केन्द्रीय संस्करण
अन्तरवार्ता

मनमोहन–मदनको एकता अनुभवबाट ओली–प्रचण्डले शिक्षा लेलान् ? (तत्कालिन एकताका एक सूत्रधारसँगको अन्तरवार्ता)

person explore access_timeचैत १२, २०७४ chat_bubble_outline0
नरेश ज्ञवाली

रातोपाटी

वि.सं. २०२० सालमा बनारसमा पढ्दै गर्दा पुष्पलाल श्रेष्ठसँग प्रभावित भई वि.सं. २०२३ सालमा लुम्बीनी अञ्चलबाट नेपालको कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका गोविन्द ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी (एमाले)को किसान सङ्गठनका प्रशिक्षण विभागमा सक्रिय छन् । ज्ञवालीले पुष्पलाल र साहान प्रधानसँग निकै लामो सहयकार्य गरे । पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने क्रममा उनले पटक–पटक पार्टी एकता र फुटलाई पनि नजिकदेखि नियाल्ने अवसर पाए । पुष्पलालसँगको उनको सहकार्य पुष्पलाल बिरामी भएर दिल्ली उपचार गराउने क्रम हुँदै उनको मृत्यु पर्यान्तसम्म रह्यो । 

नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको मृत्यु निकै ठूलो तरङ थियो । त्यसपछि विभिन्न धारामा विभक्त रहेका नेपाली कम्युनिस्टहरूमा २०३६ सालमा वाम एकता गर्दै अघि बढ्नुपर्ने कुराले निकै चर्चा पायो । तीनताका नै मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मनमोहन समूह) र साहाना समूहको बीचमा पनि एकताको चर्चाले नेपालको राजनीति निकै तात्यो तर त्यसले एकताको रूप लिन सकेन । तर लामो समयको छलफल र पटक–पटकको प्रयासले यी दुई समूहबीच २०४३ सालमा एकता सम्भव भयो । बनारसको सारनाथमा भएको एकता सम्मेलनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) राख्यो र पार्टीको महासचिवमा मनमोहन अधिकारीलाई जिम्मेवारी दिइयो । 

तत्कालीन मालेका नेता आरके मैनाली ०४५ मा जेलबाट छुटेपछि फेरि वाम एकताका कुरा सुरु भए र संयुक्त वाम मोर्चा निर्माण भयो । संयुक्त वाम मोर्चा निर्माण गर्ने क्रममा मोहन वैद्य ‘किरण’लाई पनि आमन्त्रण गरिएको थियो । किरणकै समूहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । किरण नेतृत्वको समूह संयुक्त वाम मोर्चामा सहभागी हुन अस्वीकार गर्दै अर्को संयुक्त जनआन्दोलन संयोजन समिति गठन गर्नतर्फ लाग्यो । त्यसपछि अभूतपूर्व रूपमा जनआन्दोलन–१ सफलतापूर्वक सम्पन्न भयो । दलहरूको हातमा राजनीतिक नेतृत्व आई पुग्यो र फेरि २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेकपा (माले)का बीच एकता गर्नुपर्ने चर्चाले राजनीतिमा स्थान पाउन थाल्यो । तिनताका मालेका महासचिव मदन भण्डारी हुनुहुन्थ्यो भने माक्र्सवादीको महासचिवमा मनमोहन अधिकारी हुनुहुन्थ्यो । एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउन माक्र्सवादीको पोखरामा भएको सम्मेलनले एकता प्रक्रियामा अघि बढ्ने निर्णय गर्यो जसको स्वागत तत्कालीन मालेले गर्यो । त्यसपछि दुई पार्टीबीच १४–१४ जना केन्द्रीय सदस्य सामेल भई एकता भयो । दुई पार्टीको एकतापछि पार्टीको नाम नेकपा (एमाले) रहन गयो भने सो पार्टी अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदन भण्डारी चुनिए । 

पार्टी एकता र त्यसपछिको पार्टी निर्माण प्रक्रियामा विभिन्न गुट–उपगुटले काम नगर्ने होइन तर पनि विभिन्न प्रयासले पार्टी एकतालाई कसरी सार्थक तुल्याउने भन्ने कुरालाई ज्ञवालीले निकै नजिकदेखि नियाले । उनै ज्ञवालीसँग अहिले हुन लागेको एमाले र माओवादी केन्द्र बीचको एकताको प्रक्रिया र विगतको अनुभवका विषयमा रहेर रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी । 

