शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले असल छिमेकीका रूपमा चीन वा भारतलाई रोज्नुपर्छ (भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहतासँग अन्तरवार्ता)

आइतबार, २५ चैत २०७४, १० : ३९
आइतबार, २५ चैत २०७४

अशोक मेहता नेपालको बारेमा जानकार मानिन्छन् । अवकाश प्राप्त भारतीय सैनिक अधिकारी हुन् उनी । त्यही भएर होला उनी पाकिस्तान र चीनप्रति अलि बढी नै कडा छन् ।

नेपाली भाषा पनि बोल्न जान्ने उनीसँग नेपाली पत्रकार, राजनीतिकर्मीहरू खुलेर कुरा गर्छन् र उनले पनि खुलेर सबै जवाफ दिन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा गएको बेला उनीसँग नयाँ दिल्लीको मौर्य होटलमा भेटभएको थियो ।

अशोक मेहतासँग प्रधानमन्त्री ओलीको भारत भ्रमणको बारे एसके यादवले कुराकानी गरेका छन् ।

नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा हुनुहुन्छ, यो भ्रमणलाई तपाईं कसरी लिनुभएको छ ?
–पहिला तपाईं भन्नुस्, नेपालबाट यहाँ प्रधानमन्त्रीसँग आउनु भएको छ । कस्तो लाग्यो ?

होइन, हामी त इभेन्ट कभरेजमा छौँ, तपाईं विज्ञ पनि मानिनुहुन्छ, हामी त विज्ञका कुरा सुन्न चाहेका हौँ ।
–भ्रमण ऐतिहासिक भयो । हालसम्म भएको विभिन्न भ्रमणभन्दा यो फलदायी रहेको छ । किनभने यसअघि नेपाल र भारतबीचको सम्बन्ध राम्रो थिएन । अलि अलि बिग्रेको थियो । सायद अब त्यसमा सुधार आएको छ, त्यहीँ नै ठूलो कुरा हो । अरू कुराहरू त त्यस्तै भइरहन्छन् ।

१२ बुँदे विज्ञप्ति हेर्दा त खासै केही छैन त्यसमा अनि कसरी फलदायी भयो भ्रमण ?
–१२ बुँदे मैले पढ्न पाएको छैन । त्यो अध्ययन गरेपछि थप केही भनौंला तर मैले फलदायी यो अर्थमा हो, पछिल्लो समय भारत र नेपालका बीचमा जुन तिक्तता थियो त्यो समाप्त भएको छ । यही नै ठूलो कुरा हो । तपाईंले सुन्नुभएको होला, नेपालका प्रधानमन्त्री ओलीजीले नै अब हामी बीचमा कुनै प्रकारको असमझदारी छैन भन्नुभएको छ । यो ठूलो सन्देश हो ।

नेपालमा वामपन्थी सरकार बनेको छ, चीनको सहयोगमा बनेको हो भनी भारतले आशङ्काको दृष्टिले हेरेको भनिन्छ, तपाईंको बुझाइ के हो ?
–नेपाल र भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ त्यो चीनसँगको सम्बन्धले पनि फरक पार्छ । नेपालले चीनसँग कस्तो सम्बन्ध बनाएर राख्छ त्यो नेपालमा भरपर्छ । नेपालले असल छिमेकको रूपमा चीनलाई रोज्नुपर्छ या भारतलाई ।

भारतले किन नेपाललाई अहिले पनि शङ्काको घेरामा राखेको छ ?
–त्यसरी शङ्काका रूपमा राखेको छैन तर भारतले नेपाललाई हेरिरहेको छ । नेपालले चीनसँग कस्तो सम्बन्ध बनाइरहेको छ, त्यो गहिरो रूपमा हेरिरहेको छ । सायद मलाई लाग्छ नेपालले पनि खासै चीनसँग त्यस्तो सम्बन्ध बनाइसकेको छैन । संयुक्त सैनिक अभ्यास, एकअर्का देशका लागि केही त्यस्तो सम्झौता भएको भए केही भन्न सकिन्थ्यो । यो अहिले सुरुवात हो । हेर्दै जाउँ के छ ।

नेपाल सरकारले अचानक पाकिस्तानका प्रधानमन्त्रीलाई बोलायो भनेर किन भारतले आशङ्काको दृष्टिले हेरेको छ ?
–नेपालको मामलामा भारतका लागि पाकिस्तान टाउको दुखाइको विषय होइन । हाम्रो चासोको विषय चीन मात्र हो । भारतका लागि पाकिस्तान अर्कै विषय हो । पाकिस्तानले नेपालसँग के गरिरहेका छ, त्यो हाम्रो सरोकारको विषय होइन । चीन के गरिरहेको छ, त्यसलाई हामीले नजिकबाट हेरिरहेका छौं ।

अहिले पनि नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणमा पनि चीनको विषयलाई लिएर कुराकानी भएको होला, त्यो कुरा बाहिर आएको छैन । हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले पक्कै पनि ओलीजीसँग कुरा गर्नुभएको होला ।

सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला भारत भ्रमणको क्रममा एउटा एग्रिमेन्ट भएको थियो कि चीनका कुनै पनि गतिविधि तराईमा हुन दिनु हुँदैन ।

त्यो एग्रिमेन्ट अहिले कहाँ गयो ? तराई जो नेपाल भारतको बोर्डर हो, रेड लाइन हो त्यहाँसम्म चीनको पहुँच भइसकेको छ । यसको बारेमा पनि नेपालले सोच्नुपर्ने हो ।

तपाईंको विचारमा नेपालले चीनलाई तराईंसम्म आउन दिनु हुँदैन हो ?
–नेपालले के गर्छ त्यो थाह छैन । तर भारतलाई त्यसमा चासो छ । यसअघि पनि यस विषयमा भारतले नेपालसँग कुरा गरिसकेको छ । यस पटक मोदीजीले गर्नुभयो कि भएन मलाई थाहा छैन । तर नेपालले पनि सोच्नुपर्ने बेला आएको छ । बल नेपाल सरकारको कोर्टमा छ ।

पूर्व सैनिक जनरल अशोक मेहताका पुराना अन्तर्वार्ता

नेपालले गोर्खा भर्ती रोक्न चाह्यो भने रोक्न सक्छ (अशोक मेहतासँगको अन्तर्वार्ता)

काठमाडौंमै आएर अशोककुमार मेहताले भने, लिपुलेक पनि नेपालको भूभाग होइन

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप