द्रको लक्ष्यतिर बगेका छन् । यिनलाई नदी बनाउन प्रशस्त कुला, खोल्सा र खोलाहरू मिसिएका तथ्यहरू फेला पर्दैछन् । झापाली गुट, कोअर्डिनेसन कमिटी, एकताकेन्द्र, माले, माक्र्सवादी, मशाल, मसाल, चीनपरस्त, रुसपरस्त, भारतपरस्त, मोहनविक्रम, मनमोहन, बर्मा, रायमाझी आदि इत्यादि पछि नै एमाले र माके पार्टी बनेछन् । अहिले यी दुई एउटै हुँदा केही सैद्धान्तिक, केही साङ्गठनिक र केही प्राविधिक विषय उठ्नु अस्वभाविक होइन । व्यवस्थापन महत्वपूर्ण हो । एक अनलाइनमा  अरुण बराल लेख्छन्, ‘एमालेभित्र आन्तरिक झगडाका लागि जबज एउटा बाहना मात्रै हो । अन्तर्यमा चाहिँ एमालेभित्र टाक्सिएर रहेको पुरानो गुटगत झगडा नै यसको मुख्य कारक हो ।’ यी सबैको चिरफारमा सटिक, प्रष्ट र निर्भिक स्वरमा रामकुमारी झाँक्री भन्छिन्, ‘सातबुँदे सहमति जबजको ‘च्याप्टर क्लोज’ भएको प्रमाण !’

दुई ठुला कम्युनिस्ट पार्टी एक हुनु आम जनता र तमाम कार्यकर्ताका लागि अत्यन्तै सुखद् समाचार हो । यो निश्चितै ऐतिहासिक परिघटना हो । २००७, २०१७, २०२७, २०३७, २०४७, २०५१, २०६३ आदि सालका राजनीतिक घटना महत्वपूर्ण छन् । तीमध्ये सर्वाधिक महत्वपूर्ण यही हुन सक्छ । यो परिघटनाले नेपाली काँग्रेस सच्चिने सम्भावना बढेको छ । त्यसो हुँदा उसले रचनात्मक प्रतिपक्षीको भूमिकामा भ्रष्टाचार विरोधी खबरदारी गर्न सक्छ । अपवादबाहेक अहिले पनि टाउके कर्मचारी नेपाली काँग्रेसकै छन् । सबै वादका माउकीरा कर्मचारी हुन् । त्यहाँ मातृका यादवको दृष्टि पुग्नु आजको खाँचो हो । वाईसीएल र युवा सङ्घका ससाना कामले देशले ठूलो फड्को मार्न सक्छ । अरू अड्डाका हाकिम र भन्सारका खरिदार–सुब्बामा थोरै आत्मबोध हुँदा देशले गौरवबोध गर्न पाउँछ ।

अस्ति गुण्डाहरू मारिँदा केही नेता धर्धती रोए । अहिले मनोज पुनको नुन खानेहरू खुलेर रोएका छैनन् । तर भन्न सकिन्छ, उनीहरूको पक्षपोषण गर्ने हाकिम र नेता हुन् । वाईसीएल र युथफोर्स हुँदै मनोज पुन अन्डरवल्र्डको दुनियाँमा पुगेका थिए रे । वाईसीएल र युथफोर्स माओवादी र  एमालेका भातृ सङ्गठनहरू हुन् । यी दुवै सङ्गठन मूलतः भ्रष्टाचार विरोधका नाममा संस्थापित छन् । यहीँबाट मनोज पुन पन्पिएको समाचार मिडियाले उल्लेख गरेका छन् ।

हाम्रो दुःखको कारण के हो भने अपराधको राजनीतीकरण गरिन्छ । अड्डा–अड्डामा गुन्डाहरू गजक्क हुन्छन् । उनीहरूको थाप्लोमा नेताको आशीर्वाद हुन्छ । अब वामको मुख्य काम भ्रष्टाचार घटाउनु हो । परराष्ट्र मामिला र सार्वभौमसत्ताको जगेर्ना दोस्रो प्राथमिकता हुन सक्छ । ख्याउटे, मरन्च्याँसे जनताले सार्वभौमसत्ताको भारी थेग्न सक्दैन । यसैले ऊ विदेशिन्छ । गत पुस ९ गते एउटा राष्ट्रिय दैनिकमा कुशन शर्माले लेखेका थिए, ‘जनताले आफूलाई वाम गठबन्धनले झुक्यायो भन्ने अनुभूति गरेभने, मध्यावधि चुनाव हुनेछ र काँग्रेसलाई जनताले दुई तिहाइ बहुमत दिनेछन् ।’ वाम नामकाहरूले यस्तो सोँच्न सक्दैनन् तर सत्य के हो भने काँग्रेसको बहुमत ह्वाप्लाक्क घोप्टिएरै मध्यावधि चुनावमा एमाले ह्वात्त सरकारमा पुगेको थियो ।

अहिलेको डरलाग्दो स्थितिबारे रामकुमारी झाँक्री भन्छिन्, ‘घनश्याम विचारको जित हुँदाखेरि घनश्याम भुसालहरूले हार्नु हुँदैन ।’ उनको उद्घोष छ– ‘योगेशहरूलाई सङ्गठन बाहिर पार्नु हुँदैन !’ वामपन्थी नेता लक्ष्मण पन्तको मत छ, ‘एशज र जबजको दस्तावेजको सारमा कुनै फरक थिएन, छैन ।’ अब चर्को विद्वताको विश्लेषणमा भ्रम फैल्याउनु भाँड्नु हो । त्यस्तो गरेर कहिल्यै ठाउँमा पुगिँदैन ।  

गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको उचित ग्यारेन्टी नहुन्जेल हाम्रो राष्ट्रवादको खड्गो टर्दैन र प्रधानमन्त्री खड्ग ओलीज्यूकोे अप्ठेरो सुल्झिँदैन । प्रधानमन्त्रीज्यूमा यो चेत टड्कारो देखिँदैछ । २०७४ फागुन ७ को अन्नपूर्ण पोष्टमा पिपला ढुङ्गाना लेख्छिन्, ‘ओली पण्डितको लोकप्रियताबाट नतमस्तक भएँ, नत्र घनश्याम भुसालको वैचारिक स्कुलका पण्डितलाई अनौठो ‘सरप्राइज’ दिने थिएनन् ।’ यो सुखद प्रसङ्ग हो । अब सम्माननीय प्रधानमन्त्रीज्यू गुट र धारभन्दा माथि हुनुहुन्छ भन्ने यो बलियो दशी हो । यसरी नै जबज र माओवादको चामत्कारिक फ्युजन आवश्यक छ । यसका लागि प्रधानमन्त्रीमा जस्तै मुख्य मन्त्री, मन्त्री र मेयर भई खानेहरूमा चेत पस्नुपर्छ । हामी अभिमन्यू होइनौँ । गर्भमै सिकेर आइँदैन । बुझेर बुझ पचाउनु आत्मघात हो, राष्ट्रघात त्यही हो । फेरि दोहोर्याउँ, जबज र एशजको प्mयुजन नै वाम एकताको आधार हो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.