एमाले र माओवादी केन्द्रको पार्टी एकता हुने निश्चित भइसकेको छ, तपाईं माले र माक्र्सवादी पार्टीको एकताको चरणमा निकै सक्रिय भूमिकामा हुनुहुन्थ्यो, पार्टी एकताका लागि कुन कुराले नेताहरूलाई प्रेरित गर्ने रहेछ ?
पार्टी एकताका लागि लामो सङ्घर्षपछिको अनुभवले नेताहरूलाई पार्टी एकताका लागि प्रेरित गर्दो रहेछ । मलाई लाग्छ, यस पटक पनि त्यही भएको हो । विचार मिल्नेहरूको बीचमा एकता हुनु राम्रो कुरा हो । एकता गर्दा नेताहरूको यथोचित स्थान र पार्टी कार्यकर्ताहरूको यथोचित सम्मानलाई ध्यान दिनुपर्ने हुन्छ । यसो भएमा एकताले बलियो रूप लिन्छ र एकता जीवित एकता हुन्छ । अन्यथा हुने एकता यान्त्रिक रूपमा परिणत हुन्छ र त्यसले पार्टीमा जीवनको सञ्चार गर्न सक्दैन । जीवन नभएको एकताले बलियो रूप लिन समेत सक्दैन । यो कुरा अहिले हुन लागेको एकताको समदर्भमा पनि लागू हुन्छ । अहिले पार्टीका दुई नेता केपी ओली र प्रचण्ड एकताका लागि प्रयत्नशील हुन्नुहुन्छ । उहाँहरूले एकता प्रक्रियालाई अघि बढाउन आफू मात्र होइन पार्टीका अरू नेताहरूलाई पनि छलफलमा समावेश गर्दै अघि बढ्नुपर्छ । यस्तो प्रक्रियाले पार्टीका अन्य नेताहरूमा पार्टी एकताप्रतिको स्वामित्व लिने अवस्थाको सिर्जना गराउँछ । यसले सबैमा मनोवैज्ञानिक रूपमै पार्टीलाई बलियो बनाउन मैले भूमिका खेल्नुपर्छ भन्ने पनि बोध गराउँछ । मैले अहिलेसम्म भोगेको अनुभव यही हो । 

त्यसबेला पार्टी एकताको आवश्यकता किन थियो र आज पार्टी एकता किन गर्नु परेको ? के यसमा कुनै समानता अथवा भिन्नता देख्नु हुन्छ ?
हो, तपाईंले सही प्रश्न गर्नुभयो । त्यस बेलाको पार्टी एकता र अहिलेको पार्टी एकतामा मैले निकै समानता देखेको छु । त्यसबेला पार्टी एकता किन आवश्यक थियो भने विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टहरूले निकै नराम्रो धक्का खाइरहेका थिए । पेरु हुँदै युरोपका समाजवादी सत्ता एकपछि अर्को गर्दै ढल्दै गइरहेका थिए त्यसको सही मूल्याङ्कन गर्दै त्यसको उचित व्यवस्थापनका लागि पार्टीलाई सत्ताको नजिक पुर्याउन पनि एकताको अपरिहार्यता थियो । त्यस सन्दर्भमा आजको एकतालाई हेर्ने हो भने हाम्रो यति लामो राजनीतिक इतिहासमा पनि हामीले नेपाली जनतालाई स्थिर र स्थायी सरकार दिन सकेनौँ । विभिन्न राजनीतिक विचारधाराको बीचमा हामीले अपनाएको राजनीतिक व्यवस्थामा हामीले स्थायी सरकार र सत्ताको अनुभूत गर्न पाएनौँ । त्यसैले यो एकता स्थायित्व र विकासको दिशामा अघि बढ्नका लागि सार्थक पहल हो भन्ने लाग्छ । मलाई लाग्छ यो एकताले नेपालमा विकास र स्थायी राजनीति आधार निमार्णमा भूमिका खेल्नेछ । हामीले सोचेको र परिकल्पना गरेको स्थानमा यो एकताले देशलाई अघि बढाउन सक्यो भने नेपालमा कम्युनिस्ट आन्दोलन एउटा उदाहरणीय रूपमा स्थापित हुनेछ । त्यसैले अहिले चलेको एकताले मलाई पहिलेका एकता प्रयासहरूको पनि स्मरण गराइरहेको छ । 

माले र माक्र्सवादी एकताको चरणमा भएका महत्वपूर्ण केही घटना छन् कि जुन अहिले ध्यान दिनुपर्नेछ ? 
माले र माक्र्सवादीको एकता प्रक्रियामा पार्टीका कैयौँ कार्यकर्ताहरूलाई हामीले जसरी समेटनुपर्ने थियो, त्यसरी समेट्न सकेनौँ । कार्यकर्ताहरूलाई सही ढङ्गले एकता प्रक्रियामा समेटन नसक्दा हामीले ठूलो नोक्सानी बेहोर्नु पर्यो । अहिले पनि भिन्दा–भिन्दै संस्कार र सोच्ने तरिका भएका पार्टीलाई एकता प्रक्रियामा ल्याउँदा तिनका कार्यकर्ताको ठूलो सङ्ख्यालाई सम्बोधन गर्न सकिएन भने त्यसले सुखद् परिणाम ल्याउन सक्दैन । अबको मुख्य विषय भनेकै एउटा निश्चित दिशामा कार्यकर्ताहरूलाई समेटेर परिचालित गर्नुपर्ने हुन्छ । यही नै आजको प्रमुख दायित्व हो । एकता प्रक्रियालाई सफल बनाउन लाग्नु भएको नेतृत्वले यस विषयमा अवश्य पनि ध्यान दिनु भएको होला भन्ने मेरो विश्वास छ । 

जसरी पार्टी फुटका लागि सिद्धान्त महत्वपूर्ण कारक रहेको दर्साइन्छ, त्यसैगरी एकताका लागि पनि सिद्धान्त महत्वपूर्ण कारक हो अथवा अन्य धेरै कुराले यसमा भूमिका खेलिरहेका हुन्छन् ?
राजनीति सम्भावनाहरूको खेल हो भन्ने गरिन्छ । यसमा परिवेशले पनि भूमिका खल्ने रहेछ । नेपाली काँग्रेसको अयोग्यता र असक्षमताले गर्दा नेपालमा एउटा बलियो पार्टीको आवश्यकता भयो । रह्यो कुरा सिद्धान्तको, यी दुई पार्टीले राजनीतिक, सैद्धान्तिक कुरालाई महाधिवेशनबाट टुङ्गो लगाउने भनेका छन् । यसले के देखाउँछ भने सिद्धान्तभन्दा पनि परिवेश बलियो हुँदो रहेछ । एकता प्रक्रियाको चरणमा विभिन्न पार्टीका बीचमा क्रियाशील गुटहरूका पनि आआफ्ना स्वार्थ हुने कुरा स्वभाविक हो तर त्यसमा एकता प्रक्रिया नै हावी हुने हुँदा गुट–उपगुटका स्वार्थहरू हावी हुन नपाउने रहेछन् । 

गठबन्धन बनाउने बेलामै नयाँ शक्तिका बाबुराम भट्टराई र नेकपा (माले)का सीपी मैनाली पनि एकतामा आउन चाहेका थिए तर उनीहरूलाई एकता प्रक्रियामा ल्याइएन, यसको कारण पार्टीभित्रको शक्ति सन्तुलन आफ्नो पक्षमा पार्न त्यसो गरिएको देखिन्छ, त्यसबेलाको परिवेशमा यस्तै केही घटना तपाईंलाई सम्झना छ कि ?
माले माक्र्सवादीको एकता प्रक्रियामा यस्ता कुराहरू सतहमा आएनन् । एमाले–माओवादी केन्द्रको एकताको सन्दर्भमा तपाईंले भनेका पार्टीहरू एकता प्रक्रियामा आउन चाहेको कुरा सही हो तर हामीले ध्यान दिनुपर्ने कुरा के छ भने यो एकताको कुराभन्दा पहिले पार्टी गठबन्धनको कुरा थियो । जसले एमाले र माओवादी केन्द्रलाई साथमा चुनावी मैदानमा उभ्याउने थियो । त्यही चुनावी कुरा अझ स्पष्ट गरी भन्दा टिकटका कारणले उनीहरू यो एकता प्रक्रियाबाट पछि हट्नु पर्यो । मलाई लाग्छ ती पार्टीहरूलाई पनि कुनै न कुनै किसिमले टिकट दिएर समेट्नुपर्ने थियो । 

एमाले–माओवादी एकतालाई नेपालमा स्थायित्व र आर्थिक विकासका लागि आवश्यक भनिएको छ भने अर्को कोणबाट बढ्दै गएको फासीवादको विरुद्धमा वामहरूको एकता सकारात्मक रहेको भनेर हेरिएको छ । तपाईंको विचारमा यो एकताको गुह्य कुरा के हो ?
यसले फासीवादको विरोधमा कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरेर बलियो र लोकप्रिय बनाउँछ । यसैका लागि यो एकता क्रियाशील हुनुपर्छ । 

यो गठबन्धनबाट जसरी स्थायित्व र आर्थिक विकास आउँछ भनेर विश्वास गरिएको छ, के तपाईं त्यसमा विश्वस्त हुनुहुन्छ ? 
नेतृत्वले भ्रष्टाचार र आर्थिक अनियमिततालाई हटाउन सक्ने हो भने यसले निश्चय पनि विकास र निर्माणलाई अघि बढाउँछ अन्यथा ०१५ सालमा जसरी नेपाली काँग्रेसले बहुमत ल्याएर पनि राजाको एक झट्कामा समाप्त हुनुपर्यो, नेपालको त्यही पुरानो कू इतिहास दोहरिन सक्छ । त्यसैले नेतृत्वले क्रान्तिपछिको सरकारले लिनुपर्ने नीति तथा कार्यक्रमलाई ध्यानमा राख्नुपर्ने हुन्छ । वामपन्थी सरकार र पार्टीका नेताहरूले यसलाई आफ्नो शिक्षाका रूपमा लिनुपर्ने हुन्छ । मलाई विश्वास छ यो सरकारले जनताले दिएको आदेशअनुसार आफ्ना नीति तथा कार्यक्रमहरू परिवर्तनका बेगहरूलाई तीव्रताका साथ अघि बढाउने छ । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...